मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले प्रचण्डलाई भेट नदिनुको अर्थ

सोमबार, ०२ साउन २०७९, १९ : ०२
सोमबार, ०२ साउन २०७९

‘भारतीय प्रधानमन्त्री मोदीजीसँग भेट हुन्छ भन्ने थियो । अधिकारीहरूले भेट हुन्छ भनिराख्या थिए । एक बज्न थालेपछि अलि हतार गरेर मोदीजीलाई भेट्न जानुपर्ने, त्यसपछि एयरपोर्ट जानुपर्ने हुन्छ भन्ने भएपछि निस्कियौँ । होटल जानेक्रममा अहिले भेट्न सम्भव भएन भन्ने आयो । किन भेट भएन ? तपाईंहरु जस्तै मैले पनि थाहा पाएको छैन,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । भारतको तीन दिने भ्रमण सकेर आइतबार फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेकोबारे यसरी अनभिज्ञता प्रकट गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यतालिका नभए पनि प्रचण्डको सचिवालयबाट भेट हुने खबर सार्वजनिक गरिएको थियो । अन्तिम समयमा मोदीले प्रचण्डलाई भेट नदिएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ । त्यतिमात्रै होइन, भारतबाट फर्किएपछि पत्रकारसँग प्रतिक्रिया दिने क्रममा प्रचण्डले निरीहता प्रकट गरेको भन्दै आलोचनासमेत भएको छ । एउटा सार्वभौम मुलुकको पूर्व प्रधानमन्त्री र पार्टीका अध्यक्षले भारतीय प्रधानमन्त्रीले भेट्न नदिएको विषयलाई गुनासोको रूपमा व्यक्त गर्नु ठिक नभएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।

कूटनीतिक क्षेत्रका जानकार दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री मोदीसँग प्रचण्डको भेट नभएको कुरालाई ठुलो रूपमा लिन नहुने बताए । ‘प्रचण्डजीको भ्रमणमा अपमानित भएको भन्न मिल्दैन ।  हामी जतिबेला पायो त्यतिबेला भ्रमणमा जान्छौँ । कुनै योजनाबद्ध भ्रमण र योजना हुँदैन,’ भट्टराईले भने, ‘प्रचण्डजीलाई निम्ता पहिलै आएको भए हल्ला भइहाल्थ्यो । त्यो हल्ला सुनिएन । अन्तिम आवरमा निम्ता दिएर गएकोजस्तो देखिन्छ ।’

यस्तै पूर्व राजदूत लीलामणि पौडेलले मोदीसँग भेट्ने कार्यतालिकामा राखिसकेपछि र भ्रमणमा बोलाएर सार्वजनिक गरिसकेपछि त्यसको चित्तबुझ्दो कारणबिनै भेट नगर्नु गतिलो कूटनीतिक व्यवहार नभएको टिप्पणी गरे । ‘के कारणले भेट गर्न सकिएन भनेर अपर्झट आइपरेको कन्भिन्सिङ विषय हुनुपर्छ,’ पौडेलले भने, ‘यदि त्यो छैन र भेट हुँदैन भने त्यसलाई असल आचरणको कूटनीतिक अभ्यासका रूपमा लिन सकिँदैन ।’

तर एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले ‘पार्टी टु पार्टी’ सम्बन्धलाई अचम्म नमाने पनि भारतीय प्रधानमन्त्रीसँग भेट्ने सार्वजनिक गरिएपछि भेट नहुनु सहज रूपमा लिन नसकिने बताए । नेपालको आन्तरिक राजनीतिका विषयमा भारतमा गएर खुलाउन ठिक नभएको पनि उनले बताए ।

‘हाम्रो देशको आन्तरिक राजनीतिको विषय विदेशी भूमिमा गएर बताउनुभएको छ । एक ढङ्गले भन्ने हो भने तामातुलसी जपेर आउनु भएको छ । त्यसले नै सबै कुरा स्पष्ट पार्छ, अरू भनिरहनु पर्दैन,’ भट्टराईले रातोपाटीसँग भने ।

तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भारतीय प्रधानमन्त्रीसँग भेट्ने कार्यतालिका नभएकाले भेट नभएको प्रतिक्रिया दिए । ‘भाजपा पार्टी अध्यक्षको निमन्त्रणमा पार्टी टु पार्टी रिसेलनका लागि अध्यक्ष कमरेड भ्रमणमा जानु भएको हो । भारतीय प्रधानमन्त्रीसँग भेट्ने कुनै तालिका थिएन,’ मल्लले भने, ‘भाजपा अध्यक्षसहित भारतीय उच्चपदस्थ अधिकारीसँग भेट भयो । दिल्लीमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।’

प्रचण्डजी भारतमा तामातुलसी जपेर आउनु भयो 

राजन भट्टराई, विदेश विभाग प्रमुख, नेकपा एमाले

सामान्य हिसाबले ‘पार्टी टु पार्टी’ रिलेसनमा एउटा पार्टीको नेता अर्को पार्टीको नेतालाई भेट्न जाने कुरालाई अचम्म मान्दिन । यस्तो खालको अभ्यास चलिआएको छ । उहाँलाई पहिलै घोषणा गरेर भेट हुन्छ भनेर सेड्युलमा दिइयो । अन्तिम आवरमा क्यान्सिल भयो । त्यसलाई उहाँले ‘खै मलाई थाहा भएन’ भन्नुपर्ने अवस्था सामान्य होइन । एउटा देशको सरकार प्रमुखले यस्तो खालको व्यवहार देखाउने सहज अवस्थामा होइन । किन यस्तो भयो, उहाँहरूले जान्ने कुरा हो ।

आफू भ्रमण गरेर आएको कुरालाई असफल भयो भन्न मिल्दैन । सफलै भयो भन्नुपर्ने हुन्छ । उहाँले बाहिर भ्रमण सफल भएको छ भन्नुभएको छ । त्यसले बाहिर जे तरङ्ग ल्याएको छ । उहाँ आफैले पनि स्वीकार गर्नु भएको छ । मैले भारतीय नेताहरूसँग यो गठबन्धन आगामी चुनावसम्म रहन्छ, म पहिलाको जस्तो सर्प्राइज दिन्न भन्नु भएको छ । हाम्रो देशको आन्तरिक राजनीतिको विषय विदेशी भूमिमा गएर बताउनु भएको छ । एक ढङ्गले भन्ने हो भने तामातुलसी जपेर आउनु भएको छ । त्यसले नै सबै कुरा स्पष्ट पार्छ, अरू भनिरहनु पर्दैन ।

मोदीले भेट नदिनु गतिलो कूटनीतिक व्यवहार होइन

लीलामणि पौडेल, पूर्व राजदूत

भारतसँग हाम्रो जुन बहुआयामिक सम्बन्ध छ, त्यसमा त्यहाँको राजनीतिक सत्तारुढ दलसँग दुई पक्षीय सम्बन्ध बढाउने कुरालाई सकारात्मक लिनुपर्ने हुन्छ । भ्रमणका क्रममा भएका खुला छलफलमा प्रचण्डले विचार राख्नुभएको छ, त्यसलाई पनि सकारात्मक लिन सकिन्छ । यद्यपि, त्यहाँ छलफल भएका विषय सार्वजनिक नभए पनि अध्यक्ष प्रचण्डले भ्रमण राम्रो भयो भनेपछि राम्रै भयो भनेर बुझ्नुपर्छ ।

राजनीतिक दलको एउटा नेताको भ्रमणले नेपाल–भारत सम्बन्धमा ठुलै तलमाथि पार्ने भन्ने कुरा अपेक्षा गर्नु नै अवास्तविक हुन्छ । यो सम्बन्धको निरन्तरता हो । जुन उहाँले सार्वजनिक समारोहमा व्यक्त गरेका विचारहरूले नेपाल–भारत सम्बन्धलाई नेपालीहरूले जसरी अगाडि लिएर जान चाहन्छन् भन्ने मानसिकता छ, त्यसलाई अनुभूत गरेको छ भन्ने लागेको छ ।

नेपाल–भारतबीच सीमा लगायत विभिन्न समस्या रहँदै आएका छन् । यी समस्या समाधान गर्ने सवालमा भारतले कसरी लिन्छ भन्ने मुख्य प्रश्न हो । भारतजस्तो ठुलो मुलुकले समस्या समाधान गर्न चाह्यो भने कुनै समस्या हुँदैन, किनभने कस्ता कस्ता समस्या त समाधान गरेर सम्बन्ध सुधार भएका उदाहरण छन् । हाम्रो भारतसँग युद्धको अवस्था होइन तर भारतसँगका समस्या सम्बोधन गर्ने विषयमा नेपालका राजनीतिक दलहरू आन्तरिक समझदारी गर्दै एक ठाउँमा उभिनुपर्छ । यसरी दलहरू एक ठाउँमा उभिइसकेपछि जो दल सरकारमा बस्छ, उसले ती मुद्दाहरूलाई दृढतापूर्वक अगाडि बढाउने र अरूले सघाउने गर्नुपर्छ ।

मोदीसँग भेट नहुनुमा कूटनीतिक हिसाबले भन्नुपर्दा भेट गर्ने भनेर कार्यतालिकामा राखिसकेपछि र भ्रमणमा बोलाएर सार्वजनिक गरिसकेपछि त्यसको चित्तबुझ्दो कारणबिनै भेट नगर्नु गतिलो कूटनीतिक व्यवहार होइन । कि यो कारणले गर्दा भेट गर्न सकिएन भनेर अपर्झट आइपरेको कन्भिन्सिङ विषय हुनुपर्छ । यदि त्यो छैन र भेट हुँदैन भने त्यसलाई असल आचरणको कूटनीतिक अभ्यासका रूपमा लिन सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप