सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत–२ मा प्रतिष्ठाको लडाइँ, सत्तारुढ गठबन्धन तोडियो

‘हेभीवेट’ नेता कँडेलदेखि ‘जेल ब्रेक’ का कमाण्डरसम्म चुनावी मैदानमा
शुक्रबार, ०४ कात्तिक २०७९, १२ : ४७
शुक्रबार, ०४ कात्तिक २०७९

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धामा तीन दशकदेखि निरन्तर चुनावी मैदानमा सक्रिय भएर जित र हारको अनुभव बटुलिसकेका नेतादेखि पहिलो पटक उम्मेदवार बनेकासम्म छन् । चुनावी मैदानमा पूर्व संघीय मन्त्रीदेखि ‘जेल ब्रेक’ का तत्कालीन कमाण्डर, पूर्व शिक्षकदेखि पूर्व एमालेसम्म छन् ।

प्रदेश राजधानी समेत भएको र ‘हेभीवेट’ नेता भएकाले प्रतिनिधिसभा भन्दा प्रदेशसभाको चुनावलाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् । किनकि यहाँ प्रतिनिधिसभातर्फ गठबन्धनभित्र तीनवटै दलको साझा उम्मेदवार भए पनि प्रदेशसभामा दुईवटै क्षेत्रमा गठबन्धन तोडेर नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवारी दिएको छ ।

प्रदेश सभाका दुईवटा क्षेत्रमा त्रिपक्षीय भिडन्तले कसलाई भारी पर्छ ? त्यो भने हेर्न बाँकी नै छ । नेकपा एकीकृत समाजवादीले गठबन्धनको निर्णय विपरीत पार्टीकै टिकटबाट उम्मेदवार खडा गरेकाले अब कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जिकिर गरिसकेको छ ।

गत साउनदेखि नै प्रदेशसभामा आफ्नो भाग माग्दै आएको र केन्द्रबाट सुनुवाई नभएपछि विद्रोह गर्नुपरेको नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्यायले बताए । उनले भने, ‘हामीसँग पनि निर्णायक मत छ, प्रदेशमा सबैसँग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

सोही अनुसार नेकपा एकीकृत समाजवादीमा उम्मेदवार समेत गाउँबस्तीमा आफ्नो जनाधार खोज्दै होमिएका छन् । यद्यपि कांग्रेस–माओवादीले भने अझै पनि नेकपा एकीकृत समाजवादी सहमतिमा आउने आशा गरिरहेका छन् । यदि समाजवादीले उम्मेदवारी फिर्ता लिएन भने प्रदेशसभाको चुनाव रोचक बन्ने छ ।

यामलाल कँडेललाई छैन सहज

प्रदेशसभातर्फ सुर्खेत निर्वाचन क्षेत्र २ (क) मा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । ६६ हजार ६२७ मतदाता रहेको यो क्षेत्रमा एमालेबाट प्रभावशाली नेता यामलाल कँडेल, कांग्रेस–माओवादीका साझा उम्मेदवार कांग्रेसका कालिप्रसाद शाक्य र नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्याय उम्मेदवार छन् ।

यी तीन उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कँडेलले तीन दशक अघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका शाक्य र आफ्नै पूर्व उपाध्यायसँग प्रतिस्पर्धा गर्दैछन् । उपाध्याय–कँडेल कुनै समय एमालेभित्र कडा प्रतिस्पर्धीको रुपमा चिनिन्थे ।

उपाध्यायले ०७० मा पार्टीभित्रैबाट कँडेलविरुद्ध बागी उम्मेदवारी दिँदा जित कांग्रेसका हृदयराम थानीको पोल्टामा परेको थियो । एमालेभित्र कँडेलविरुद्ध लगातार विद्रोह गर्दै आएका उपाध्याय र तीन दशक पहिलेका प्रतिस्पर्धी शाक्यसँगको प्रतिस्पर्धा कँडेलका लागि भारी पर्ने देखिन्छ ।

तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका कारण मुख्यमन्त्री बन्ने अवसर नपाएका कँडेल पुनः मुख्यमन्त्रीको अपेक्षासहित आफूभन्दा जुनियर नेतालाई प्रतिनिधिसभामा उठाएर आफू प्रदेशमै बसेका हुन् । ०७४ मा वाम गठबन्धनबाट २१ हजार २८२ मत प्राप्त गरेका कँडेललाई आसन्न निर्वाचनमा एमाले विभाजन, गठबन्धन र पूर्व सहकर्मीसँगको प्रतिस्पर्धामा जितको ‘हयाट्रिक’ गर्न भने सहज छैन ।

०५१ यता कँडेल लगातार निर्वाचन लड्दै आएका छन् । ०५१  को मध्यावधि निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी एमाले विभाजनपछि मालेतिर लागे । मालेबाट ०५६ को संसदीय चुनावमा उनी पराजित हुनुपर्‍यो ।

पुनः पार्टी एकीकरणपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका कँडेल ०७० मा आफ्ना पुराना प्रतिस्पर्धी कांग्रेसका हृदयराम थानीसँग पराजित भए । संघीयतापछि थानी केन्द्रमै चुनाव लड्दा कँडेल भने प्रदेश झरे ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेले पाएको मत १६ हजार ३८ छ भने कांग्रेसले १५ हजार ४८४ पाएको छ । यद्यपि वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ भने १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ । यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ । यहाँ माओवादी–कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ ।

अर्को प्रतिस्पर्धी समाजवादीले प्रमुखमा पाएको मत भनेको ४६० मात्रै हो । यो आधारमा कांग्रेसलाई माओवादीले इमानदारितापूर्वक सहयोग गरेको खण्डमा शाक्य अगाडि आउन सक्ने देखिन्छ । किनकि स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्र देखिएको अन्तरविरोध अहिले साम्य भएको छ । यसर्थ कँडेललाई चुनाव जित्न त्यत्ति सहज भने छैन ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार उपाध्यायले आफुसँग निर्णायक मत रहेको दाबी गरेका छन् । यहाँ प्रमुख राजनीतिक दल बाहेक स्वतन्त्रसहित सातवटा साना दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

२ (ख) मा ‘जेल ब्रेक’का तत्कालीन कमाण्डरसँग पूर्व शिक्षक र पूर्व एमालेको प्रतिस्पर्धा

सुर्खेत–२ (ख) भनेको सुर्खेतको पश्चिम क्षेत्र हो । ५६ हजार ४७ मतदाता रहेको यो क्षेत्र अन्तर्गत पश्चिमा बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् ।

यहाँ ‘जेल ब्रेक’का तत्कालीन कमाण्डर माओवादीका विन्दमान विष्टसँग पूर्व शिक्षकसमेत रहेका एमालेका ताराकेशर गौतम र पूर्व एमाले नेता मोहनसिंह बडुवाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

०७४ मा एमालेकोसहित १५ हजार ६४८ मत ल्याएर निर्वाचित बनेका विष्टलाई अहिले समाजवादीको उम्मेदवार बनेका जिल्ला अध्यक्ष मोहन बडुवालले सघाएका थिए ।

एमालेबाट सिफारिसमा परेका बडुवालले एमाले–माओवादीबीच समीकरण बन्दा विष्टलाई समर्थन गरेका थिए । त्यसैले पनि बडुवाल यो पटक विष्टलाई समर्थन नगरी आफै चुनावी मैदानमा होमिएका हुन् ।

अखिल क्रान्तिकारीको पूर्व महासचिव हुँदै माओवादीको केन्द्रीय सदस्यसमेत रहेका विष्टलाई बडुवाल र गौतमसँगको प्रतिस्पर्धा त्यति सहज छैन । यद्यपि अंक गणितको आधारमा हेर्ने हो भने विष्टलाई सहज छ ।

विष्टलाई कर्णालीको भावी मुख्यमन्त्रीको आकांक्षीका रुपमा हेरिएको छ ।  

तीन पालिकामा गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार माओवादीले वडामा पाएको मत ८ हजार १०३ छ भने कांग्रेसको सबैभन्दा बढी १३ हजार ५४२ छ । यस्तै एमालेसँग ११ हजार ८५४ मत हुँदा समाजवादीसँग जम्मा १ हजार १८४ मत छ ।

यो आधारमा कांग्रेस–माओवादीबीचमा मात्रै गठबन्धन हुँदा पनि माओवादी नेता विन्दमान विष्ट अगाडि आउने देखिन्छ । यी दुई दलको मत जोड्दा २१ हजार ६४५ हुन्छ ।

यो अवस्थामा नेकपा एकीकृत समाजवादी एक्लैलाई चुनावमा प्रतिस्पर्धा गर्न निकै कठिन हुने देखिन्छ भने एक्लै मैदानमा उभिएको एमालेलाई पनि चुनौती देखिन्छ ।

अर्कोतर्फ बडुवालले आफ्नो पक्षमा पार्नसक्ने मत भनेको एमालेको हो भने केही रुपमा कांग्रेसको हो । यद्यपि व्यक्तिगत रुपमा बडुवालको पश्चिममा राम्रै प्रभाव छ ।

बडुवाल गाउँ कमिटी सचिव हुँदै एमाले विभाजन हुनुभन्दा अघिसम्म एमालेको सुर्खेत जिल्ला सचिव थिए । त्यसपछि नेकपा हुँदा उनी नेकपा कार्यालय सदस्य थिए । उनी पहिलो पटक निर्वाचनमा भाग लिँदैछन् ।

एमाले नेता गौतम ०७४ मै बराहताल गाउँपालिकामा पराजित नेता हुन् । कांग्रेसका तेज बहादुर बस्नेतले ३ हजार २२१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा गौतमले २ हजार ९१४ प्राप्त गरेका थिए ।

०४७ सालदेखि अनेरास्ववियुको राजनीतिबाट आएका उनी बीचमा शिक्षण पेशामा लागे । द्वन्द्व र शान्ति अध्ययनमा मास्टर्स सम्मको अध्ययन गरेका उनी ०५४ सालमा साविकको कुनाथरी गाविस अध्यक्ष बनेका थिए ।

हाल एमालेको प्रदेश कमिटीको सदस्य रहेका गौतम पनि एमालेभित्र राम्रै प्रभाव राख्ने व्यक्तिमा पर्दछन् ।

गठबन्धनलाई नेकपा एकीकृत समाजवादी सहमतिमा आउने विश्वास

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालले साउन अन्तिम साता नै आफ्नो उम्मेदावरी घोषणा गरेर प्रसारप्रचारमा जुटिसकेका थिए । तर भागबण्डामा सुर्खेतका कुनै पनि क्षेत्र आफ्नो पार्टीको भागमा नपर्दा चिढिएको समाजवादीले प्रदेशसभातर्फ क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा उम्मेदवारी कायम राखेको छ ।

कांग्रेस–माओवादीका साझा उम्मेदवार भने नेकपा एकीकृत समाजवादी अझै पनि सहमतिमा आउनेमा विश्वस्त छन् । २ (क) का गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कालिप्रसाद शाक्यले केन्द्रदेखिनै मित्रवत् गठबन्धन भएकाले यहाँको समस्याबारे केन्द्रमा वृहत छलफल भइरहेको बताए ।

‘केन्द्रले एउटा नीति बनाउँछ र अन्त्यमा समाजवादीले सहयोग गर्छ भन्ने कुरामा म विश्वस्त छु,’ शाक्यले रातोपाटीसँग भने,‘ केही टेक्निकल्ली कुरा छन्, समाजवादीले हामीलाई नै सहयोग गर्छ ।’

२ (ख) मा गठबन्धनका साझा उम्मेदवार विष्टले नेकपा एकीकृत समाजवादीको उम्मेदवारीलाई आफूले गठबन्धनकै बागी उम्मेदवारका रुपमा हेरेको बताए । ‘उम्मेदवारी ब्याक गर्नूस् भनेर भनिरहेका छौं, बाँकी केन्द्रको हातमा छ,’ उनले भने ।

तर नेकपा एकीकृत समाजवादीका दुवै उम्मेदवार जनलहर आफ्नो पक्षमा पनि रहेकाले मितवत्र् प्रतिस्पर्धा गरिने भन्दै कुनै पनि हालमा ब्याक नहुने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप