शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सदाबहार प्रतिपक्षी’ सुवाल फेरि ‘ब्याटल ग्राउण्ड’मा, नेमकिपाको गढमा यस्तो छ चुनावी भिडन्त

भक्तपुर–१ मा नेमकिपालाई दिन सक्लान् गठबन्धन र एमालेले टक्कर ?
बिहीबार, ०३ कात्तिक २०७९, १० : ५९
बिहीबार, ०३ कात्तिक २०७९

 भक्तपुर क्षेत्र नम्बर १ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ नेपाल मजदुर किसान पार्टी अपराजित रहँदै आएको छ । २०४८ सालदेखि २०७४ सालसम्म भएका संसदीय निर्वाचनमा कुनै पनि दलले भक्तपुर–१ मा नेमकिपालाई पराजित गर्न सकेको छैन ।

गत स्थानीय तहको निर्वाचनमा ठूला भनिएका एमाले, कांग्रेसजस्ता दलका उम्मेदवारले समेत नेमकिपाका उम्मेदवारसँगको प्रतिस्पर्धामा आफ्नो जमानत जोगाउन कठिन संघर्ष गर्नुपर्‍यो ।  आसन्न प्रतिनिधिसभाको निर्वाचनमा यो क्षेत्रमा नेमकिपासँग एमाले र सत्ता गठबन्धन दुई फरक मोर्चाबाट ‘ब्याटल ग्राउण्ड’ मा उत्रिएका छन् । यी दलको चुनौतीलाई जनताको मतले परास्त गर्न सकिने नेमकिपाका सचिव एवं क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवाल बताउँछन् ।

अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सुवाल यो पटक पनि चुनावी मैदानमा छन् । भक्तपुर–१ को प्रदेशसभा (क) मा सुरेन्द्र गोसाई पनि उम्मेदवारको रुपमा दोहोरिएका छन् ।

अघिल्लो प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीको जम्मा एक सिट थियो । नेमकिपाबाट निर्वाचित एकमात्र सांसद प्रेम सुवालले संसदमा सदाबहार प्रतिपक्षी दलको भूमिका निर्वाह गरेका थिए । यो पटक पनि नेमकिपाले उनै सुवाललाई भक्तपुर–१ मा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा अघि सारेको छ ।

नेमकिपाले देश र जनताको हितका विषयमा आवाज उठाएका कारण नै जनताले फेरि निर्वाचित गराउने सुवाल बताउँछन् । सुवालले सामान्य ढंगले चुनावी कार्यक्रम अगाडि बढिरहेको रातोपाटीलाई बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्दै चुनाव लक्षित गतिविधिलाई अघि बढाएको जिकिर गरे ।

उनले भने, ‘पार्टीका सबै साथीहरुलाई निर्वाचन आचारसंहिताभित्र रहेर काम गर्न भनेका छौँ । नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमसत्ता र देशको सीमानाको पक्षमा आवाज उठाउँदै आएको छ । देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेण्डुपहरुको विरोध गर्र्दै आएका छौँ । देशघाती एमसीसी सम्झौता, एसपीपी नामको संयुक्त साझेदारीको विरोध गर्दै आएका छौँ । विदेशीलाई नागरिकता दिने, नेपाली उद्योगी व्यवसायीलाई नाङ्ले पसलमा झार्ने प्रवृत्तिको हामीले विरोध गर्दै आएका छौँ ।’

​स्वास्थ्य, शिक्षा निःशुल्क गराउनुपर्ने आवाज उठाउँदै आएकाले देशभरका जनताले नेमकिपालाई विश्वास गर्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । राष्ट्रवादी अडान र जनताका लागि गरेको काम नै आफ्नो जितको आधार रहेको उनले बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनको तर्फबाट भक्तपुर–१ मा सुनिल गोठेलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । स्थानीय तहको मतपरिणाम हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन दल कमजोर भए पनि प्रतिनिधिसभाको निर्वाचनमा त्यसको असर नपर्ने गोठे बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘स्थानीय तहको चुनाव र प्रतिनिधिसभाको निर्वाचनमा आउने परिणाम धेरै फरक हुन्छ । संघको निर्वाचनमा स्थानीय पार्टीको काम छैन भनेर आम जनताले बुझेकै कुरा हो । विगतका चुनावमा भक्तपुर–१ का जनताले परिवर्तन खोजेका थिए भन्ने कुरा त्यतिबेला आएको मतलाई पल्टाएर हेर्ने हो भने थाहा हुन्छ ।’

अहिलेका मतदाताले नयाँ युवा पुस्तालाई खोजिरहेको उनको भनाइ छ । उनले भने, ‘मेरो उम्मेदवारी र अरुको उम्मेदवारी हेर्दा पनि एउटा फरक पुस्ताको मैले प्रतिनिधित्व गर्छु । स्थानीय तहको भन्दा संघीय चुनाव फरक हुने भएकाले जनताले विश्वास गर्ने आशा लिएको छु ।’

उनले विगतमा पार्टी एक्लै लडेको भएर हार हुने गरेको र अहिले गठबन्धन दल भएकाले निकै सहज भएको र चुनावमा प्रभावकारी ढंगले अगाडि बढ्ने उल्लेख गरे ।

यस्तो थियो विगतका चुनावको मत परिणाम

प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुवालले ३३ हजार ७६ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत पाएका थिए । यस्तै, वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ र विवेकशील साझाका दिपेश न्यौपानेले २ हजार ३ सय ३० मत पाएका थिए ।

यस्तै २०७४ को चुनावमा प्रदेशसभाको क्षेत्र नम्बर (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाई २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी वाम गठबन्धनका रोमन सिलवालले ८ हजार ६३ मत पाएका थिए ।

उता प्रदेशसभा (क) मा पहिलो चुनावमा एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्ण भँडेल विजयी भएका थिए ।

यस्तो थियो स्थानीय तह निर्वाचनको मत परिणाम 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत जोड्दा नेमकिपा अन्य सम्पूर्ण दलको मत एकत्रित गर्दा पनि केही अगाडि देखिन्छ । भक्तपुर क्षेत्र नम्बर १ अन्तर्गत रहेका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका वडामा पाएको मतका आधारमा नेमकिपाले ३३ हजार ८९५ मत पाएको थियो ।  

दोस्रो स्थानमा रहेको एमालेले १४ हजार ११९ मत, कांग्रेसले १३ हजार १३ मत, राप्रपाले ६ हजार २८६ मत र माओवादी केन्द्रले १३ सय ८८ मत पाएको थियो । एकीकृत समाजवादीले केही वडामा आफ्ना उम्मेदवार उठाए पनि नगन्य मत पाएको थियो ।

स्थानीय तहको मत परिणाम हेर्दा भक्तपुर–१ मा सत्ता गठबन्धन दलले १४ हजार ४०१ मत पाएका थिए । यहाँ सत्ता गठबन्धन दलभन्दा नेमकिपा १९ हजार ४९४ मतले अगाडि देखिन्छ । 

यी हुन् भक्तपुर–१ का उम्मेदवार

भक्तपुर क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट ९ उम्मेदवार छन् भने स्वतन्त्रबाट ४ गरी १३ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेमकिपाबाट सुवाल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोठेबाहेक नेकपा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ  । यस्तै जनता समाजवादी पार्टी, नेपालबाट हिरालाल खड्का, राप्रपाबाट भरत बहादुर खड्का र मौलिक जरोकिलो पार्टीबाट बलराम प्रजापति उम्मेदवार छन् ।

यस्तै, नेपालका लागि नेपाली पार्टीबाट अर्जुनप्रसाद नेपाल, राप्रपा नेपालबाट माधव खत्री, नेकपा मालेबाट दीपक लामिछाने, आपमपा नेपालबाट डम्बरबहादुर थिङ उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट अर्जुन कोजू, पुष्पराम गेलाल, सुलोचना छ्वाजु, र गोकर्णप्रसाद गेलाल उम्मेदवार छन् ।

देशभर नेमकिपाका ४५८ जना उम्मेदवार चुनावी मैदानमा

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ४५८ जना उम्मेदवार मैदानमा उतारेको छ ।  यो दलको तर्फबाट ७७ जिल्लामध्ये ५८ जिल्लामा उम्मेदवारी दिइएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेमकिपाले १०९ जना उम्मेदवार उठाएको छ भने  समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० जना उम्मेदवार छन् ।

यसरी प्रतिनिधिसभामा मात्रै नेमकिपाले १९९ जना उम्मेदवार खडा गरेको  सुवालले रातोपाटीलाई जानकारी दिए ।​ प्रदेशसभातर्फ सबै प्रदेशमा गरेर समानुपातिकतर्फ नेमकिपाका १३७ जना उम्मेदवार छन् भने प्रत्यक्षतर्फ १२४ जना उम्मेदवार छन् । प्रदेशसभामा नेमकिपाले कुल २५९ जना उम्मेदवार उठाएको छ ।

निर्वाचनमा जितेको आधारमा मात्र राजनीतिक दलको मूल्याङ्कन गर्न नहुने सुवाल बताउँछन् । उनले भने, ‘निर्वाचन जित्दैमा दल ठूलो हुने र ठिक हुने भए त ३० वर्षमा नेपाली जनाले यति धेरै दुःख पाउनुपर्ने थिएन । नेपाली जनताहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कब्जामा पर्नुपर्ने थिएन । चुनाव जित्दैमा दल ठूलो हुने हैन, हामीले सबै क्षेत्रमा चुनाव नजिते पनि देशको ठूलो भूभागमा हाम्रो संगठन फैलिएको छ ।’

अघिल्लो निर्वाचनमा नेमकिपाको प्रतिनिधिसभामा १ सिट र बागमती प्रदेशमा २ सिट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप