शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

अवकाश पाउन केही दिनमात्रै बाँकी तर गम्भीर प्रकृतिका मुद्दामा न्यायाधीशको दिलचस्पी

परिपत्रमा अवकाश पाउने एक महिना अगाडिबाट मुद्दा हेर्न नपाउने
बुधबार, १५ असार २०७९, १४ : ५७
बुधबार, १५ असार २०७९

जुम्ला जिल्लामा दरबन्दी रहेका न्यायाधीश जवाहरप्रसाद सिंहले आगामी साउन ८ गतेबाट उमेर हदका कारण अवकाश पाउँदैछन् । २०१६ साल साउन ८ गते जन्मिएका सिंह आगामी साउन ८ गते ६३ वर्ष पूरा हुँदैछन् । जिल्ला न्यायाधीशको ६३ वर्षको उमेरमा अवकाश हुने व्यवस्था छ । 

तर अवकाश पाउन केही दिनमात्रै बाँकी रहेपनि न्यायाधीश सिंहले मुद्दा हेर्न भने छाडेका छैनन् । न्यायाधीशले सिंहले असार ८ गते पछिबाट मुद्दा हेर्न छाड्नुपर्ने भएपनि उनले केही गम्भीर प्रकृतिका मुद्दामा दिलचस्पी दिएर सुनुवाइको कोसिस गरिरहेका छन् । अवकाश पाउने एक महिना अगाडिबाट मुद्दा नहेर्न सर्वोच्च अदालतले गरेको परिपत्रविपरीत न्यायाधीश सिंहले केही मुद्दामा चासो देखाएका कारण ती मुद्दाको किनारा नलागेसम्म ती मुद्दा हेरिरहने गरी इजलास गठन गर्ने काम गरिरहेका छन् । 

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश बनेको केही समयपछि नै उनले एक परिपत्र जारी गर्दै सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुलाई अवकाश पाउने एक महिना अगाडिबाट मुद्दा नहेर्न भनेका थिए । एक महिनाको समयमा फैसला लेखन लगायतका काम पूरा गर्नु भएकाले मुद्दा नहेर्न परिपत्रमा भनिएको थियो । यद्यपि यसको भित्री कारण भनेको अवकाश पाउने समयमा न्यायाधीशहरुले आर्थिक लाभ लिएर गलत फैसला गर्न सक्छन् भन्ने मनसायले अवकाशको एक महिना अगाडिदेखि मुद्दा नहेर्न भनिएको हो । 

तर एक न्यायाधीशको दरबन्दी रहने जुम्ला जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहले भने सर्वोच्च अदालतको परिपत्र विपरीत असार ८ गते पछाडि पनि लगातार मुद्दा हेरिरहेका छन् । केही गम्भीर प्रकृतिका मुद्दामा उनले फैसलासमेत गरेका छन् भने गम्भीर प्रकृतिका केही मुद्दालाई छिटोछिटो पेसीमा चढाउँदै फैसलाको कोसिस गरेका छन् । 

असार ८ गतेपछिकै इजलास र फैसला हेर्ने हो भने उनको कतिपय फैसला हतारमा गरिएको जस्तो देखिन्छ । गम्भीर प्रकृतिका मुद्दामा संवेदनशील हुनुपर्ने भएपनि न्यायाधीश सिंहले ती मुद्दालाई पनि छिटो फैसला गरेर ‘मैझारो’ बनाउने कोसिस गरेका छन् । 

न्यायाधीश सिंहले अवकाश पाउन २९ दिनमात्रै बाँकी रहँदा असार ८ गते हाडनाताभित्रको जबरजस्ती करणी मुद्दामा प्रतिवादीलाई सफाइ दिएका छन् । २०७८ साउन १२ गते दर्ता भएको उक्त मुद्दामा न्यायाधीश सिंहले एकपटक मात्रै इजलास राखेर प्रतिवादीलाई सफाइ दिएका छन् । जम्मा दुई पटक पेसीमा चढेको उक्त मुद्दामा २०७८ मङ्सिर ३ गतेको पेसीमा श्रेष्तेदारले गरेको आदेशलाई सदर गरिएको छ । उक्त सदर न्यायाधीश शिवप्रसाद खनालले गरेका थिए । त्यसपछि २०७९ असार ८ गते मात्रै पेसीमा चढेको उक्त मुद्दामा न्यायाधीश सिंहले सोही दिन सफाइ दिएका छन् । न्यायाधीश सिंहले एकै पेसीमा हतारहतारमा प्रतिवादीलाई सफाइ दिलाएका छन् । यद्यपि त्यस फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ । असार ८ गते नै न्यायाधीश सिंहले सवारी ज्यान तथा अंगभंग मुद्दामा आंशिक दाबी मात्रै पुग्ने फैसला गरेका छन् । 

असार ८ गतेकै पेसीमा अपहरण गरी ज्यान मारेको मुद्दा पनि रहेको थियो । तर उक्त मुद्दालाई सरकारी वकिलले स्थगित गराएपछि सुनुवाइ हुन पाएन । न्यायाधीश सिंहले त्यसपछि पनि निरन्तर मुद्दाको सुनुवाइ गरिरहेका छन् । असार ९ गतेको दुईवटा मुद्दा कानुन व्यवसायीले स्थगित गराएपछि सुनुवाइ हुन पाएन । 

असार १० गते न्यायाधीश सिंहले इजलास गठन नै गरेनन् । असार १२ गते दानबहादुर रोकाय प्रतिवादी रहेको अपहरण गरी ज्यान मारेको मुद्दा पेसी सूचीको एक नम्बरमा राखिएको थियो । यद्यपि सरकारी वकिलले उक्त मुद्दा स्थगित गराएपछि सुनुवाइ हुन पाएन । अन्य कतिपय मुद्दा लामो समय पेसीमा चढ्न नसक्दा न्यायाधीश सिंहले यो मुद्दालाई भने निकै दिलचस्पी दिएको देखिन्छ । २०७८ भदौ ३१ गते दर्ता भएको यो मुद्दा २०७८ चैत २४ गतेबाट मात्रै पेसीमा चढेको देखिन्छ । चैत २४ गतेको पेसीमा सरकारी वकिलले स्थगित गराएको यो मुद्दाको पेसी २०७९ जेठ १२ गतेलाई तोकियो । उक्त मितिमा पनि सरकारी वकिलले पेसी स्थगित गराएपछि त्यसको ८ दिनपछि जेठ २० गते पुनः यो मुद्दा पेसीमा चढाइएको थियो । उक्त दिन साक्षी बुझ्ने आदेश गरिएपछि यो मुद्दाको पेसी असार ८ गतेलाई तोकियो । तर ‘गडबड’ देखिएपछि सरकारी वकिलले उक्त दिन पनि यो पेसी स्थगित गराए । तर न्यायाधीश सिंहले यो मुद्दालाई त्यसको चार दिनपछि अर्थात् असार १२ गतेको पेसीमा राखेर फर्स्यौट गर्ने प्रयास गरे । तर उक्त दिन पनि जिल्ला सरकारी वकिल कार्यालयबाट उक्त पेसी स्थगितका लागि लेखी पठाएपछि यो मुद्दा बुधबारसम्म पेसीमा चढेको छैन । 

असार १२ गते नै पेसी तोकिएको बहुविवाह मुद्दामा पनि प्रतिवादी धर्मराज चौलागाईलाई न्यायाधीश सिंहले सफाइ दिएका छन् । असार १३ गतेको चोरी मुद्दामा न्यायाधीश सिंहले साक्षी बुझ्ने आदेश दिएका छन् । 

त्यसैगरी असार १४ गतेको पेसीमा अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको मुद्दा पेसी सूचीको एक नम्बरमा राखिएको छ । सूर्य बहादुर साउद प्रतिवादी रहेको उक्त मुद्दा सरकारी वकिलले स्थगित गराएपछि सुनुवाइ हुन नपाइ रोकिएको थियो ।  

असार १५ गतेका लागि न्यायाधीश सिंहले पेसी तोकेका छन् । असार १५ गतेका लागि आपराधिक उपद्रव र जबरजस्ती करणीजस्तो गम्भीर मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म यस मुद्दामा कैफियत जनाइएको छैन ।

प्रधानन्यायाधीशले पठाएको परिपत्रमा अवकाश पाउने एक महिना अगाडिदेखि मुद्दा नहेर्न भनिए पनि न्यायाधीश सिंहले भने इजलास छाड्न मानिरहेका छैनन् । उनले के कति कारणले इजलास छाड्न नमानेको हो, त्यस विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप