जुटखेतीमा किसानको आकर्षण घट्दै
तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ ।
लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।
कुनै समय जुटखेतीका लागि उर्वर मानिने सुनसरीको दक्षिणवर्ती सीमावर्ती क्षेत्र नरसिंह भोक्राहा गाउँपालिका, हरिनगर गाउँपालिकाको गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुर, कोसी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर र हरिपुर क्षेत्रमा जुटखेती अहिले आधाभन्दा कम भइसकेको छ ।
त्यसैगरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनुवारी, साहेबगञ्ज, इनरुवा नगरपालिकाको बबिया र जल्पापुरलगायतका क्षेत्रका किसानले लगाउँदै आएका जुट यस वर्ष आधाभन्दा कम छ । थोरै जग्गामा जुटखेती भए पनि मजदुरको अभावमा अहिलेसम्म जुट खेतमै सुक्ने अवस्था आएको स्थानीय किसान वीरेन्द्र यादवले बतए । उनले भने, “स्थानीय सरकारले जुटखेती गर्नेका लागि राहत दिए धेरै खेती गर्ने थियौँ, कहिले दिएन ।”
सुनसरीका किसानले केही वर्ष अघिसम्म जुटबाट राम्रो आम्दानी गर्ने गर्थे । यतिबेला उनीहरू व्यावसायिकरूपमा जुटखेती गर्थे । तर अचेल भने दाउराका लागि मात्रै जुटखेती गर्ने गरेको कोसी गाउँपालिकाका किसान ललित यादवले बताए । उनी भन्छन्, “मेहेनत गरेर खेती लगाउने समयमा जन (मजदुर) पा उँदैन, दिनरात गरेर खेती लगायो काट्नेदेखि बिक्री गर्न समस्या हुन्छ ।”
आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं १ मा सात हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । यसबाट १२ हजार नौ सय ५९ मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७६/७७ मा जुटखेती सात हजार पाँच सय ५५ हेक्टर क्षेत्रफलमा लगाउँदा १० हजार एक सय ६५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आव २०७७/७८ मा सात हजार चार सय १५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । पछिल्लो केही वर्षयता जुटखेती क्रमिकरूपमा घट्दै गएको जुट अनुसन्धान केन्द्र इटहरीका प्रमुख तीर्थराज रिजालले बताए । उनले नगदे बाली भए पनि खेती गर्ने प्रविधि झन्झटिलो भएकाले हरेक वर्ष घट्दै गएको जानकारी दिए ।
नेपालमा उत्पादित कच्चा जुट भारत र बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो । पछिल्लो समय भने नेपालमा रहेका उद्योगलाई धान्न नसकेर उद्योग बन्द भएका छन् । यसरी उद्योग बन्द हुँदा यसकोे प्रत्यक्ष असर सरकारलाई पर्ने गर्दछ । तसर्थ जुट किसानलाई प्रोत्साहन गर्न विभिन्न प्रकारको कार्यक्रम तीनै तहको सरकारले ल्याउन आवश्यक देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण