बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निरन्तर परिवर्तनतर्फ पाइला

शुक्रबार, २७ जेठ २०७९, १३ : २५
शुक्रबार, २७ जेठ २०७९

‘हरपलको खबर र विश्लेषण’को नारा तथा परिवर्तनको पक्षमा समर्पित हुने उद्देश्यका साथ ९ वर्षअघि रातोपाटी डटकम सञ्चालनमा आएको हो । अनलाइन पत्रकारिता वामे सर्दै गर्दा लुकेका र लुकाइएका खबर पस्कँदै आवाजविहीनहरूको आवाज बनेर फरक बाटोबाट अघि बढ्ने अठोटका साथ रातोपाटी स्थापना भएको यस पङ्क्तिकारलाई स्मरण छ । रातोपाटीका संस्थापक ओम शर्माको नेतृत्वमा निकै आरोह अवरोध छिचोल्दै अहिलेको अवस्थामा रातोपाटी आइपुगेको कहीँकतै छिपेको छैन ।

स्थापनाकालदेखि नै रातोपाटीमा आबद्ध रहेको नाताले यस पङ्क्तिकारलाई रातोपाटीका कठिनपूर्ण सङ्घर्षका दिनहरूको झलझली याद आउँछ । हुन पनि सीमित युवा पत्रकारहरूको टीमको बलमा पत्रकारितामा केही फरक दिऔँ भन्ने हुटहुटीका साथ रातोपाटीलाई अघि बढाउँदाका प्रारम्भिक दिनहरू कम्ता चुनौतिपूर्ण थिएन ।

भनिन्छ नि, रोम पनि एक दिनमा बनेको हैन । रातोपाटी पनि एक दिनमा आजको उचाइमा आइपुगेको हैन ।

रातोपाटी सुरुवात कालमा अनलाइन पत्रकारिता ‘स्वीकार्य’ समेत भइसकेको थिएन । पत्रिका, टेलिभिजन र रेडियो हाबी रहेको तत्कालीन अवस्थामा अनलाइनका लागि सूचना दिनका लागि समेत स्रोत हिच्किचाउने अवस्था थियो । न त सरकारी निकायले नै अनलाइन पत्रकारितालाई मान्यता दिएको थियो । २०७२ पछिमात्रै सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमन प्रक्रियालाई व्यवस्थित गर्न ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका’ ल्याएको हो । उक्त निर्देशिका कार्यान्वयनमा आएपछि मात्रै अनलाइन सञ्चारमाध्यमलाई राज्यले चिनेको थियो । अहिले त सूचना विभागमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमको संख्यासमेत ३ हजार बढी नाघिसकेका छन् भने ठूलो सङ्ख्यामा दर्ता नभई चलेका अनलाइन समेत चल्तीमा छन् । आम जनमानसमा परिवर्तन भएको पठनशैलीले पछिल्लो समय अनलाइन पत्रकारिता आमसञ्चारको अभिन्न अंग बन्न पुगेकोमा दुईमत छैन । तर, ‘अनलाइन पत्रकारिता भनेको के हो र त्यो कसरी पढ्ने’ भन्ने ज्ञान न्यून संख्याका पाठकलाई मात्र ज्ञात भएको त्यो समयमा अर्थात २०७० जेठ २७ देखि रातोपाटी सञ्चालनमा आएको थियो ।

रातोपाटीले तत्कालीन अवस्थाका यावत् चुनौती र सकसपूर्ण अवस्था भोग्नु सामान्य नै थियो । अनलाइन मिडियाले सूचना पाउन समेत सास्ती भोग्नुपर्ने त्यो समयको पीडा यस पंक्तिकारको स्मरणमा ताजै छन् । अनलाइन पत्रकारिताको ‘ट्रेन्ड सेट’ भइनसकेको तत्कालीन अवस्थामा समाचारका लागि संघर्ष गर्नुपर्ने अवस्था हुनु स्वाभाविकै पनि हो । तत्कालीन अवस्थाका सूचना दिन हिचकिचाउने तिनै स्रोत अहिले रातोपाटीमा समाचारले स्थान पाओस् भन्ने अपेक्षामा हुन्छन् । अनलाइन पत्रकारिताप्रति पाठकको रुचि र चासोको परिणामस्वरुप वर्तमान अवस्थामा अनलाइन माध्यम पत्रकारिताको  मूलधार बनेको छ । परम्परागत सञ्चारमाध्यमलाई अनलाइन मिडियाले ओझेलमा पारेको देखिन्छ ।

अनलाइन सञ्चारमाध्यमले अहिले परिष्कृत र विविधतापूर्ण समाचार सामग्री पस्किन थालेका छन् । नौ वर्षको अवधिमा देशकै सर्वाधिक पढिनेमध्ये एक मूलधारको अनलाइन सञ्चारमाध्यमको रूपमा उभिन सफल हुँदा रातोपाटीको यात्रा भने सधैँ फरक ढंगले अघि बढ्यो । रातोपाटीले आफ्नो विशेष पहिलो सम्पादकीयमै ‘निरन्तर परिवर्तनको पक्षमा’ भन्ने उद्घोष गरेको थियो । उक्त सम्पादकीयमा भनिएको थियो, ‘परिवर्तनको पक्षमा पत्रकारिता गर्न रातोपाटीको जन्म भएको हो । जस्तो मूल्य चुकाएर पनि यसले तथ्यपरका सूचना प्रवाह गर्नेछ । अरूले फैलाएका विभ्रमहरू चिर्नेछ र सत्यको उजागर गर्नेछ । परिवर्तन विरोधी, यथास्थितिवादी र कुलिनहरुका विरुद्धमा डटेर खबरदारी पनि गर्नेछ । निमुखा र उपेक्षितहरूको आवाज बोल्नेछ । परिवर्तनको पक्षधरहरू र असली लोकतन्त्रवादीहरूसँग सहकार्य गर्नेछ ।’

यही मुलमन्त्रलाई आत्मसात् गर्दै रातोपाटीले बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध सशक्त कलम चलायो, जुन निरन्तर जारी छ। सुरुदेखि नै घुसखोर, कालाबजारिया र ठालु प्रवृत्तिप्रति रातोपाटीले निरन्तर प्रहार गरिरह्यो । राजनीतिक बेथिति, शक्तिको आडमा तबाह मच्चाउनेमाथि रातोपाटीले निर्मम प्रहार गर्ने काम गर्‍यो भने आवाजविहीनहरूको आवाज बनेर निमुखाहरूको निरन्तर पक्षपोषण गर्दै आयो । बेथिति र गलत प्रवृत्तिविरुद्ध उभिँदा रातोपाटीप्रति कतिपयले भ्रम फैलाउने प्रयास समेत नगरेका होइनन् ।

०७० को दोस्रो संविधानसभा निर्वाचन, ०७२ को आमविनाशकारी भूकम्प, मधेस आन्दोलन, भारतीय नाकाबन्दी,  संविधान निर्माण, ऐतिहासिक पहिलो स्थानीय निर्वाचन, संघीय निर्वाचन, संघीय शासन व्यवस्था, वाम एकता, शक्तिशाली वाम सरकार र विभाजनदेखि केपी शर्मा ओलीको ‘प्रतिगमन', प्रतिनिधिसभा विघटनविरुद्ध अदालतको ऐतिहासिक फैसला, हालको प्रतिगमनविरोधी सत्ता गठबन्धनसम्मको देशका महत्वपूर्ण घटनाक्रमको प्रत्यक्ष साक्षी बनेको छ रातोपाटी । साथै पार्टीहरूको टुटफुट र एकता, ठूला भ्रष्टाचार काण्डदेखि देशको सामाजिक, आर्थिकसहितका यावत क्षेत्रका घटनाको पनि रातोपाटीले अभिलेख राखेको छ ।

चार वर्ष यता, विगतमा मूलधारको सञ्चार माध्यम रहेका राष्ट्रिय दैनिकहरू राजधानी र अन्नपूर्ण पोष्टका सम्पादक रहेका जिवेन्द्र सिम्खडाको सम्पादकीय नेतृत्वमा रातोपाटीलाई ‘सबैको सबैभन्दा राम्रो’ बनाउन सम्पूर्ण टिम सक्रिय छ । पाठकलाई केन्द्रमा राखेर 'सबैको'  बने पनि रातोपाटीले निरन्तर निमुखा र परिवर्तनको पक्षको पक्षपोषण गर्दै आएको छ । परिवर्तनको पक्षमा रहँदै रातोपाटीले पत्रकारिताको आधारभूत मूल्य मान्यतालाई पनि कहीँ कतै चुक्न दिएको छैन ।

रातोपाटीको सम्पादकीय नीति नै दशकौँदेखिको संघर्ष र बलिदानको बदलामा प्राप्त लोकतान्त्रिक गणतन्त्र र युगीन परिवर्तन जोगाउँदै नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्ने रहेको छ । तर, यो नीतिअनुसार अघि बढ्दा परिवर्तनविरोधी शक्तिहरू खनिनुलाई अन्यथा लिन पनि सकिँदैन ।  

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान रक्षाको पक्षमा उभिने रातोपाटीले संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक र अधिकार अविछिन्न राख्न लागिपर्ने सम्पादकीय नीति लिँदै आएको स्पष्ट छ । यस्तै राष्ट्रिय एकता कायम राख्न र नागरिकका बीच भाइचारा बढाउन क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता पूरा गराई जनताको जीवनस्तर सुधार्न स्रोत साधनको न्यायोचित वितरण र आर्थिक उन्नति गराउन प्रयत्नशील रहेको छ ।

रातोपाटीले समयअनुसार प्रविधिको उपयोग गर्दै पाठकलाई छिटो र विश्वसनीय तवरले समाचार, विचार र विश्लेषणसहितका सामग्री प्रवाह गर्दै आएको छ । पाठकको रुचि र चाहनालाई आत्मसात् गर्दै टेक्स्ट मात्रै नभई भिडियो र भिडियोमात्रै नभई लाइभ प्रशारणमार्फत  सुसूचित गर्दै आएको छ ।

पक्कै पनि रातोपाटीले विगतमा हिँडेको बाटो सजिलो थिएन । तर, आज रातोपाटीसँग दिनहुँ लाखौं लाख पाठक जोडिएको पाउँदा त्यहाँ कार्यरत एक श्रमजीवी पत्रकारको रूपमा यो पङ्क्तिकारलाई परिश्रमको फल मीठो हुँदो रहेछ भन्ने अनुभव भएको छ । आज रातोपाटीको यात्रामा केहि अफ्ठेरो र चुनौती छैन भन्ने होइन । जति अप्ठेरो यात्रा उति सुन्दर गन्तव्य हुन्छ भनिन्छ नि ! अफ्ठेराहरुकाबीच पनि निरन्तर परिवर्तनको पक्षमा चालिएका रातोपाटीको पाइला सुन्दर गन्तव्यमा पुर्‍याउन हामी रातोपाटी टीम अहोरात्र जुटेका छौँ । निरन्तर मायाको अपेक्षा राख्दै, रातोपाटीका पाठकलाई नवौँ वार्षिकोत्सवको हार्दिक शुभकामना ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप