मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल भर्सेस जुलीमा विमलेन्द्र फ्याक्टर !

शनिबार, २६ कात्तिक २०७९, १८ : १२
शनिबार, २६ कात्तिक २०७९

मङ्सिर ४ गतेको चुनाव जतिजति नजिकिँदै छ, धनुषा–३ नम्बर क्षेत्रमा दबाब त्यति नै बढी रहेको छ । हरेक चुनावमा चर्चामा रहने धनुषा–३ लाई यसपटक पनि चासोका साथ हेरिएको छ  ।

मधेस प्रदेशको राजधानी सोही क्षेत्रमा पर्ने भएको हुनाले त्यहाँ चुनाव जित्नका लागि दलहरूको बीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३१ जना प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१ जना त स्वतन्त्र उम्मेदवार नै छन् ।

को–को छन् प्रतिस्पर्धामा ?

नेकपा एमालेबाट जुली महतो, राप्रपाबाट रामपदारथ साह तेली, लोसपाबाट अनिलकुमार झा, जनमत पार्टीबाट शम्भु साह, राप्रपा नेपालबाटबाट हुसैन कवारी, बहुजन एकता पार्टी नेपालबाट लक्ष्मी मण्डल खत्वे, नेपाल जनता पार्टीबाट पुनम चौधरी, इतिहासिक प्रजातन्त्रिक जनता पार्टी नेपालबाट प्रविणकुमारी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जित परियारले प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा छन् ।

पूजा साह, सत्यनारायण शाह, बैदेही रमण ठाकुर, त्रिदेवकुमार मिश्र, मो.जासिम नदाफ, मातृकाप्रसाद दास, श्यामकिशोर साह, अरविन्दकुमार पासवान, अनिलकुमार यादव, अजयकुमार यादव, राजकुमार साह, उमेश साह, मिलनकुमारी शाह, चन्द्र शेखर साह, शिलकान्त झा, उमेश चौधरी, ज्योति कुमारी साह, जीवन कुमारी साह तेली, सुनिलकुमार कर्ण, अमरेन्द्र कण्ठ र कृष्ण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

झा र महतोबीच मुख्य प्रतिस्पर्धा

यति धेरै उम्मेदवार भएपनि धनुषा–३ मा दुई गठबन्धन बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले उम्मेदवारी दिएका छन् भने जसपा–एमाले गठबन्धनको तर्फबाट एमालेकी नेतृ जुली महतोले उम्मेदवारी दिएकी छन् ।

दुई जना नेता नै हेभीवेट मानिन्छन् । वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त मतको हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झाले निकै अगाडि देखिन्छन् । महतोसँग दुई दलको मत मात्र भए पनि उनले झालाई कडा टक्कर दिइरहेकी छन् ।

जनकपुरका पत्रकार नवलकिशोर यादव धनुषा क्षेत्र नम्बर ३ यस्तो क्षेत्र हो जहाँ चुनावको नतिजा दलीय आधारमा भन्दा पनि जातीयता, क्षेत्रियता र चिनजानले फरक पार्ने बताउँछन् । ‘विगतका चुनावहरुको अध्ययन गर्दा यो क्षेत्रमा कुन बेला के हुन्छ केही थाह हुँदैन । दुई जनामध्ये अनिलकुमार झासँग कागजी मत सङ्ख्या अहिले बढी देखिए पनि एमालेकी जुली महतो पनि कमजोर देखिएकी छैनन्,’ उनले भने ।

जातीय हिसाब–किताब

यहाँ जातीय हिसाबले तेली, सुडीको मत सबभन्दा बढी करिब ३० हजार रहेको छ । त्यसपछि यादवको मत करिब १६ हजार अनि झाको करिब १० हजार रहेको छ । बाँकी मत अन्य जातीको रहेको छ । त्यसैले तेली, सुडीको मत जतापट्टी जन्छन् त्यसको जीत सुनिश्चित हुने पत्रकार यादवले बताए । यसअघि पनि सुडीबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव जितेका थिए ।

चुनाव लड्नुअघि उनले त्यहाँको जातीय अवस्थाबारे गहिरो अध्ययन गरेका थिए । आफ्नो जातको मत बलियो रहेको देखेपछि मात्र उनी सर्लाही छाडेर धनुषा–३ बाट चुनाव लडेका थिए । उनले सो क्षेत्रका सबैभन्दा शक्तिशाली नेता विमलेन्द्र निधिलाई हराएका थिए ।

२०७४ को स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा तेली–सुडी समुदायबाट लालकिशोर साह जितेका थिए भने २०७९ को स्थानीय चुनावमा पनि सोही समुदायबाट मनोज साह निर्वाचित भएका छन् । यसरी चुनाव ‘प्याटर्न’ हेर्दा जुली महतो अनिल झामाथि भारी पर्न सक्ने अनुमान सो क्षेत्रमा भइरहेको छ ।

झा समुदायको मत सबभन्दा बढी काँग्रेस र लोसपामा नै छ । त्यसले गर्दा सो मत यताउती नहुने लोसपाका नेताहरूको बुझाई छ । जनकपुरमा यादव र तेली सुडी बीचको सम्बन्ध राम्रो छैन । जहाँ यादवको मत जान्छ त्यहाँ तेली सुडीको मत जाँदैन । यादवहरु भन्छन्, ‘सारा मधेशमा यादवले राज्य गरिरहेका छन् यहाँ धनुषामा तेली सुडीले राज्य गर्ने हो ।’

प्रभु साहले पनि एमालेका उम्मेदवार जुलीलाई मत नदिन तेली सुडी समुदायलाई आग्रह गरेको लोसपाका नेताहरू बताउँछन् । मुस्लिम मत सबभन्दा बढी जसपासँग छ । तर रघुवीर महासेठका कारण मुस्लिमको मत जुलीलाई नजाने लोसपाका नेताहरू विश्लेषण गरेर बसेका छन् ।    

कसको शक्ति कति ?

मत भारको हिसाब गर्ने हो भने लोसपाका नेता अनिलकुमार झा जुली भन्दा १० हजार मतले अगाडि छन् । अनिल झाको जित हार काँग्रेसको मतमा भर पर्छ किनभने सो क्षेत्रमा सबभन्दा बढी मत काँग्रेसको २२ हजार ४२८ रहेको छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा लोसपाको आठ हजार ७६३, नेकपा एकीकृत समाजवादी पार्टीको तीनहजार ७२५ र माओवादी केन्द्रको ६६५ मत रहेको थियो  । स्थानीय तहको वडामा सत्ता गठबन्धनको मत ३५ हजार ५८१ रहेको देखिन्छ भने जसपा–एमाले गठबन्धनको मत २५ हजार ३३९ मत रहेको छ ।

सो क्षेत्रका मतदाता एवं राजनीतिक विश्लेषक सरोज मिश्र भन्छन्, ‘अनिल झासँग स्थानीय तहमा आएको मत भएर मात्र हुँदैन । त्यो मत यो चुनावमा काम लाग्दैन । स्थानीय तहको चुनाव र प्रतिनिधि सभाको चुनाव फरक कुरा हो ।’

‘अनिल झा बाहिरबाट आएका नेता हुन्, यो क्षेत्रको समस्याको बारेमा केही थाह छैन, यहाँको बारेमा बुझ्नका लागि नै उनलाई पाँच वर्ष लाग्छ,’ उनले थपे, ‘यसअघि राजेन्द्र महतो पनि यसैगरि यहाँका जनतालाई ठगेर गएका थिए । फेरि अनिल झा आएको भन्दै सो क्षेत्रका जनताले यो विषयमा गुनासो गरिरहेका छन् ।’ विश्लेषक मिश्रले विगतको चुनावमा जातीय फ्याक्टरले निकै ठूलो काम गरेकाले यसपालिको चुनावमा पनि सोही फ्याक्टरले हारजित हुने बताए ।

तर लोसपाका नेता राजिव झा भन्छन्, ‘अनिल झा बाहिरका हुनुहुन्छ भने जुली महतो पनि बाहिरका नै हुनुहुन्छ । जुली महतोको जन्म सिरहामा भएको हो भने विवाह धनुषा–४ को तारापट्टीमा भएको हो । उहाँ चुनाव क्षेत्र नम्बर ३ बाट लड्दै हुनुहुन्छ । त्यसैले बाहिर भित्रको भन्दा जनताको हितमा कसले काम गर्नुहुन्छ त्यो मुख्य कुरा हो ।’

जनकपुर मधेस प्रदेशको राजधानी भएको हुनाले यहाँ आठवटै जिल्लाको अधिकार रहने कारणले अनिल झा यहाँबाट चुनाव लडेको भन्दै उनले राजनीतिमा अनिल झाको ३३ वर्षको लगानी रहेको जिकिर गरे । झा जनकपुर आउजाउ गर्ने नेता भएको र उनको व्यक्तिगत सम्बन्ध पनि यो क्षेत्रमा राम्रो रहेको कारण उनले चुनाव जित्ने दाबी गरे ।

काँग्रेस मतप्रति अविश्वास

यो क्षेत्रमा काँग्रेसको सबभन्दा बढी मत छ । तर सबै मत अनिल झाको पक्षमा जाने ‘ग्यारेन्टी’ छैन । स्थानीय तहको चुनावमा पनि काँग्रेसको मत सत्ता गठबन्धनलाई गएको थिएन । सत्ता गठबन्धनबाट लालकिशोर साह मेयरका उम्मेदवार थिए तर काँग्रेसले उनलाई मत नदिएर मनोज साहलाई मत दिएर जिताएको थियो । मनोज साह काँग्रेसको नेता भएपनि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

यसपालि पनि सो क्षेत्रमा काँग्रेसको उम्मेदवार छैन । पार्टीको उम्मेदवार नहुँदा सो दलका नेताहरू असन्तुष्ट रहेका छन् । तर काँग्रेस मधेस प्रदेश समितिका सदस्य जीवननाथ चौधरी भन्छन्, ‘यसपटक काँग्रेसको मत कुनै पनि हालतमा यताउती हुँदैन । यसअघि पार्टीको आन्तरिक विवाद थियो । शीर्ष नेताहरू नै असन्तुष्ट हुनुहुन्थ्यो यसपटक त्यस्तो कुनै असन्तुष्टि छैन काँग्रेसका सबै मत अनिल झालाई नै जान्छन् ।’

रघुवीर महासेठले नागरिकताको विषयमा बोल्दा ‘एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता कदापि हुन सक्दैन’ भनेकाले यो विषयले पनि जुली महतोको आलोचना भइरहेको बताउँछन् नेता चौधरी । एउटा क्षेत्रबाट श्रीमान् (रघुवीर महासेठ) र अर्को क्षेत्रबाट श्रीमती (जुली महतो) चुनाव लडिरहेको कुराको पनि आलोचना भइरहेको बताउँदै चौधरीले पछिल्लो समय जुलीको ग्राफ तल झरेको र अनिलको ग्राफ धेरै माथि पुगेको दाबी गरे ।

तर काँग्रेसकै एक नेताले भन्छन्, ‘हामी यो क्षेत्रमा सबभन्दा बलियो छौँ । तर हामीले स्थानीय तहमा आफ्नो पार्टीलाई मतदान गर्न पाएनौँ । अहिले प्रतिनिधिसभामा पनि त्यही हाल छ । त्यसैले काँग्रेसको मत कहाँ जान्छ, त्यो ग्यारेन्टी कसैले लिन सक्दैन ।’

‘काँग्रेससँग विकल्प छैन,’ नेता राजीव झाले भने, ‘विगतको चुनावमा काँग्रेसका नेताहरूसँग विकल्प हुन्थ्यो तर यसपटक कुनै विकल्प छैन उनीहरूले बाध्य भएर छाता छापमा नै मतदान गर्छन् ।’ काँग्रेसको विकल्प एमाले हुन नसक्ने बताउँदै उनले काँग्रेसले कुनै पनि हालतमा एमालेलाई मतदान नगर्ने र प्रतिनिधि सभामा उनीहरूको कुनै उम्मेदवार पनि नरहेको कारण छातालाई नै सबै मत आउने विश्वास जनाए ।

निधि फ्याक्टर

काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि यसअघि राजेन्द्र महतोबाट चुनावमा पराजित भएका थिए । यसपटक उनी समानुपातिक उम्मेदवार बनेका छन् र अनिल झालाई खुलेर सहयोग गरिरहेका छन् । स्थानीय चुनावमा गठबन्धनको उम्मेदवारप्रति नेता निधि मौन थिए । मनोज साह उनी निकट हुन् । उनले भित्रिरुपमा मनोज साहलाई जिताउन उनले पहल पनि गरेको बताइन्छ ।

यसपटक भने त्यस्तो अवस्था छैन । निधिले अनिल झालाई जिताउनका लागि पहल गरिरहेका छन् । निधिका कारण काँग्रेसको मत यताउती नहुने विश्वास लोसपाका नेताहरूले गरेका छन् । निधि मात्र होइन, पूर्व राष्ट्रपति रामवरण यादव, रामकृष्ण यादव पनि अनिल झालाई जिताउन लागेको नेता राजीव झाको दाबी छ ।

तर बीबीसीका पत्रकार बृजकुमार यादव भन्छन्, ‘दुईजनाको बीचमा भारी प्रतिस्पर्धा रहेपनि अनिल झाभन्दा जुली अहिले भारी हुनु भएको छ ।’ क्षेत्रमा अनिल झाको सक्रियता निकै कम छ, उनका गतिविधिहरु कमजोर हुँदै गइरहेको बताउँदै उनले झा ‘बहिरिया’ भएको गुनासो भइरहेको बताए ।

उनले भने, ‘हरेक पटक बाहिरकै मान्छे आएर यहाँ चुनाव जित्ने हो भने यहाँका स्थानीय नेताहरूले के गर्छन् भन्ने गुनासो क्षेत्रमा भइरहेको छ । योभन्दा अगाडि पनि लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतो यहाँबाट चुनाव जितेर जानुभयो अहिले फेरि अर्को नेता आउनु भयो । यो कुरालाई जनकपुरको जनताले निकै नोटिस गरेका छन् ।’

अनिल झाका श्रीमती डिम्पल झा मधेस प्रदेशको प्रदेश सभा सदस्य सदस्य हुँदा आफ्नो संसदीय कोषको रकमबाट गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानको नामबाट सोही क्षेत्रमा रहेको गुठीको साढे पाँच विघा जमिन घेरा हालेकी थिइन् । तर नगरपालिकाले त्यो काम सफल हुन दिएन । अहिले त्यसको पनि आलोचना भइरहेको उनले बताए । उनले भने, ‘जनकपुरवासीमा अनिल झाको प्रशंसाभन्दा गुनासोको स्वर बढी सुनिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप