सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

बिहीबार, २३ भदौ २०७९, १२ : १२
बिहीबार, २३ भदौ २०७९

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए ।

‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’

एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनले बताए । ‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए,’ सिंहले भने, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहि रहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँच दलीय गठबन्धन बनेको बताउँदै महामन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने बताए ।

अहिलेको पाँच दलीय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णयमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए । ‘एमसीसी, नागरिकता विधेयक जस्ता केही गलत निर्णय यो सरकारले गरेको छ,’ सिंहले भने, ‘त्यसमा हामीले सहमति गरेका छैनौं, त्यसको विरोधमा हामी जनतासामु गएका छौं ।’

गठबन्धनमा सिट बाँडफाँडको मुद्दा पेचिलो बनेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘पाँच दलले यसअघि जितेका स्थानलाई यथावत राखेर एमालेले जितेका स्थानमा भागबण्डा गर्ने हाम्रो सहमति हो,’ सिंहले भने, ‘तर अहिले ठूला दल त्यस विपरीत बढी सिटमा दाबी गरिरहेका छन्, यसले केही समस्या निम्त्याउन सक्दछ ।’  राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दाबी गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप