शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनलाई मधेस प्रदेशमा भागबण्डा मुख्य चुनौती

कांग्रेस र जसपामा प्रतिस्पर्धा, कुन दल कति शक्तिशाली ?
बिहीबार, ०९ भदौ २०७९, १३ : ०३
बिहीबार, ०९ भदौ २०७९

सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।

यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको ठाउँ मधेस नै रहेको भन्दै अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि मधेसमै जोडबल गरेका छन् ।

मधेस प्रदेशमा प्रतिनिधिसभा अन्तर्गत ३२ निर्वाचन क्षेत्र छन् । त्यसमा ५० प्रतिशत कांग्रेसले लिने र बाँकी ५० प्रतिशत गठबन्धनका अन्य घटकले लिनुपर्ने कांग्रेसको तर्क छ । तर जसपा नेपालले प्रत्यक्षतर्फ कम्तीमा पनि १० सिट आफूले पाउनुपर्ने दाबी गरेको छ । खासगरी कांग्रेस र जसपाबीच नै सिट बाँडफाँटमा सकस छ ।

गठबन्धन घटककै एक नेताका अनुसार सकेसम्म सहमति खोज्ने तर सहमति नजुटेको अवस्थामा मधेस प्रदेशमा एक्लाएक्लै चुनाव लड्ने अवस्था पनि आउन सक्छ । एक्लाएक्लै चुनाव लड्ने अवस्था आएमा कांग्रेसले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गरेर जाने आन्तरिक तयारीसमेत गरिरहेको बताइन्छ ।

कांग्रेसका एक नेताले भने, ‘मधेसमा जसपा पहिलाको जस्तो अवस्थामा छैन, उपेन्द्र यादवका साथमा रहेका कतिपय नेता बाबुराम भट्टराईको साथमा गइसकेका छन् भने कतिपय लोसपातिर छन् । उहाँसँग भएका नेताहरु पनि सन्तुष्ट छैनन्, त्यस अवस्थामा जसपाले मागे जति सिट दिन सकिँदैन ।’

मधेसमा कसको शक्ति कति ?

२०७४ को प्रतिनिधिसभा चुनावमा मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल पहिलो र कांग्रेस दोस्रो स्थानमा थियो । तेस्रो स्थान माओवादी केन्द्रले ल्याएको थियो भने चौथो स्थानमा एमाले थियो ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय चुनावमा मधेस प्रदेशमा कांग्रेस पहिलो स्थानमा आएको छ । कतिपय स्थानीय तहमा गठबन्धनबिना नै जितेको कांग्रेसले आसन्न निर्वाचनमा गठबन्धनबाट आफूले धेरै सिट पाउनुपर्ने दाबी गरेको हो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेसबाट प्रत्यक्षतर्फ तत्कालीन संघीय समाजवादी फोरमले ९ सिट जित्दा कांग्रेसले ६ सिट जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरम र राजपा नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । पछि जसपा विभाजन हुँदा तत्कालीन संघीय समाजवादी फोरमका ९ जना सांसदमध्ये एक जना लोसपा नेपालमा सामेल भएका छन् । उता लोसपाबाट दुई सांसद आएका कारण हाल जसपासँग प्रत्यक्ष जितेका १० जना सांसद छन् ।

मधेस प्रदेशमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ पाँच सिट जितेको थियो । त्यसमध्ये प्रभु साह एमालेतिर गइसकेका छन् । माओवादी केन्द्रसँग हाल प्रत्यक्ष निर्वाचित चार सांसदमात्र छन् । एमालेले प्रत्यक्षतर्फ दुई सिट जितेको थियो । ती दुवै एमालेसँगै छन् ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीसँग मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित एक जना पनि सांसद छैनन् । प्रदेशसभामा भने उसका १३ जना सांसद छन् ।

कुन जिल्लामा कसले कति जिते ?

२०७४ को निर्वाचनमा सप्तरीका चार निर्वाचन क्षेत्रमध्ये कांग्रेस, माओवादी र लोसपा (तत्कालीन राजपा) ले एक–एक सिट जित्दा जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले दुई सिट जितेको थियो ।

त्यस्तै सिरहाका चार निर्वाचन क्षेत्रमध्ये कांग्रेस, माओवादी केन्द्र, तत्कालीन राजपा र एमालेले एक–एक सिट जितेकोमा राजपाबाट निर्वाचित राजकिशोर यादव हाल जसपामा छन् ।

यता धनुषामा माओवादी केन्द्र, जसपा, लोसपा र एमालेले एक–एक सिट जितेका छन् । तर, तत्कालीन संघीय समाजवादी फोरम (जसपा)बाट निर्वाचित उमाशंकर अरगरिया हाल लोसपामा छन् ।

महोत्तरीमा माओवादी केन्द्र र जसपाको एक–एक सिट छ भने अन्य दुई सिट लोसपाले जितेको छ ।

सर्लाहीमा कांग्रेस, माओवादी केन्द्र, लोसपा र जसपाले १–१ सिट जितेकोमा लोसपाबाट निर्वाचित महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीमा छन् ।

रौतहटमा गठबन्धन दलमध्ये कांग्रेसले दुई सिट जित्दा माओवादीले एक र तत्कालीन राजपाले एक सिट जितेका थिए । माओवादीबाट निर्वाचित प्रभु साह हाल एमालेमा छन् भने तत्कालीन राजपाबाट निर्वाचित अनिल झा लोसपामा छन् ।

बारामा कांग्रेस र लोसपाले एक–एक र जसपाले दुई सिट जितेको थियो ।

पर्सामा तत्कालीन संघीय समाजवादी फोरमले तीन र तत्कालीन राजपाले एक सिट जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित एक जना हाल लोसपामा छन् ।

स्थानीय चुनावको नतिजा

मधेस प्रदेशमा भएको २०७४ र २०७९ को स्थानीय तहको चुनावमा कांग्रेस एक नम्बरको पार्टी देखिन्छ । प्रतिनिधिसभा २०७४ को चुनावमा दोस्रो स्थानमा सीमित भए पनि कांग्रेसले दुई वटै स्थानीय तहको चुनावमा पहिलो स्थान हासिल गरेको छ ।

२०७४ को स्थानीय चुनावमा कांग्रेसले ४० वटा पालिका जितेको थियो भने २०७९ मा ४६ वटा पालिका जितेको छ । मधेस प्रदेशको स्थानीय तहमा जसपा दोस्रो छ । उसले २०७४ को स्थानीय तहको चुनावमा २६ र २०७९ मा भएको निर्वाचनमा २५ पालिका जितेको छ ।

२०७४ को स्थानीय तह चुनावमा २१ पालिका जितेको माओवादी केन्द्रले २०७९ को स्थानीय तह निर्वाचनमा ९ पालिका जितेको छ । एमालेले १८ र नेकपा एकीकृत समाजवादीले ६ वटा पालिका जितेको छ ।

२०७९ को स्थानीय तहको चुनावमा मधेसबाट कांग्रेसले दुई हजार १९६ जनप्रतिनिधि जिताएर पहिलो स्थान कायम राखेको छ भने जसपा एक हजार २०८ जनप्रतिनिधि जिताएर दोस्रो स्थानमा छ ।

२०७४ को प्रतिनिधिसभा चुनाव र २०७४ तथा २०७९ को स्थानीय तहको चुनावमा गठबन्धन दलले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट भएमा गठबन्धनभित्र कांग्रेस र जसपाबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ ।

के भन्छन् नेताहरु ?

कांग्रेसलाई ६० प्रतिशत चाहिन्छ : कृष्ण यादव

(मधेस प्रदेश सभापति, कांग्रेस)

मधेस प्रदेशको प्रत्येक जिल्लामा कांग्रेस पहिलो पार्टी बनेको छ । त्यसकै आधारमा हाम्रो उपस्थिति हुनुपर्छ । हामी आफ्नो बलमा पनि चुनाव जित्न सक्छौं तर लोकतन्त्रको रक्षाका लागि गठबन्धनको आवश्यकता छ र सोही आवश्यकताको आधारमा हामी गठबन्धन बनाउन तयार भएका छौं । मधेसमा कांग्रेसको जे पोजिसन छ, त्यही आधारमा सिट पाउनुपर्ने हाम्रो माग छ । हामीले ६० प्रतिशत सिट डिमाण्ड गरेका छौं । तर त्यसमा छलफल हुन बाँकी छ । छलफल भयो, सहमति बन्ने वातावरण बन्यो भने त्यसमा तलमाथि हुनसक्छ । तर सबै दल आआफ्नो अडानबाट पछाडि हटेर सहमतिको वातावरण बनाउनुपर्छ । अहिलेसम्मको अवस्था हेर्दा पाँच दलीय गठबन्धन कायमै रहने देखिएको छ । यो गठबन्धनमा लोसपा आउँदैन जस्तो लाग्छ मलाई ।

लोसपाको सिटमा पनि जसपाको दाबी : रामबाबु यादव

(मधेस प्रदेश अध्यक्ष, जसपा नेपाल)

मधेस प्रदेशमा हामी ५०–५० मा सहमति गर्न चाहन्छौं । मधेसमा विगतमा प्रतिनिधिसभामा आएको सिटको आधारमा हामी सबैभन्दा ठूलो पार्टी छौं । स्थानीय तहमा पनि हाम्रो राम्रै मत आएको छ । त्यसको आधारमा प्रतिनिधिसभामा ५० प्रतिशत र प्रदेशसभामा ६० प्रतिशत सिट हामीलाई चाहिन्छ । यसमा आन्तरिक छलफल चलिरहेको छ । सबै दल आआफ्नो अडान छाडेर सहमतिमा आए कुरा मिल्न सक्छ । यसअघि जसपा र लोसपाबीच गठबन्धन भएको थियो । यदि लोसपा गठबन्धनमा आएन भने लोसपाले जितेको ठाउँमा पनि जसपाले दाबी गर्छ ।

प्रत्येक जिल्लाबाट एक–एक सिट : विश्वनाथ साह

(स्थायी कमिटी सदस्य, माओवादी केन्द्र)

गठबन्धनको केन्द्रमै अहिले कुराकानी मिलेको छैन । दिनदिनै बैठक बसिरहेको छ । अहिले प्रदेशमा प्रवेश नै गरेको छैन । समग्र देशमा कुन दलले कति सिट लिने भन्नेमा सहमति बनेको छैन । देशभर कुन दलले कति सिट लिने भन्ने टुङ्गो लागेपछि मात्र प्रदेशको विषयले प्रवेश पाउँछ । अहिलेसम्म हामीले पनि पार्टीभित्र मधेस प्रदेशमा कति लिने, कति दिने कुरा गरेका छैनौं । मधेस प्रदेशमा पार्टीका बैठक पनि बस्न सकेको छैन । यद्यपि कम्तीमा प्रत्येक जिल्लामा एउटा सिट पर्ने गरी हामीले डिमाण्ड राख्छौँ ।

सहमतिका लागि कांग्रेसले आफ्नो अडान छाड्नुपर्छ : धर्मनाथ साह

(मधेस प्रदेश इन्चार्ज, नेकपा एकीकृत समाजवादी)

समग्र देशभर कुन दलले कति सिट पाउँछ, त्यसको आधारमा मात्र प्रदेशको भागबण्डा तय हुन्छ । अहिले केन्द्रमै कुरा मिलेको छैन । नेताहरुको बीचमा नियमित छलफल भइरहेको छ । यो हप्ताभित्र सायद टुङ्गिन्छ होला ।

यद्यपि हामीले मधेस प्रदेशमा ४–५ वटा सिट डिमाण्ड गर्छौं । प्रदेशसभामा १६–१७ वटा सिट डिमाण्ड गर्छौं । यो हाम्रो डिमाण्ड हो तर यसमा छलफल गरेर तलमाथि गर्न सकिन्छ । यो हप्ताभित्र टुङ्गिने कुरा छ । यदि कांग्रेससँग गठबन्धनमा सिटको कुरा मिलेन भने माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी लगायत अन्य दलहरु मिलेर अर्को गठबन्धन बनाएर पनि अगाडि बढ्न सकिन्छ । सहमतिका लागि कांग्रेसले आफ्नो अडानबाट पछाडि हट्नुपर्छ । हामी पनि एक स्टेप पछाडि हट्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप