शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पल्टन बजारमा पल्टिएका स्वर्णिम पृष्ठहरू

शनिबार, २८ जेठ २०७९, ११ : ४२
शनिबार, २८ जेठ २०७९

नचिताइएको कुरो प्राप्त हुँदा अनौठै आनन्द हुने रहेछ । यस्तै कहिल्यै बिर्सन नसकिने स्वादिलो, गौरवशाली अनुभूति यसपालि गुवाहाटी, भारतमा हुन पुग्यो ।  हाम्रा पुर्खाले कसरी त्यहाँको भूमिमा नेपाली भाषा, संस्कृति र परम्पराको जगेर्ना गरेका रहेछन् भन्ने साक्ष्यले मन आह्लादित भयो । अनि ती सचेत, सजग र सक्रिय अग्रजप्रति श्रद्धाले शिर स्वतः निहुरिनपुग्यो । पूर्वजको बिँडो थामेर अग्रसर भइरहेका सबै कर्तव्यनिष्ठ नेपाली बन्धुप्रति गौरवले छाती पनि एमानको चौडा बन्यो । 
      
गर्विलो इतिहास 
आसामको राजधानी गुवाहाटीको मुटु पल्टन बजारमा रहेको ‘नेपाली मन्दिर’, नामैले सहजै मन आकर्षित हुने  भयो । सोद्धा, बुझ्दा थाहा लाग्यो– धार्मिक परम्परा र सांस्कृतिक गतिविधिमा मात्रै सीमित रहेनछ यो मन्दिर, यसको गर्विलो इतिहास, खँदिलो परम्परा र दरिलो क्रियाशीलताले लाग्यो, यो त नेपालीत्वको अविराम, अविचल तथा अनवरत लहराइरहेको गौरवशाली ध्वजा हो । 

यो धरोहर आसामको नेपालीका निम्ति त ऊर्जावान केन्द्र हुँदै हो, अन्यत्र जुनसुकै स्थान तथा देशमा निवास गर्ने नेपालीका लागि पनि गौरवमय प्रतीक बनेको छ । नेपाली चोक, नेपाली मन्दिर मात्र होइन, पल्टन बजार नामले समेत नेपालीपनको सौरभ फिँजाएको पाउँदा यसै दङ्ग परियो । 

भनिन्छ, उहिले यही थलोमा पीपलको बोटमुनि बसेर ‘गोर्खा पल्टनेहरू’ भलाकुसारी मात्र गर्दैनथे, पारिवारिक, सामाजिक झैंझगडा निमिट्यान्न पनि पार्थे । यसरी सक्रिय रहँदै आएको ‘गोर्खा पञ्चायत’ले सन् १९३२ मा पल्टन बजारमा राधाकृष्णको मन्दिर स्थापना गरेको हो । 

सन् १९२६ मा स्थापित गोर्खा पञ्चायतका प्रथम अध्यक्ष पहाडसिंह गुरुङको विशेष सक्रियतामा स्थापना भएको यस मन्दिरमा अनेक नेपालीको योगदान छ । मन्दिर निर्माणको सिलसिलामा चालक पदमबहादुर क्षेत्री अविस्मरणीय बनेका छन् । लालबहादुर क्षेत्रीले पुर्याएको देन पनि बेजोड छ, नेपाली मन्दिरको जमिन कब्जाबाट मुक्त गराउन उनले परिवारको गहना बन्धकमा राखेका थिए रे ! 

पहाडसिंहको सक्रियता

पूर्व गोर्खा सैनिक पहाडसिंह गुरुङको अथक प्रयासको फलस्वरूप तत्कालीन ब्रिटिस सरकारबाट मन्दिर निर्माणको स्वीकृति प्राप्त हुनाका साथै जग्गाको समेत प्रबन्ध भयो । खोजी गरी प्राप्त भएको जग्गा खाल्डो भएकाले पुर्ने समस्या पनि कम्ताको थिएन । तर ‘होनहार दैव नटार’ भनिएझैँ यो खाल्डो नपुरिएसम्म दाह्री कपाल नखौरिने वाचा गरे पदमबहादुर क्षेत्रीले । उनीजस्ता उत्साही व्यक्तित्वकै कारण सबैको सहयोग जुट्न पुगी कीर्तिपताका फैलिएको स्वर्णिम इतिहास सुन्न पाउँदा हर्ष लाग्नु स्वाभाविक हो ।

साझा धरोहर    

समय क्रममा मन्दिर झन् भव्य बन्दै आयो र सहयोगी हात पनि बढ्दै गए । गोर्खा ठाकुरबाडीका रूपमा समेत चिनिने राधाकृष्ण मन्दिर नेपाली मन्दिरका नामले कहलिन थाल्यो । बृहत्तर गुवाहाटीको नेपालीका धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, साहित्यिक, राजनीतिक क्रियाकलाप समेट्दै समस्त आसामकै नेपाली/गोर्खालीको यो नेपाली मन्दिर साझा धरोहर बन्न पुग्यो । 

 नेपाली मन्दिर प्रबन्धक समितिका सभापति चिन्तामणि शर्माका अनुसार यहाँ नेपालीहरू विभिन्न कार्यक्रम आयोजना गर्छन् । बेखर्ची भएकालाई मन्दिरले सघाउँदै आएको छ । मन्दिर हाताभित्र ‘भानु अतिथि भवन’ पनि छ । यसमा सात कोठा, एक सय २५ वटा जति शय्या छन् । 

बृहत्तर गुवाहाटीको सेरोफेरोमा हाम्रो पुर्खाले राखेका एक सय ४१ वार्ड (वडा) छन् । मन्दिरका लागि एक, एक वार्डमा २५ जना साधारण सदस्य बन्छन् । दस रुपियाँको पर्ची काटेर सदस्य बनिन्छ । ती २५ जना सदस्यमध्ये एक जनालाई प्रतिनिधि छानेर पठाइन्छ । निर्वाचन प्रणालीबाट सभापति–१, उपसभापति–३, सहसचिव–३, कोषाध्यक्ष–१ जना निर्वाचित हुन्छन् र कार्य सञ्चालन समिति २१ जनाको चुनिन्छ । अनि तिनैले मन्दिर सञ्चालन गर्छन् । 

शैक्षणिक योगदान
नेपाली मन्दिरको अर्को गौरवशाली विशेषता शैक्षिक योगदान हो । यहाँ दुईवटा विद्यालय सञ्चालित छन् । मन्दिरको सात कठ्ठा तीन धुर जग्गाभित्रै दुवै विद्यालय रहेका छन् । ती हुन्– गोर्खा एम.ई. स्कुल र गोर्खा हाई स्कुल । गोर्खा एम.ई. स्कुल सरकारी अनुदानमा चलेको छ भने गोर्खा हाई स्कुल चाहिँ मन्दिरबाटै चलाइएको छ । हाई स्कुलमा शुल्क लिइन्छ, नपुग रकम मन्दिरका भेटीघाटी, अतिथिशाला तथा दाताका सरसहयोगबाट पूरा हुन्छ । 

गोर्खा एम.ई. स्कुलसमेत भ्रमण गर्ने अवसर जुट्दा आफूलाई धन्य मानियो । नेपाली मन्दिर प्रबन्धक समतिका मूलसचिव राजेश ठकुरी यस विद्यालयका प्रधानाध्यापक हुन् । उनीसित थोरै बेर कुराकानी भए पनि धेरैथोक जान्ने अवसर पाइयो । उनको कार्यकक्षमा सबै शिक्षक, शिक्षिकाले नेपाली बोलेको सुन्दा प्रसन्नतावश मन यसै यसै फुरफुर हुन पुग्यो । आफ्ना गुरु भनी प्रधानाध्यापक ठकुरीले सोही विद्यालयका सेवानिवृत्त धनञ्जय शर्माको चिनारी गराउँदाको क्षण मानसपटलमा अङ्कित भएको छ । 

अध्यक्ष चिन्तामणि शर्माबाट हाई स्कुलमा कक्षा नौ, दशको अध्यापन भइरहेको र ११, १२ को कक्षाका लागि प्रयास जारी रहेको थप सुखद जानकारी पनि पाइयो  । नेपाली मन्दिरले स्थानीय शिक्षा विकासमा पुर्याएको योगदानको विशिष्ट गाथा गोर्खा एम.ई. स्कुलले जनाइरहेको प्रतीत हुन्थ्यो । गत वर्ष (सन् २०२१) यस विद्यालयले धुमधामसाथ ७५ औँ वार्षिकोत्सव मनायो । सन् १९४६ मा खोलिएको यस विद्यालयको स्थापना कथा पनि स्मरणीय छ । आफ्ना सन्तानलाई शिक्षा दिने र त्यो पनि मातृभाषामा शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको विद्यालय हो यो । भारत स्वतन्त्र हुनुअगावै स्थापना भएको यस विद्यालयले आफ्नो लामो ऐतिहासिक कालखण्डमा अनेक उतारचढाव मात्र देखेन, तीता मीठा घटना भोग्दै अडिग यात्रीसरह रहेको छ ।


    
स्मृति दर्पण
 यो ऐतिहासिक, सुखद अवसरमा गोर्खा एम.ई. स्कुल ७५ औँ वार्षिकोत्सव समारोह समितिद्वारा ‘स्मृति दर्पण’ (स्मारिका) पनि प्रकाशन भएको छ ।  मुख्य सम्पादक अखिल प्रकाश शर्मा र प्रबन्धकीय सम्पादक कृष्णकुमार सापकोटा रहेको यो स्मारिका अत्यन्त उपयोगी, पठनीय तथा सङ्ग्रहणीय छ । 

  नेपाली मन्दिरको स्थापना, गोर्खा एम.ई. स्कुलको इतिहास, गुवाहाटीका नेपाली दाजुभाइमा यी संस्थाले पुर्याउँदै आएको प्रभाव र समग्र आसाममै यसले पारेको छाप स्मारिकामा जीवन्त रहेका छन् । स्वनामधन्य लीलबहादुर क्षेत्री, मुक्तिप्रसाद उपाध्याय, नव सापकोटा, डा. खगेन शर्मा, केके सापकोटा, रुक्मा प्रधान, ढाकाराम काफ्ले, केशव पाण्डे, विकास क्षेत्री आदिका सारगर्भित लेख रचना यसमा रहेका छन् ।


    
गोर्खा पल्टनेको जमर्को

प्रा. लीलबहादुर क्षेत्रीका अनुसार पल्टन बजारमा अहिले प्रहरी थाना भएको ठाउँमा एउटा ठूलो पीपलको रुख थियो । त्यसको फेदमा बसेर पुराना गोर्खा पल्टने बूढाहरू पञ्चायत गर्थे । उनीहरूले स्थापना गरेको गोर्खा पञ्चायतले नेपालीका आपसी झैझगडामा न्यायनिसाफ गरिदिन्थ्यो । त्यसताका अङ्गे्रज सरकारले गोर्खा सैनिकको बढी कदर गथ्र्यो । नेपालीको बसोबास भएको गोहाटीलगायत आसामका सबै ठाउँमा पञ्चायत हुन्थ्यो, अनि यही पञ्चायतले पछि धर्म र शिक्षण संस्था स्थापना गरे । गोहाटी राधाकृष्णको मन्दिर गोर्खा ठाकुरबाडी पनि केहीपछि सन् १९३२ तिर यही गोर्खा पञ्चायतले स्थापना गरेको हो ।

१३ जुलाई १९४६ मा गोर्खा एल.पी. र एम.ई. स्कुलको स्थापना भए पनि यसको सोच ९५ वर्षअगावै रहेको जिकिर गर्दै पीताम्बर राजभण्डारीको भनाइ छ– स्व. पहाडसिंह गुरुङले १९२६ मा अङ्गे्रज कलेक्टरसँग धार्मिक तथा शैक्षिक अनुष्ठान खोल्न माटो (जमिन) माग्नु भएको थियो । सोही मागअनुसार अङ्गे्रज सरकारले भूमि आवंटन गरेको हो । 
    
गहना बन्धक 
परिवारको गहना बन्धक राखी नेपाली मन्दिरको जग्गा मुक्त गराएका दानवीर स्व. लालबहादुर क्षेत्रीका नाति, लुटुमा, गुवाहाटीका मदन क्षेत्रीका अनुसार धेरै पुरानो कुरो हो, मन्दिर र स्कुलको पश्चिम दिशाको माटो (जग्गा) मा केही समस्या पर्यो । त्यतिखेर हजुरबाले हजुरआमा तुलसी देवीको सुनका गहना बन्धक राखी माटो जोगाउनु भएको थियो । हजुरबा बितेपछि हजुरआमाले यसको चर्चा त गर्नुभयो तर त्यो सुन कहाँ बन्धक राखियो, कोसित थियो ? जस्ता कुरा थाहा छैन ।

नेपाली विद्यालय
गुवाहाटीस्थित देवकोटा नगरका नव सापकोटाका अनुसार नेपाली मन्दिर परिसरभित्रको गोर्खा स्कुल आसाम राज्यको सबैभन्दा पुरानो नेपाली माध्यमको विद्यालय हो । यसपछि डिगबोई, दुलियाजान, मार्घेरिटा आदि स्थानमा नेपाली माध्यमका विद्यालय खुले । अग्रणी विद्यालयको लहरमा गुवाहाटी महानगरकै माली गाउँको देवकोटा नगरस्थित बडागाउँ नेपाली विद्यालय छ, यसको स्थापना सन् १९५९ मा भएको हो । 

पुरानो आसाम अर्थात् भारतको पूर्वाञ्चलका सन्दर्भमा चाहिँ नेपाली माध्यमबाट नामाङ्कित विद्यालयको स्थापना सन् १८७६ मै भएको पाइन्छ । यो विद्यालय हो– मेघालयको राजधानी सिलाङको अपरमस्थित गोर्खा पाठशाला । अहिले मिजोरम राज्यमा अनेक नेपाली माध्यमका विद्यालय सञ्चालनमा रहेका छन् । 

यी विद्यालयमा गोर्खाभन्दा गैरगोर्खा विद्यार्थी धेरै भएको वस्तुस्थिति दर्साउँदै देवकोटा नगरका विकास क्षेत्रीले यी विद्यालयलाई स्थापना कालको उद्देश्यअनुरुप जीवन्त राख्न सामूहिक सक्रियताको अपेक्षा गरेका छन् । २ नं. वीरकुटी, गुवाहाटीका अखिलप्रकाश शर्माले गोर्खा हाई स्कुलको माध्यम हिन्दी भए पनि यसमा एउटा अनिवार्य नेपाली विषय राख्नुपर्ने र पछि विद्यालयलाई गोर्खा महाविद्यालयका रूपमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

मातृभाषाको जगेर्ना
आसाममा नेपाली मातृभाषाले सन् १९२८ बाट औपचारिक सम्मान पाएको जनाउँदै गुवाहाटी विश्वविद्यालयका डा. खगेन शर्मा भन्छन्, हाम्रा पुर्खा आफ्नो र संस्कृतिप्रति उत्सर्गित थिए । अहिले पनि नेपाली भाषी गोर्खाहरु भाषाको संरक्षण, सम्वर्द्धनका निम्ति सचेत एवं सक्रिय रहेको अवस्था दर्साउँदै जनाउँछन्– आसामभरि व्यापक रूपमा नेपाली भाषाको पठनपाठन होस् भन्ने सोच रहेको छ । 

यहाँ प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म नेपाली विषय पढ्ने, पढाउने व्यवस्था हुन सके नेपाली भाषा संरक्षणमा ठोस काम हुनेछ । माथिल्लो तहमा गुवाहाटी र बडोल्यान्ड विश्वविद्यालयको अधीनका कलेजहरूमा मेजर विषयका रूपमा नेपाली भाषाको पठनपाठन चलिरहेको छ । अङ्ग्रेजी तथा असमिया माध्यमका सरकारी तथा निजी विद्यालयमा कक्षा ६ देखि कक्षा ८ सम्म एउटा विषय भाषाका रूपमा नेपाली पढाउन सकिने अवस्था सिर्जना भएको छ । यसलाई व्यवस्थित रूपमा अगाडि बढाउनु जरुरी छ । विद्यार्थी न्यून भए पनि सिनियर सेकेन्डरी (९ देखि १२ सम्म), कलेज र विद्यालयमा पनि नेपाली पढ्ने प्रावधान छ । 

ज्ञानपीठ डिग्री कलेज (निकासी) का विद्यार्थीले नेपाली मेजर विषय लिई बीए उत्तीर्ण (२०२२) गरेपछि थप अध्ययनका निम्ति एमएमा नेपाली विषय जरुरी बनेको छ । बडोल्यान्ड विश्वविद्यालयले त्यसको अनुमति दिने कुरो चलेको छ भने सोही विश्वविद्यालयमै नेपाली विभाग स्थापना गराउनेतर्फ पनि पहल भइरहेको छ । नेपाली पढ्दा जागिरमा असर पर्छ भन्ने भ्रम हट्नुपर्छ । सबैको सक्रियता रहेमा आसाममा कम्तीमा एलपी, एमई गरी दुई स्कुलमा नेपाली विषय पढाइ हुनेछ भने कम्तीमा दुई सय नेपाली सरकारी शिक्षक हुनेछन् । 
  विशिष्ट पहिचान 
असमेली नेपालीको ऐतिहासिक परिप्रेक्ष्य केलाउँदै ढाकाराम काफ्लेले आफ्नो गहन धारणा यसरी अभिव्यक्त गरेका छन्– पौराणिक कालदेखि नेपालबाट आसाम आउने गोर्खाहरु आसामको मूल जनमानसभित्र आफ्नो छुट्टै पहिचान गुमाएर एकाकार हुन पुगेका थिए । सन् १८१६ को सुगौली सन्धिपछि आसाममा गोर्खाहरूको आगमनले अर्कै गति लिन थाल्यो । त्यसपछि विभिन्न कारणवश आसाम पसेका गोर्खाहरूले आफ्नो विशिष्ट पहिचान लिएर बृहत्तर असमेली समाजमा आफ्नो उपस्थिति दर्साउँदै आएका छन् ।

बसाइँ सराइको उपर्युक्त पृष्ठभूमिमा गुवाहाटी तथा वरपरका क्षेत्रमा नेपाली बसोबास बढेको, किसान, विभिन्न कम्पनीमा काम गर्ने कामदार तथा फौजबाट सेवानिवृत्त हुनेहरू स्थायी रूपमै बासिन्दा भए । त्यसैले सन् १९०० ताका नै पल्टन बजार आदि क्षेत्रमा नेपाली संस्कृतिको बाक्लै झलक देखिन थालेको आँकलन लेखक काफ्लेको छ । 


    
गोर्खा स्वायत्त शासन
गोर्खा स्वयंसेवी दस्ता अखिल असम गोर्खा सङ्घका प्रतिष्ठापक प्रमुख केशव पाण्डे ‘गोर्खा–अङ्गे्रज युद्धले गोर्खा र गोर्खाको खुकुरीलाई विश्वप्रसिद्ध बनाएको’ जनाउँदै बताएका छन्– अङ्ग्रेजले भारतमा गोर्खा फौज खडा गरे । अङ्ग्रेजको पक्षमा गोर्खाहरूले अनेक विश्वप्रसिद्ध युद्ध लडे । भारतमा पनि गोर्खा फौजको विशेष महत्त्व छ । 

भारतमा हाम्रा पुर्खाहरूले जातीय अस्तित्वको सङ्ग्राम ‘गोर्खा’ जातिबाटै गरे । अलग–अलग भाषा, संस्कृति भएका हामी सबै गोर्खा हौँ र गोर्खा हुनमा गौरवबोध गर्दछौँ । भारतलाई अङ्गे्रजको दासत्वबाट मुक्त गराउँदै गणतन्त्र भारत निर्माण गर्ने जातिमध्ये गोर्खाहरु पनि एक थिए । संविधान सभाबाट संविधान निर्माण गर्ने व्यक्तिको हस्ताक्षरमा गोर्खा जातीय प्रतिनिधि अरिबहादुर गुरुङ छन् । यो गौरवको कुरो बताउने केशव पाण्डेले भारतका अन्य ठाउँका गोर्खा जसरी नै आसामका गोर्खाहरु पनि आफ्नो अस्तित्वप्रति सचेत रहेको जनाई गोर्खा स्वायत्त शासनमार्फत समुचित उत्थान हुने विचार प्रवाह गरेका छन् ।

‘स्मृति दर्पण’मा यस्ता अनेक सामग्री छन्, जसले नेपाली भाषा, संस्कृति, परम्परा, आत्मियता तथा समुत्थानका दिशालाई प्रभावकारी ढङ्गबाट प्रतिविम्बन गरेका छन् । पुर्खाले गरेको निःस्वार्थ सेवा, भावी सन्ततिका निम्ति अघि सारिएका अर्थपूर्ण कार्य र वर्तमान पुस्ताले निर्वहन गर्दै बढेको नेपाली÷गोर्खाली गौरवपूर्ण परम्पराको यतिखेर जत्ति प्रशंसा गरे पनि कम प्रतीत हुन्छ । 

 कहाँ कामाख्या माईको दर्शन गर्न पुगेको यो पङ्क्तिकार सौभाग्यले भन्नुपर्छ, अमूल्य गोर्खाली कीर्तिस्तम्भ ‘नेपाली मन्दिर’मा प्रवेश गर्न पुग्यो । अनि, पल्टन बजारमा पल्टन पुगे थातका थात स्वर्णिम पृष्ठहरू ! 
 यस बखत गैँडाकोटका भाइ शङ्कर आचार्यलाई नसम्झिरहन सकिँदैन । ‘दाइ, कामाख्या जाँदै हुनुहुन्छ भने पल्टन बजारको नेपाली मन्दिर पनि पुग्नुहोला है !’ उनले यसरी पूर्व जानकारी नगराएका भए, सायद त्यहाँ पुगिँदैनथ्यो होला ! नपुगेको भए पक्कै मैले यसरी यो साझा नेपाली जातीय गौरवको अनुभूति गर्न पाउने थिइनँ । यस अर्थमा स्वयंलाई मैले भाग्यमानी पनि ठहराएको छु ।

अदम्य स्वाभिमानको विम्ब 
पुख्र्यौली शान, धार्मिक मान र यशस्वी गोर्खालीको अस्तित्व बोध गराउँदै गुवाहाटीको मध्यभागमा देदीप्यमान नेपाली मन्दिर हाम्रो अदम्य स्वाभिमानको विम्ब बनेको छ । यो गौरवबोध गराउन दिन–रात नभनी निरन्तर लागिपरेका परमार्थी पुर्खा र क्रियाशील सचेत वर्तमान पुस्ता प्रशंसनीय, स्मरणीय तथा अनुकरणीय रहेका छन् । 

धर्तीको जुनसुकै पाटोमा रहे पनि स्व (नेपाली) जाति, स्व (नेपाली) भाषा र स्व (नेपाली) संस्कृतिप्रति गर्व गर्ने र तद्नुरूप निरन्तर उत्साहपूर्ण क्रियाशीलता बढाउने सम्पूर्ण आत्मीय जनमा आभार तथा कोटिकोटि साधुवाद !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मलकुमार आचार्य
निर्मलकुमार आचार्य
लेखकबाट थप