बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष प्रचण्ड

शुक्रबार, ०२ जेठ २०८२, १२ : २५
शुक्रबार, ०२ जेठ २०८२

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राखेका छन् । 

प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैंँ प्राथमिकतामा राखेको दाबी गरे। आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उनले भने,“विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।”

अध्यक्ष प्रचण्डले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए । 

पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाउँदै सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे । उनले भने, “सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन ।” अध्यक्ष प्रचण्डले कांग्रेस—माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे ।  

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिराजमणि पोखरेललगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप