शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धनको विकल्पमा बाबुरामले रोज्न सक्छन् माओवादीलाई ?

बिहीबार, २६ साउन २०७९, २१ : १६
बिहीबार, २६ साउन २०७९

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्नेबारे सर्वत्र चासो बढेको छ । एकातिर सत्तारुढ गठबन्धन, अर्कोतिर नेकपा एमालेसहितका साना दलबीच तालमेलको चर्चा भइरहँदा नेपाल समाजवादी पार्टी कसरी अघि बढ्छ भन्नेबारे टुंगो लाग्न बाँकी छ । हाल कार्यसमिति चयन तथा गठबन्धन एवं संगठन विस्तारको सन्दर्भमा सो पार्टीको निरन्तर बैठक चलिरहेको छ ।

तीनकुने, सुविधानगरस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरु केही दिनदेखि बैठकमा जुटेका छन् । पार्टीभित्र अहिले दुईवटा विकल्पमा केन्द्रित भएर छलफल भइरहेको छ । पहिलो विकल्प भनेको पाँच दलीय गठबन्धनमै सामेल हुने र दोस्रो विकल्प भनेको माओवादी केन्द्रसँग गठबन्धन बनाउने ।

साउन २४ गते सो पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धनकै विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाबाट सकारात्मक तर विश्वास गर्न नसकिने आवश्वासन आएपछि उनीहरुले अर्को विकल्पको बारेमा पनि बहस चलाएका छन् । पाँच दलीय गठबन्धनमा सामेल हुन सकिएन भने माओवादी केन्द्रसँग गठबन्धन बनाउने लगभग पक्का रहेको स्रोतले दावी गरेको छ ।
नेपाल समाजवादी पार्टीसँग गठबन्धन गर्दा माओवादी केन्द्रले पाँचदलीय सत्ता गठबन्धन छाड्दैन । माओवादी केन्द्र सत्ता गठबन्धनमै रहेको अवस्थामा नेपाल समाजवादी पार्टीसँग अर्को गठबन्धन हुने बताइएको छ ।

माओवादीबाटै अलग भएर बाबुराम भट्टराई नयाँ शक्ति, समाजवादी पार्टी, जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीमा आइपुगेका छन् । पार्टी अलग भएपनि सँगै काम गर्नुपर्छ भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामबीच पछिल्लो समय नियमित छलफल भएको हो ।
नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भने, ‘गठबन्धन नै हुन्छ, भइ नै हाल्छ वा निर्णय नै भइसक्यो भन्ने होइन तर माओवादी केन्द्र पनि एउटा विकल्प हो भन्ने कोणबाट छलफल सुरु भएको हो ।’

पाँच दलीय गठबन्धनसँग कुरा मिलेन भने अर्को विकल्प के त भनेर त्यसका लागि माओवादी केन्द्रसँग पनि संवाद र छलफल अगाडि बढाएको उनको भनाइ छ ।

बाबुरामले नयाँ शक्ति गठन गरिसकेपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीसँग पटक पटक छलफल गरेका थिए । बाबुरामलाई माओवादीमा फर्किन प्रचण्डले बारम्बार आह्वान गर्दै आएका छन् । तर बाबुरामले माओवादी केन्द्रमा नफर्किने, बरु यसले आफ्नो विचार र कार्यदिशामा परिवर्तन ल्यायो भने विचार गर्न सकिन्छ भनेर प्रचण्डलाई जवाफ दिएका थिए ।

पछि नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेपछि बाबुरामले प्रचण्डलाई समाजवादी केन्द्र खोल्नका लागि प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव पछिल्लो समय निकै चर्चामा आएको थियो ।

नेपाल समाजवादी पार्टी गठन गरेपछि बाबुरामले माओवादीसँग गठबन्धनका लागि प्रयास गरेका हुन् । दुई नेताबीच छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप