शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ एमाले गठबन्धन २२ सिटमा ‘ग्रीन जोन’भित्र

शनिबार, १२ कात्तिक २०७९, १२ : २९
शनिबार, १२ कात्तिक २०७९

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका २२ जनामात्र ‘ग्रीन जोन’मा देखिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत केलाउँदा १६५ मध्ये १६ निर्वाचन क्षेत्रमा नेकपा एमाले उम्मेदवार सत्ता गठबन्धनभन्दा अगाडि रहेको पाइन्छ ।

आसन्न निर्वाचनका लागि एमालेले राप्रपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता प्रगतिशील पार्टीसँग गठबन्धन गरेको छ । डडेलधुरामा बिपी कांग्रेसलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ एमाले उम्मेदवारविहीन बनेको छ । उसले अहिले कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई पनि समर्थन नगर्ने घोषणा गरेको छ । एमालेले झापा–३, रूपन्देही–३ र बाँके–२ मा राप्रपालाई सघाउने भएको छ ।

यस्तै एमालेले मोरङ–५, सुनसरी–१, सप्तरी–१, २ र ४, सिराहा–२ र ४, धनुषा–१, महोत्तरी–३ , सर्लाही–१ र ४, बारा–२, पर्सा–१ र २ तथा रूपन्देही–४ जसपालाई छोडेको छ । धनुषा– २ र ४ तथा बारा–३ मा भने एमाले र जसपाबीच मित्रवत प्रतिस्पर्धा हुँदैछ ।

रौतहट–३ मा एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि त्यहाँ पनि एमालेको उम्मेदवार छैन । यस्तै चितवन–३ मा पनि एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेर कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको छ भने नवलपरासी–१ मा जनता प्रगतिशीलका हृदयेश त्रिपाठीलाई सघाएको छ ।

उनीहरुसँगको चुनावी तालमेलबाट एमालेका लागि १६ सिट सुरक्षित रहेको स्थानीय तहको मत परिणामले देखाउँछ । एमालेसँग चुनावी तालमेलमा रहेका जसपाका ४ र राप्रपाका दुई उम्मेदवार आफ्नो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारभन्दा अघि छन् । यता एक्लै चुनावी मैदानमा उत्रिएको नेपाल मजदुर किसान पार्टीको पनि एउटा निर्वाचन क्षेत्र ‘ग्रीन जोन’मा छ ।

पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेस स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा ९१ मध्ये १६ सिटमा मात्र एमाले नेतृत्वको गठबन्धनभन्दा पछाडि रहेको पाइन्छ । ४५ क्षेत्रमा गठबन्धनबाट उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका लागि ३९ क्षेत्रमा अनुकुल देखिन्छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार बनेका १८ जना नै ‘ग्रीन जोन’मा छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट ७ जना सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । ती मध्ये लोसपाका ६ जना उम्मेदवार सुरक्षित देखिन्छन् भने राष्ट्रिय जनमोर्चाका दुबै जना उम्मेदवार पनि ‘ग्रीन जोन’मा छन् ।

तर रुपन्देही–२ र रौतहट–३, रुपन्देही–१ मा गठबन्धनका उम्मेदवार छैनन् । गठबन्धनको साथ पाएपछि रुपन्देही–२ राष्ट्रिय जनमुक्ति पार्टी र रौतहट–३ स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

एमालेका १६ उम्मेदवार ग्रीन जोनमा

ताप्लेजुङमा एमालेका योगेश भट्टराई र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २४ हजार २९५ मत पाएका थिए । त्यसैगरी कांग्रेसले १८ हजार २८४, माओवादी केन्द्रले ४ हजार ४९७, नेकपा एकीकृत समाजवादीले एक हजार ३०८ र जसपाले ९२३ मत पाएको थियो । बुढाथोकीभन्दा भट्टराई २०६ मतले अगाडि छन् ।

धनकुटामा कांग्रेसका सुनिल थापा र एमालेका राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो रहेको स्थानीय तहको मत परिणामले देखाउँछ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार यहाँ एमालेको ३६ हजार ३३६, कांग्रेसको २८ हजार १८२, माओवादीको ५ हजार ४५८, जसपाको २ हजार २९३, नेकपा एकीकृत समाजवादीको एक हजार ७२८ र राप्रपाको ३०४ मत छ । यस आधारमा कांग्रेसका उम्मेदवार थापाभन्दा एमाले उम्मेदवार राई ३ हजार २६१ मतले अघि छन् । स्थानीय निर्वाचनमा ३०४ मत पाएको राप्रपाले पनि यहाँ उम्मेदवारी दिएको छ ।

झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एकीकृत समाजवादीको एक हजार २५२ र लोसपाको १६२ मत छ । जसका आधारमा ७ हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिन्छन् । यहाँ राप्रपा र एमालेबीच तालमेल भएको छ ।

झापा–२ मा माओवादीका हरिकुमार रानामगर र एमालेका देवराज घिमेरेबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ स्थानीय तह निर्वाचन अनुसार एमालेको ३६ हजार ३९६, कांग्रेसको ३२ हजार ६७२, राप्रपाको ९ हजार ५३१, माओवादीको २ हजार ४३७, जसपाको ५०६ र एकीकृत समाजवादीको १७३ मत छ । राप्रपाको साथ पाएका घिमिरे १० हजार ६४५ मतले अगाडि हुने देखिन्छन् ।

झापा–४ मा कांग्रेसका देउकुमार थेबेविरुद्ध एमालेले एलपी साँवालाई अगाडि सारेको छ । यहाँ एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादीको ६ हजार ३८२, राप्रपाको ४ हजार ५५६, नेकपा एकीकृत समाजवादीको ७०२, लोसपाको २४८ र जसपाको ११० मत छ । यहाँ थेवेभन्दा साँवा १९७ मतान्तरले अघि छन् ।

झापा–५ मा एमालेका केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । यहाँ एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीको एक हजार ९८८ मत छ । यस आधारमा ओली १५ हजार १७४ मतले अघि देखिन्छन् । झापामा एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

सुनसरी–२ मा कांग्रेसका सिताराम मेहता र एमालेका भीम आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५०, राप्रपाको ३ हजार ११०, नेकपा एकीकृत समाजवादीको २ हजार ११९ मत छ । त्यसैले मेहताभन्दा आचार्य एक हजार २२१ मतले अघि देखिन्छन् ।

सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ ।

यस आधारमा एमाले उम्मेदवार चौधरीभन्दा कांग्रेसका गच्छदार २ हजार ५८२ मतले पछि छन् । यहाँ राप्रपा एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

सिरहा–३ मा माओवादीका विश्वनाथ साह र एमालेका लीलानाथ श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत केलाउँदा एमालेको २० हजार ३२८ मत पाएर पहिलो दल बनेको पाइन्छ ।

यस्तै कांग्रेसको १८ हजार २६, जसपाको १४ हजार ८९३, माओवादी केन्द्रको ९ हजार ४८१, एकीकृत समाजवादीको ६ हजार २७४, जनमत पार्टीको एक हजार ५७७, राप्रपाको ९५४ र लोसपाको २५८ मत छ । जसपाको साथ पाएका श्रेष्ठ ११८२ मतले अगाडि देखिन्छन् ।

काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । स्थानीय तहको निर्वाचनका आधारमा यहाँ एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, नेकपा एकीकृत समाजवादीको एक हजार ८२७, माओवादीको एक हजार १६८ र जसपाको ५८ मत छ । उक्त मत अनुसार पौडेलभन्दा पोखरेल एक हजार ८५५ मतले अघि देखिन्छन् ।

चितवन–२ मा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९, राप्रपाको २ हजार ११३ र जसपाको ५८ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनको तुलनामा एमाले ६९ मतले अगाडि देखिन्छ ।

मनाङमा कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका पाल्तेन छापेन गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेको एक हजार २५८ र कांग्रेसको एक हजार २२० मत छ । जसका आधारमा एमालेका गुरुङ ३८ मतले अघि देखिन्छन् ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र एमालेका प्रेम तुलाचनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ एमालेको ३ हजार १२८, कांग्रेसको २ हजार ७४२ र राप्रपाको १८ मत छ । यहाँ कांग्रेसको तुलनामा एमाले ३८७ मतले अघि छ ।

नवलपुर–२ मा कांग्रेसका विष्णु कुमार कार्की र एमालेका तिलक महतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ४१ हजार ७९८, कांग्रेसको ३८ हजार ६१९, राप्रपाको २ हजार ३५५, माओवादीको एक हजार ७४२, जसपाको ३०३ र नेकपा एकीकृत समाजवादीको २१४ मत छ । यस आधारमा कार्कीभन्दा महत एक हजार २२३ मतले अघि देखिन्छन् ।

पाल्पा–१ मा कांग्रेसका ज्ञानबहादुर गाहा र एमालेका नारायणप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३४ हजार ७७१, कांग्रेसको २७ हजार १५०, माओवादीको एक हजार १६४ र राप्रपाको २२३ मत छ । जसका आधारमा गाहाभन्दा आचार्य ६ हजार ४५७ मतले अघि देखिन्छन् ।

रुपन्देही–१ मा एमालेका छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई सत्ता गठबन्धनको समर्थन छ भने विश्वकर्माको साथमा राप्रपा र जसपा उभिएका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, एकीकृत समाजवादीको एक २४३ र लोसपा ३२५ मत छ । भुसालभन्दा विश्वकर्मा १२ हजार ८७२ मतले अगाडि छन् ।

जसपा ४ क्षेत्रमा अगाडि

सुनसरी–१ मा माओवादीका मुक्सामहाङ्ग सुब्बा र जसपाका अशोककुमार राई उम्मेदवार छन् । यहाँ जसपालाई नेकपा एमालेले सघाएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका अनुसार एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८, जसपाको ५ हजार ८१९ र राप्रपाको ४ हजार ७४ मत छ । यस आधारमा एमालेको साथ पाएका राई सत्ता गठबन्धनका सुब्बाभन्दा ५ हजार ५९० मतले अगाडि छन् ।

सप्तरी–१ मा कांग्रेसका रामदेव साह र जसपाबाट नवकिशोर यादवबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ कांग्रेसको २१ हजार ४५६, एमालेको १७ हजार १५८, जसपाको १७ हजार १३७, जनमत पार्टीको ९ हजार ४३३, माओवादीको ८ हजार ४९६, लोसपाको एक हजार ६४६, नेकपा एकीकृत समाजवादीको ७४२ र राप्रपाको ७२९ मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ । यस आधारमा यहाँ कांग्रेसका साह एमालेको साथ पाएका जसपाका यादवभन्दा एक हजार ९५७ मतले पछि छन् ।

बारा–२ मा माओवादी नेता शिवचन्द्रप्रसाद कुशवाह र जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यादवलाई एमालेले सघाएको छ भने कुशवाहलाई सत्ता गठबन्धनले सघाएको छ । यहाँ कांग्रेसको २१ हजार ६५२, जसपाको २० हजार ८२४, एमालेको १७ हजार ९२९, लोसपाको ६ हजार ७१६, माओवादीको ४ हजार ६४० र एकीकृत समाजवादीको ४ हजार १०५ मत छ । यहाँ कुशवाहभन्दा यादव एक हजार ६४० मतले अघि देखिन्छन् ।

पर्सा–१ मा लोसपाका लक्ष्मणलाल कर्ण र जसपाका प्रदीप यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको दलगत मतानुसार जसपाको १५ हजार ७०६, एमालेको १३ हजार ३३५, कांग्रेसको १२ हजार ९०२, माओवादीको ३ हजार ७४६, लोसपाको २ हजार ८६, एकीकृत समाजवादीको एक हजार ६०३ र राप्रपाको ५७७ मत छ । एमालेको साथ पाएका यादव सत्ता गठबन्धनका कर्णभन्दा ८ हजार ७०४ मतले अगाडि छन् ।

राप्रपाको २ सिट ‘ग्रीन जोन’मा

एमाले नेतृत्वका गठबन्धनमा सामेल राप्रपा पनि दुई क्षेत्रमा सुरक्षित देखिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र उपाध्यक्ष दिपक बोहोरा ‘ग्रीन जोन’मा देखिन्छन् ।

झापा–३ मा कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यहाँ कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, एमालेको २१ हजार ८५, माओवादीको ६ हजार ६८८, जसपाको ५३७ र लोसपाको २०८ मत छ । यस आधारमा लिङ्देनभन्दा सिटौला ९ हजारभन्दा बढी मतले पछाडि छन् ।

रुपन्देही–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेसँगको तालमेलबाट राप्रपाका दिपक बोहोरा उम्मेदवार छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार कांग्रेस ३४ हजार १५३ पाएर पहिलो दल बनेको छ ।

यस्तै एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एकीकृत समाजवादीको ९७७ मत छ । जसपाको पनि साथ पाएपछि खाणभन्दा बोहोरा ६ हजार ४६१ मतले अघि देखिन्छन् ।

नेमकिपा १ सिटमा एक्लै भारी

भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  एक्लै भारी देखिन्छ । यहाँ नेमकिपाका प्रेम सुवाललाई चुनौती दिन माओवादीबाट सुनिल गोठे चुनावी मैदानमा छन् भने एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार यहाँ नेमकिपाको ३३ हजार ८९५ मत छ । यस्तै एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ र माओवादीले एक हजार ३८८ मत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षतर्फ प्राप्त गरेका छन् । यहाँ सत्ता गठबन्धनका गोठेभन्दा सुवाल १९ हजार ४९४ मतले अगाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप