बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

शनिबार, १२ कात्तिक २०७९, ११ : ५९
शनिबार, १२ कात्तिक २०७९

छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो । 

छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ । 

छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ । साथै, व्रतालुहरु छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् । 

त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरुमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आआफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन् । मध्य तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन् । स्थानीय एफएम रेडियोहरुसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरुले भरिभराउ छ ।  

करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरु हिजो शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरुले आज रहरको दाल, लौका र भात खान्छन् ।     छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन्।  छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृविविद् उमाशङ्कर द्विवेदीले बताए । 

तराईका जिल्लाहरुमा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको भनाइ छ ।

आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरुले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको वीरगञ्ज कुम्हाल टोलकी उमावती  थापाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप