बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवारी सङ्कलन गर्न यस्तो छ आयोगको तयारी

शुक्रबार, २१ असोज २०७९, १५ : २६
शुक्रबार, २१ असोज २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भइसकेको बताए । उनले स्थापना भएका कार्यालयहरूमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरू पनि पूरा भएको बताए । स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रवार र शनिवारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताए । उनले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रको उम्मेदवारी सङ्कलन गर्नुपर्ने बताए । 

सह प्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण सङ्कलन गर्नुपर्ने बताए। निर्वाचन अधिकृतहरूले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताए।

सह प्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहिताले सहज बनाएको बताए। उनले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताए । उनले ठुलो दलहरू दल दर्ता गर्न जाँदा  भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्न सक्ने बताए । उनले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणबद्ध गराउने ? भन्ने कुराको छलफलसँगै अनुशासन र आचारसंहिताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताए ।

सह प्रवक्ता अर्यालले मनोनयन दर्ताका लागि जाने क्रममा भिडभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको बताए । उनले मनोनयनका लागि एकैपटक भीड नबढाउन दर्ता स्थल फरक फरक गर्ने, ठुला दलहरूको लागि समय मिलाउने र आचारसंहिता अनुसार २५ जना मात्रै सहभागी बन्ने हो भने व्यवस्थित रूपमा मनोनयन प्रक्रिया अघि बढ्ने बताए ।

उनले भने, ‘अहिलेको निर्वाचन व्यवस्थापन प्रक्रियामा जिल्ला निर्वाचन व्यवस्थापन समिति पनि छ । जहाँ मुख्य निर्वाचन अधिकृत लगायत प्रमुख जिल्ला अधिकारीहरू पनि त्यो समितिमा हुनुहुन्छ । त्यस सम्बन्धमा पहिला छलफल पनि भइसकेको हुन्छ । अर्को स्थानीय प्रशासनको सबैभन्दा सुरक्षात्मक दृष्टिकोणले चासोको विषय भनेको मनोनयनको दिन र त्यसको वरिपरिको क्षेत्र हुनेछ । जसले गर्दा सुरक्षा व्यवस्था एकदम चनाखो भएर बसेको हुन्छ । एकैपटक भीड नबढाउनको लागि दर्ता स्थल फरक फरक एउटा कुरा, अर्को समय मिलाएर गर्नुपर्ने र भीड अनियन्त्रित सङ्ख्यामा मानिसहरू नआएर २५ जना भन्दा बढी नहुने गरी आचारसंहिताले पनि निर्देशन गरेको हुनाले यी सबै कुरालाई व्यवस्थापन गरेर मनोनयन दर्ता अघि बढ्नेछ । अव्यवस्थित हुने सम्भाव्य पक्षलाई पूर्व तयारीका साथ व्यवस्थित गर्ने प्रयास भएको हुनेछ । दलहरूको निर्धारित व्यक्ति हुनुहुन्छ तर पनि असहमति प्रकट गर्नेले स्वतन्त्र उम्मेदवारी दिन पनि राजनीतिमा सहभागी बन्ने अधिकारलाई सुनिश्चित गर्नको लागि उम्मेदवारी दिन पाउने स्थिति रहेको हुनाले त्यो प्रक्रियाबाट पनि उहाँहरूको उम्मेदवारी दर्ता हुने व्यवस्था यो प्रणालीमा छ ।’

सह प्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप