शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयले कहिलेसम्म गर्छ विद्यार्थीको भविष्यमाथि खेलवाड ?

प्रश्नपत्र दोहोर्‍याउने शिक्षक भएनन् कारबाहीको भागीदार
सोमबार, ०९ साउन २०७९, १४ : ०४
सोमबार, ०९ साउन २०७९

विगतबाट नै विभिन्न लापरबाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । यसपटक पनि त्रिविले पटक पटक प्रश्नपत्र दोहोर्‍याएर, प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको तथा अर्कै सत्रको प्रश्नपत्र उपलब्ध गराएर नालायकीपन देखाएको छ । उसको कार्यशैलीबाट विद्यार्थीहरू आहत छन्, त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा प्रश्नपत्र काण्डले त्रिभुवन विश्वविद्यालयले आफ्नो शाख पनि गिराएको छ । 

यही जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसै गरी जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र पनि अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राडा पेशल दाहालले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने जनाउँदै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्न गएको हुन सक्ने बताएका थिए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको थियो ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको त्रिवि मानविकी संकायका डीन प्राडा कुसुम शाक्यले जानकारी दिएकी थिइन् ।

हुन त त्रिविले प्रश्नपत्र दोहोर्‍याएको यो पहिलो पल्ट हैन । विगतमा पनि यस खालका गतिविधि भएको तथ्य छ । तर, नेपालको सबैभन्दा पुरानो त्रिविजस्तो विश्वविद्यालयले यस किसिमको घटना बारम्बार दोहोर्‍याइ रहँदा त्रिविकै प्रतिष्ठामा​थि प्रश्न चिन्ह खडा हुने देखिन्छ । 

त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए अर्थात् व्यापार प्रशासनमा स्नातक गरिरहेका छैटौँ सत्रका विद्यार्थीहरू असारको अन्तिम हप्ता परीक्षा हलमा बसे । उनीहरूले पूर्ण सत्रभरि पढेर परीक्षा दिन जाँदा जब प्रश्नपत्र हातमा पर्‍यो, तब चकित परे । लापरबाही कतिसम्म थियो भने प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको थियो, त्यो पनि अर्कै सत्रको । त्यस्तै, अर्को प्रश्नपत्रमा कुनै प्राइभेट कलेजले आफ्नो प्रिबोर्डमा निकालेको परीक्षाको थुप्रै प्रश्न त्यसमा समाहित थिए । अन्ततः परीक्षा स्थगित गरियो । 

विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिने लापरवाहीको श्रृंखला यत्तिकैमा टुंगिएन । तेस्रो पल्टको प्रश्नपत्रमा त शंकरदेव क्याम्पसले बीबीए तहको आफ्नो प्रिबोर्डमा बनाएको हुबहु प्रश्नपत्र नै त्रिवि अन्तर्गतका सबै ठाउँमा बाँडियो । चरम लापरवाहीले परीक्षा हलदेखि अन्य ठाउँहरुमा विद्यार्थीहरू निकै आक्रोशित भए । 

‘विद्यार्थीहरू सत्रभरि पढेर आफूलाई तयार पारेर परीक्षा दिन परीक्षास्थल पुगेका हुन्छन् । एकपल्ट नभएर तीन तीन पल्टसम्म हामीले उक्त परीक्षामा भोगेको कुराले हामीलाई कति मार परेको छ भन्ने कुरा हामीलाई थाहा छ ।’ उक्त परीक्षामा सहभागी भएकी शंकरदेवमा छैटौँ सत्र बीबीए पढिरहेकी ईश्वरी गौतम भन्छिन्, ‘त्रिविजस्तो जिम्मेवार संस्थाले यसमा मतलब राखेको जस्तो लाग्दैन । अचम्म र आश्चर्य त दोस्रोपटक परीक्षा दिएर आउँदा बेलुका त्यो परीक्षा पनि स्थगित भएको अनि कारण पनि नखुलाइएको कारण हामी आक्रोशित हुन बाध्य भएका थियौँ ।’ 

त्रिविले २०७८ साउन २४ मा लिएको बीएस्सी प्रथम वर्षको प्रश्नपत्रमा पनि त्रुटि भएको विद्यार्थीहरूले जनाएका थिए । एनालिटिकल ज्योमेट्री एण्ड भेक्टर एनालिसिस विषयका ५ वटा प्रश्नमा त्रुटि भएको विद्यार्थीहरूको भनाइ थियो । ७५ को पूर्णाङ्क रहेको विषयका १९ नम्बरको प्रश्नमा त्रिविले त्रुटि गरेको विद्यार्थीहरूको दाबी थियो ।

त्रिविमा लामो समय प्राध्यापन गरेका शिक्षाविद् प्राडा विद्यानाथ कोइराला भन्छन्, ‘त्रिविको प्रमुख समस्या भनेको यहाँको राजनीतिक हस्तक्षेप हो । राजनीतिक नियुक्तिको समस्याले त्रिवि ग्रसित भएको छ । र, दलको आडमा भएको नियुक्तिले विद्यार्थीको जीवन धराशायी बन्न पुगेको छ । प्रश्नपत्र जस्तो संवेदनशील प्रसंगमा पनि यस खालका गैरजिम्मेवारमय क्रियाकलाप हुनु भनेको बेवास्ताको पराकाष्ठा हो ।’ 

प्राडा कोइरालाका अनुसार प्रश्नपत्रमा लापरवाह गर्नेहरूलाई अल्पकालीन समाधान भनेको समिति बनाएर सजाय दिनु हो । तर दीर्घकालीन समाधान भनेको शिक्षकहरूमा आउनुपर्ने चिन्तन नै हो । व्यवहारिक शिक्षा हुनुपर्छ भन्ने सोच प्राध्यापकमा आउन पर्‍यो । र, व्यवहारमा जोडिने शिक्षालाई प्राथमिकता दिनुपर्यो । यो भयो भने प्रश्नपत्र दोहोरिने जस्तो कुरा हुन सक्दैन । 

त्रिविबाट नै ५ वर्ष अघि बीबीए सकाएका मोहन खनाल भन्छन्, ‘हामीले बीबीए पढ्दा पनि त्रिवि त्यति अछुतो थिएन । प्रश्नपत्र मिलेको कुरा हामीले पढ्दा पनि एकपटक भएको थियो । तेस्रो सत्रमा उक्त घटना भएको कुरा सम्झना छ । त्रिविले बिस्तारै अब यस्तो घटना गर्न कम गर्ला र आफूलाई सुदृढ गर्दै लग्ला भन्ने लागेको थियो । तर यस्तो घटनाले निरन्तरता पाउनु लज्जास्पद हो । यसले त्रिवि हरेक वर्ष ओरालो लाग्दै छ भन्ने प्रमाण हो ।’  

त्रिवि अन्तर्गतका क्याम्पसमा अध्यापन गरिरहेका एक शिक्षक भन्छन्, ‘हामीले हिजो पनि यस किसिमका कुराहरूसँग साक्षात् गरेको हो र अहिले पनि यस्ता कुराहरू आइरहेका छन् । म त्रिवि अन्तर्गतको संस्थामा अध्यापन गर्छु भन्दा नै निकै टीका टिप्पणी सुन्नु पर्ने भएको छ ।’ उनी थप्छन्, ‘६ महिनाको अवधिमा एउटा प्रश्नपत्र पनि तयार हुँदैन र यसरी हुबहु गर्न पर्छ भने हामी किन विश्वविद्यालय चलाइरहेका छौँ ? र के का लागि ख्याति खोजिरहेका छौँ भन्ने कुरामा त्रिवि अब जवाफदेही हुनैपर्छ ।’ 

शिक्षकहरूले विद्यार्थीको भविष्य र शैक्षिक भविष्यमाथि कति जिम्मेवारीबोध गरेका छन् भन्ने कुरा यसबाट उदांगो हुने तर्क राख्छन् युवा शिक्षाविद् एवम् विवेकशील साझाका नेता मिलन पाण्डे । उनी भन्छन् ‘यसलाई धेरै ढंगबाट बुझ्नुभन्दा पनि प्रश्नपत्रमाथि यसरी खेलबाड गर्नु भनेको चरम लापरबाही नै हो । हाम्रा शिक्षकहरू र शैक्षिक निकायले के कुरा बिर्सिएको देखिन्छ भने परीक्षा भनेको विद्यार्थीको मात्र नभएर शिक्षक र शैक्षिक निकायको पनि हो । विद्यार्थीको मात्र नभएर यसले शिक्षक र संस्थाको पनि मूल्याङ्कन गर्छ ।’ 

साथै कपी पेस्ट गर्ने झुर प्रवृत्तिबाट मुक्ति पाउन हामीले पुराना शिक्षकलाई बिदा गर्नुपर्ने तर्क राख्दै मिलन पाण्डे थप्छन् ‘अब पुराना शिक्षकहरूलाई धन्यवाद दिँदै गोल्डेन ह्यान्ड सेक गर्दै बिदा गर्नुपर्छ र फ्रेस एवम् जागरूक जमातलाई अध्यापनमा भित्र्याउनु पर्छ । साथै, यो घटनाको निम्ति चुस्त समिति बनाएर जाँच गरेर कारबाही गरिएन भने त्रिविको नाममाथि निरन्तर दाग लागिरहने छ ।’  

अब त्रिविले आफ्नो कार्यशैलीमाथि पूर्ण परिवर्तन गर्नैपर्छ । यो नै एकल विकल्प हो । के त्रिविले यसमा कुनै सख्त कदम चाल्न सक्ला ?  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप