बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजार बन्द गराउन उद्योगी व्यवसायीको माग

बिहीबार, २३ असार २०७९, १९ : ०८
बिहीबार, २३ असार २०७९

 उद्योगी व्यवसायीहरूले भारतीय सीमा क्षेत्रमा लाग्ने बजारले स्वदेशी व्यवसाय तथा बजार धरासायी बन्दै गएको गुनासो गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा लाग्ने हाट बजार बन्द गराएर नेपाली व्यवसायलाई फस्टाउने वातावरण तयार गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारमा सस्तो मूल्य भन्दै कम गुणस्तरको सामान पाइने भएकाले नाकामै सञ्चालन हुने त्यस्ता बजार बन्द गराउन पहल गरिदिन व्यवसायीहरूले माग गरेका हुन् ।

उद्योग व्यापार संगठन चेम्बर अफ कमर्स रुपन्देहीले बिहीबार भैरहवामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको स्वागत तथा परिचयात्मक कार्यक्रममा यस्तो गुनासो गरेका हुन् । उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमा नाका क्षेत्रमै लाग्ने बजारका कारण नेपाली बजार प्रभावित भएको बताए । 

उनले भारतसँग समन्वय गरेर उक्त बजार बन्द गराउनुपर्नेमा जोड दिँदै शुल्क नतिरी झोले पोके सामान भित्र्याउने कार्यमा समेत रोक लगाउन प्रशासनले ध्यान दिनुपर्ने बताए ।

खुला सीमा नाकाका कारण अवैध लागू औषध ओसारपसार, मानव बेचबिखन जस्ता कार्यलाई नियन्त्रण गर्न विशेष निगरानीको आवश्यकता रहेको उनको भनाइ छ ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीलाई ढुक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारिदिन प्रशासनसमक्ष माग गरे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले गुणस्तरहीन सामान, नापतौलमा ठगी, राजस्व छली, सामानको कृत्रिम अभावजस्ता गतिविधिमा कोही पनि संलग्न हुन नमिल्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या आफूले सक्दो समाधान गर्ने आश्वासन दिए ।

उनले नीतिगत रूपमा तथा केन्द्रीय तहमा कुरा उठाएर सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप