मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङको नयाँ प्रतिस्पर्धी मैदानमा, कसको शक्ति कति ?

आइतबार, ३० असोज २०७९, १७ : १५
आइतबार, ३० असोज २०७९

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता शेरबहादुर तामाङले नयाँ प्रतिद्वन्द्वी पाएका छन् । विगतमा राप्रपाका पशुपति शमशेर राणा, माओवादी केन्द्रका दावा तामाङलगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका तामाङले यसपटक नेपाली काँग्रेसका मोहन बस्नेतसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । 

यसअघि बस्नेत सिन्धुपाल्चोक १ बाट चुनाव लड्दै आएका थिए । तर, सत्ता गठबन्धनमा भागबण्डा मिलाउन उनी निर्वाचन क्षेत्र परिर्तन गरेर तामाङलाई टक्कर दिन क्षेत्र नम्बर २ मा पुगेका हुन् । एमाले उम्मेदवार तामाङ सो क्षेत्रका गाउँबस्ती पुगेर घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् भने कांग्रेसका उम्मेदवार बस्नेत डेंगी भएका कारण आराम गरेर बसेका छन् । सत्ता गठबन्धनका स्थानीय पार्टी कमिटीसँग छलफल गरेर चुनावी अभियान अघि बढाउने बस्नेतको योजना छ ।  

यता शेरबहादुर तामाङ भने इन्द्रावती गाउपालिका, मेलम्ची, सिन्धुकोट क्षेत्रमा गाउँबस्ती पुगेर भोट माग्न थालिसकेका छन् । आइतबार उनले सिन्धुकोट र इन्द्रावतीमा घरदैलो गरेका छन् । 

यस्तो छ स्थानीय तह चुनावको अंकगणित  
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ । 
गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २ स्थानीय तह हेलम्बु र मेलम्ची नगरपालिकामा विजयी हासिल गरेको थियो । एमालेले भने इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकामा विजयी भएको थियो । 

यता चौतारा साँगाचोक गढी माओवादी केन्द्रले जितेको थियो । गत स्थानीय चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ भित्र पर्ने नगरपालिका तथा गाउँपालिकामा पाएको मतको आधारमा दलगत रुपमा एमाले केही अगाडि देखिन्छ । तर गठबन्धन दलको मत मिसाउने हो भने एमाले कमजोर देखिन्छ । 

गत चुनावमा यो क्षेत्रका स्थानीय तहका वडाध्यक्षले पाएको मत हेर्दा  एमालेले ३१ हजार ७ सय ७६ मत ल्याएको थियो । नेपाली कांग्रेसका वडाध्यक्षहरुले २९ हजार ३ सय २ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ हजार ७९ मत ल्याएको थियो । राप्रपाले ५ हजार ९ सय ३२ मत र नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ६३ मत ल्याएका थिए । 

यस आधारमा यहाँ सत्ता गठबन्धनले पाएको मत एक ठाउँमा राख्दा ४७ हजार ४४ मत हुन्छ । जुन एमालेले पाएको मत भन्दा १५ हजार २ सय ६८ मत बढी हो । एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने भनेपनि सिन्धुपाल्चोक–२ मा तालमेल भएको छैन । २०५६ सालको निर्वाचनसम्म पशुपति शमशेर राणाले चुनाव जित्दै आएको यो निर्वाचन क्षेत्रमा राप्रपा चौथो शक्तिका रुपमा रहेको छ । यहाँ राप्रपाबाट नरसिंह श्रेष्ठ चुनावी मैदानमा छन् । 

राप्रपाका असन्तुष्ट जस्मिन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दिएकोमा उनले फिर्ता लिएकी छिन् । यस्तै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका फणिन्द्र दाहाल र योगेन्द्र सिग्देल राप्रपाका असन्तुष्ट पक्षको भोट तान्ने रणनीति बस्नेतको छ । 

यस्तै २ कार्यकाल चुनाव जितेर पनि तामाङले विकास गर्न नसकेका क्षेत्रका एमालेका  असन्तुष्ट पक्षको मत आउने कांग्रेसका स्थानीय कार्यकर्ता बताउँछन् । 

पुराना उम्मेदवार बस्नेत, जित हार बराबरी  
बहुदलीय प्रजातन्त्रपछि  भएको २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा उनी सिन्धुपाल्चोक १ मा एमालेका अमृत बोहोराका प्रतिस्पर्धी थिए । सो चुनावमा उनी पराजित भएपनि २०५६ को चुनावमा बोहोरालाई पराजित गर्दै विजयी बनेका थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजय भोगेका बस्नेत २०७० सालमा विजयी भएका थिए । २०७४ सालमा भएको निर्वाचन भने बाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटासँग पराजित भएका थिए । 
क्षेत्र नंबर १ मा चुनावी प्रतिस्पर्धामा भिजेका बस्नेत पहिलो पटक क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गर्न आइपुगेका हुन् । 

यता सिन्धुपाल्चोक क्षेत्र नंबर २ एमाले उम्मेदवार शेरबहादुर तामाङको स्थायी जन्मथलो भएको क्षेत्र समेत हो । यो क्षेत्रमा उनले २ निर्वाचन जितेका छन् भने २ निर्वाचनमा पराजय भोगेका छन् । २०५६ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा नेकपा मालेबाट उम्मेदवार बनेका उनी राप्रपाका नेता पशुपति शमशेर राणासँग पराजित भएका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादीका दावा तामाङसँग पराजित भएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा सिन्धुपाल्चोक ३ बाट विजयी भएका उनी २०७४ सालको चुनावमा बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए । 

यी हुन् सिन्धुपाल्चोक २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार 
प्रतिनिधि सभा तर्फ बस्नेत र तामाङ सहित सिन्धुपाल्चोक २ बाट १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका मोहन बस्नेत, एमालेबाट शेरबहादुर तामाङ, राप्रपाबाट नर सिंह श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मीप्रसाद कुसी, जनमत पार्टीबाट मंगल सिंह कुसी रहेका छन् । 

यस्तै राप्रपा नेपालबाट दिलिप विक, नेकपा मालेबाट कविराज गिरी, मंगोल अर्गनाइजेशनबाट कर्णवीर स्यांवु लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, आपमपा नेपालबाट श्यामबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माया गुरुङ, स्वतन्त्रबाट धु्रव पराजुली र बद्रीप्रसाद चौलागाँई रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप