शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि

‘निर्वाचनपछि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्छ’
शनिबार, २६ कात्तिक २०७९, २० : ०७
शनिबार, २६ कात्तिक २०७९

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् । 

गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा विमलेन्द्र निधिसँग रोहित दाहालले गरेको कुराकानी : 

यस पटकको चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छोडेर समानुपातिकतर्फ तपाईं आउनुभयो, पार्टीले टिकट दिएन कि तपाईंको रहरै समानुपातिकमा भयो ? 

रहर समानुपातिकमा थियो । पार्टी सभापति शेरबहादुर देउवाले तपाईं प्रत्यक्षतर्फ नै लड्नुस् भन्नुभएको थियो । मतदाताहरूले पनि प्रत्यक्षतर्फ नै लड्नुहोस् भन्ने आशा गरेका थिए । उहाँले तपाईं प्रत्यक्षतर्फ नै लड्नुस्, यस पटक तपाईंको राम्रो छ भन्नुभएको हो । तर मैले नै आफ्नो निर्णयबाट समानुपातिकमा रहने निर्णय गरेँ । 

यस्तो निर्णय किन गर्नुभयो एक्कासि ? जनताले अलि आश्चार्य मानेका छन् ? 

मान्छेले आश्चार्य मानेका छन् । तर मेरा दुईवटा कुरा छन्, एउटा कुरा, समानुपातिक निर्वाचन प्रणाली पनि निर्वाचन प्रणाली नै हो । त्यो बुझाउनका लागि पनि मेरो लेबलको मान्छे जब चुनाव लडिदिँदैन, अनि समानुपातिक निर्वाचन प्रणाली निर्वाचन नै होइन कि भन्ने हुन्छ । यहाँ पनि अहिले निर्वाचन गर्दाखेरि मान्छेले कसरी भन्न थाले भने, विमलजी यसपालि चुनाव लड्दै लड्दैनन् चुनाव भन्छन् । जब कि हाम्रो देशमा निर्वाचन प्रणाली भनेको अरू देशको भन्दा भिन्दै छ । 

यहाँ संसद्मा जानका लागि १६५ वटा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणाली पनि छ भने ११० वटा समानुपातिक निर्वाचन प्रणाली छ । त्यसका लागि पनि ब्यालेट पेपर नै हुन्छ । दुईवटैका लागि ब्यालेट पेपर हुन्छ, दुईवटैका लागि भोट खसाल्नुपर्छ । त्यो कुरा मैले म आफैँ प्रचार गर्दा र भोट माग्न आउँदा मैले जब सम्झाउन थालेँ, अनि मतदाताहरूले राम्ररी बुझ्न थाल्नुभयो । ए, यो पनि चुनाव नै रहेछ भनेर । 

विगत २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ वटा सिटमा मात्रै विजय प्राप्त गरेको थियो, प्रत्यक्षतर्फ १६५ वटा संसदीय क्षेत्र रहेको ठाउँमा । एक किसिमले हामी कमजोर अवस्थामा थियौँ । तर प्रतिनिधि सभा २७५ को कुल सङ्ख्यमा ११० वटा समानुपातिकबाट आउनुपर्छ त्यसमा हामीले ४० वटा समानुपातिकबाट प्राप्त गर्यौँ । अनि मात्र नेपाली कांग्रेसको ६३ पुगेको हो । नत्र त २३ को २३ नै हुन्थ्यो । यसको अर्थ समानुपातिक निर्वाचन प्रणालीको त साँच्चिकै भन्नुहुन्छ भने समानुपातिक निर्वाचनबाट प्रत्यक्ष निर्वाचन प्रणालीभन्दा बढी योगदान संसद्मा आएको छ । यसले प्रतिनिधि बढे, पार्टीको शाख जोगायो । २३ वटा प्रत्यक्ष र ४० वटा समानुपातिकबाट आयो । यो निर्वाचन प्रणाली हो, होइन भन्न मिल्दैन । 

त्यसकारण समानुपातिक निर्वाचन प्रणालीलाई मर्यादित गराउन, स्थापित गराउन मैले यसलाई रोजेँ । यसलाई निर्वाचन प्रणाली नै बुझिदिने छन्, गाउँका जनताले त त्यसै बुझेकै छन्, पढेलेखेका, बुद्धिजीवी, अखबारका कोलमनिस्टहरूले पनि समानुपातिक प्रणालीलाई अरू एङ्गलबाट टीकाटिप्पणी गर्छन्, समानुपातिकको दुरुपयोग भन्छन्, के के हो भन्छन् । तर समानुपातिक निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचन प्रणाली सरह नै हो । कमसे कम त्यही सरह हो भनेर लेखिदिनुपर्यो नि । म जस्तो मान्छे समानुपातिकबाट लड्यो भने ए, यो पनि महत्त्वपूर्ण रहेछ भन्ने कलम चलाउन सजिलो होला भन्ने छ । 

–यसको सैद्धान्तिक व्याख्या गरेर तपाईंले बुझाउनुभयो, ठिकै हो हामीले दुईवटा निर्वाचन प्रणाली अपनाएका छौँ । तपाईंले यसरी व्याख्या गर्दा जनताले, मतदाताले चित्तै बुझाएको छैन क्या । कतै विमलेन्द्रजी प्रत्यक्षमा गएर निर्वाचनमा हार्छु कि भनेर समानुपातिकमा सुरक्षित हुनुभयो भन्ने पो छ त ?

तथ्य त यो पनि हो २०७४ सालको प्रत्यक्षतर्फ म पनि हारेको हो नि त । अरू जस्तो स्वाङ गर्ने मेरो बानी छैन । 

–२०७४ कै भूतले तर्साएको त हैन ?

हैन । कुनै पनि विगतका कामबाट भएको, परिमार्जित भएर आएको आफ्नो आगामी भूमिका, नीति र कार्यक्रम निर्माण गर्नुपर्छ । 

–यसपटक त सहज जित थियो, गठबन्धन पनि थियो ? 

अहिले पनि सहज नै छ । समानुपातिक निर्वाचनलाई स्थापित गर्न म चुनाव लडिरहेको छु । 

–तपाईं २०७४ को निर्वाचनमा जोसँग पराजित हुनुभयो, जुन पार्टीसँग पराजित हुनुभयो, फेरि त्यही पार्टीको व्यक्तिलाई जिताउन बोकेर हिँड्नुभएको छ, जनता अलमलमा परेका छन् त ?

यो कुरा ठीक हो, जुन पार्टीको उम्मेदवारले मलाई हराएका थिए, त्यो पार्टी एक्लैले हराएको थिएन । एमालेको पनि भोट त्यसैमा गएको थियो । यो कुरा केपी ओली स्वयंले स्वीकार्नुभएको थियो त्यो पार्टीलाई । केपी ओलीसँग भेट्न गएँ, चुनावको कुरा भयो । अनि उहाँले भन्नुभयो, मैले त हैन, मेरा साथीहरूले त्यहाँ तपाईंलाई दिनु भएन । यो कुरा २, ३ पटक स्वीकार नै गर्नुभएको छ । यति मात्र होइन, मैले गल्ती गरेँ भनेर पनि स्वीकार नै गर्नुभयो । त्यतिबेला केपी ओलीले मलाई हराउनका लागि गरेको कार्यको गल्ती स्वीकार गर्नुभयो । 

मलाई हराउन त्यतिबेला आफ्नो गठबन्धनलाई समेत भोट नदिएर हो । उहाँको गठबन्धन माओवादीसँग थियो नि त, उहाँको उम्मेदवार थिएन । उहाँले के गर्नुभयो भने राजेन्द्र महतोलाई जिताउनुपर्छ, विमलेन्द्र निधिलाई हराउनुपर्छ भनेर नै उहाँले गठबन्धन गर्नुभयो । त्यतिबेला चुनावको मुखमा भोट हाल्नुभन्दा अगाडि ११, १२ दिन म बिरामी परेँ । अस्पतालमा आईसीयूमा थिएँ । ती कारणले म त्योबेलामा हारेको हो । 

यसपालि त्यही पार्टीको उम्मेदवार हुनुहुन्छ । किनभने अहिले उहाँ गठबन्धनमा हुनुहुन्छ अनिल झा । जसालाई म भाइजस्तो मान्छु, पार्टीमा हुँदाखेरीदेखि नै राम्रो सम्बन्ध छ । संविधान निर्माणका क्रममा, आन्दोलनका क्रममा, मधेशको बारेमा, राष्ट्रियताका बारेमा, सङ्घीयताका बारेमा उहाँको र मेरो एजेन्डा अरूभन्दा धेरै मिल्थ्यो । उहाँसँग मेरो अत्यन्त मैत्रीपूर्ण सम्बन्ध छ । त्यसकारण यसपालि लास्ट टाइमको चुनावमा राजेन्द्र महतो मलाई हराउन आउनुभएको थियो । यसपालि जो आउनु भएको छ, अनिल झा उहाँ मेरै प्रस्ताव र इच्छाअनुसार आउनुभएको छ । तर पहिलेको भन्दा फरक छ । 

–तपाईंले दाजुभाइ, मित्रता जे भने पनि पार्टी फरक भएपछि फरक नै हो । त्यही पार्टीको नेताले तपाईंलाई हराएको हुनाले तपाईंमा राजनीतिक इगो देखिएन भन्ने बुझौँ न त हैन ? 

राजनीतिक इगोले चल्दैन । तपाईंले ठीक भन्नुभयो म राजनीतिक इगो राख्दिनँ । इगोले पनि चल्दैन, स्वार्थले पनि चल्दैन, धोकाधडीले पनि चल्दैन । 

–स्वार्थले चाहिँ मिल्यो कि ? 

स्वार्थले पनि मिल्दैन । यो गठबन्धन हो, गठबन्धनसँग भएकाले म समानुपातिकमा लाग्छु भन्दाखेरी त, अरूभन्दा कम्र्फटेबल त उहाँ नै हो मेरा लागि । 

–कति व्यक्तिगत जस्तो कुरा पनि होला । उहाँ हामीले लेखेको, सुनेको तपाईंले हामीलाई गाली पनि गर्नुभएको कुरा हो । शेरबहादुर देउवासँग त तपाईंको नराम्रो हुने कुरा नै भएन, महाधिवेशनदेखि नै राम्रै थियो, त्यसमध्ये पनि अलि नराम्रो चाहिँ आरजू राणासँग थियो । यसपटकको डिनर मिटिङबाट के निर्णय भयो ?

आरजू राणासँग मेरो नराम्रो सम्बन्ध नै भएन, विग्रिएको थिएन पनि । शेरबहादुरजीसँग पनि सम्बन्ध बिग्रिएको थिएन र छैन पनि । म त नेपाली कांग्रेसमा पार्टी सभापतिका लागि उम्मेदवार हुन्छु भन्ने कुरा १३औँ महाधिवेशनमा पनि भनेको थिएँ उहाँलाई । उहाँले पनि हुन्छ भन्नुभएको थियो । त्यसकारण म सभापतिको पदमा लडेको हुँ । सभापतिमा लड्दाखेरी यो अन्त्यमा गएर शेरबहादुरको पछि लागिहल्छ नि पनि भनेका छन् । लड्दै लड्दैन खाली एउटा देखाउनका लागि हो । आखिर म त लडेँ नि त । त्यसकारण चुनावमा के हुन्छ भने आन्तरिक प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा हुनु र प्रतिशोध हुनु दुई अलग अलग कुरा हुन् । हामी लोकतन्त्रवादीहरू हौँ, जसले लोकतान्त्रिक दर्शन र सिद्धान्तमा विश्वास गर्छ त्यसले निर्वाचन प्रणालीलाई सहज रूपमा मर्यादित रूपमा लिन्छ । निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनमा जसले भाग लियो, प्रतिस्पर्धीका रूपमा लिने हो । त्यसलाई प्रतिशोधका रूपमा लिने होइन, त्यसकारणले मैले प्रतिस्पर्धीका रूपमा शेरबहादुर देउवाजीलाई लिएँ । अब शेरबहादुर देउवाजीले ढिलै भए पनि मलाई त्यही रूपमा ग्रहण गर्नुभयो । 

त्यसकार शेरबहादुर देउवाजीलाई चुनाव लड्दा पनि व्यक्तिगत आक्षेप कहिले पनि लगाइनँ । अरू उम्मेदवारले अरू प्रतिस्पर्धीले शेरबहादुरजीको खिलाफमा थरीथरीको व्यक्तिगत कुरा भन्दा पनि मैले म सभापति बन्न चहान्छु मात्रै भनिराखेको हुँ । 

अस्ति आरजू राणाजी आउनुभयो । उहाँ मेरो प्रशिक्षण प्रतिष्ठानमा सदस्य हुनुहुन्थ्यो, प्रशिक्षण राम्रो गर्नुहुन्थ्यो, उहाँले भन्नु पनि भयो, विमलेन्द्रजी शेरबहादुरजीको प्रतिस्पर्धी हो, त्यो च्याप्टर क्लोज भइसक्यो । मलाई खुसी लागेको छ । म छैठमा आउँछु, तपाईंकहाँ प्रसादी खान्छु भन्नुभयो । 

अर्को कुरा, म त बीपी कोइरालाको समयमा नेपाल विद्यार्थी सङ्घको सभापति थिएँ । मेरा पिता महेन्द्रनारायणजी राजनीति गर्दाखेरी धेरै कुरा उहाँबाट सिकेको हो मैले । कृष्णप्रसाद भट्टराईबाट सिकेको हो । गणेशमानजीबाट सिकेको हो । उहाँहरू सबैको राजनीतिक शैली र संस्कार जुन थियो, संस्कृति जुन थियो, त्यो प्रतिपक्षीलाई पनि सम्मान गर्ने, महिलालाई सम्मान गर्ने थियो । 

शेरबहादुरजीसँग मेरो ५० वर्ष पुरानो सम्बन्ध भएका कारणले आरजू राणासँग त बिहे भएपछि मात्र चिनजान भएको हो । उहाँले भाउजू नै भन्ठान्थे, पछि जब राजनीतिमा लाग्नुभयो त्यसपछि राम्रै सम्बन्ध भयो । उहाँ फस्र्ट लेडी हुनुभयो । फस्र्ट लेडीलाई सम्मान गर्नु पनि पर्छ सबैले । त्यो स्टेटको गरिमा हो नि त । सिर्फ सुदूरपश्चिमको नेताको श्रीमती हो भन्ने मात्र होइन नि । त्यसकारण मैले यो संस्कारबाट मलाई प्रशिक्षित गरेको छु, सिकेको छु । 

बीपीले जसरी गर्नु हुन्थ्यो, त्यो बेला मङ्गला भाउजू चुनाव लड्नु पनि भएको थिएन । तर गणेशमानजीकी श्रीमती आउँदा बीपी उठ्नुहुन्थ्यो । कृष्णजी उठ्नुहुन्थ्यो । मेरी आमा जब आउनुहुन्थ्यो त्यो बेलामा कृष्णप्रसादजी, बेनीबहादुर कार्कीजीहरू उठ्नुहुन्थ्यो । सम्मान गर्नुहुन्थ्यो । महिलालाई सम्मान गर्ने चलनमा फलानो मेरो विरोधी हो, प्रतिस्पर्धी हो भनेर त्यसलाई वास्ता नगर्ने कार्य लोकतान्त्रिक संस्कृति होइन । 

–तपाईं जस्तो राष्ट्रिय स्तरको नेतालाई स्थानीय तहको कुरा गर्दा मात्र अन्याय होला, मधेस प्रदेशमा कांग्रेसको स्थिति कस्तो हुन्छ ?

एक त सिट वितरणमा कम भएको छ तर पनि तुलनात्मक रूपमा कांग्रेसको राम्रो छ । म मधेश प्रदेशका आठवटै जिल्लामा घुम्दैछु, राम्रै छ । मैले यस क्षेत्रको रिपोर्ट पाएअनुसार नेपाली कांग्रेसको राम्रै छ । 

–राष्ट्रिय तहमा कस्तो स्थिति हुन्छ ? 

यस पटक राष्ट्रिय स्तरमा सिट कम भयो तर १६५ सिटमा ९१ वटा सिटमा नेपाली कांग्रेस चुनाव लडेको छ । स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने गठबन्धनका हिसाबले ९१ वटै सिटमा नै कांग्रेसको बहुमत देखिन्छ । बाँकीमा अरूको छ । समानुपातिकमा कुनै गठबन्धन छैन । त्यसकारण समानुपातिकमा रुख छाप नै आउँछ जहाँ पनि । त्यसमा कांग्रेसका साथीहरू भित्रभित्र र बाहिरबाहिर देखिएर पनि हामी त पुस्तौनीदेखि रुख छापमा भोट दिएको मान्छे, कसरी अर्को चिह्नमा भोट दिन्छु, हात कसरी उठ्छ भन्ने साथीहरूलाई पनि यो राम्रो अवसर हो । त्यसो हुँदा प्रतिनिधि सभाका लागि पनि र प्रदेश सभाका लागि कालो रङको मतपत्र आउँछ । त्यसमा सबै रुख चिह्नका छापका समर्थकहरूले भोट दिए त सहज भयो नि त । उहाँहरूले भोट दिनुहुन्छ । त्यस कारणले पनि कांग्रेस पार्टीको प्रदेश सभाबाट पनि र प्रतिनिधि सभाबाट पनि समानुपातिकमा राम्रो भोट आउँछ । अन्ततोगत्वा बहुमत आउँछ । गठबन्धन भएको हुनाले गठबन्धनसहितको बहुमत हामीले चाहेको छ । त्यसैले नेपाली काङ्ग्रेस र देउवा नेतृत्वमै सरकार बन्छ । 

–अबको निर्वाचनपछि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्छ ?

निश्चित छ । 

अहिले अनिल झा रौतहटबाट चुनाव लड्न आउनुभएको छ, गठबन्धनले त्यही टिकट दियो, त्यहीँ उठ्नु भयो ठिकै होला । अब तपाईंले चिनाउँदै हिँड्नुभएको छ । प्रतिपक्षी पनि अलिक दरिलै भेट्टाउनु भएको छ भनेको सुनिन्छ । यसरी बोकेर चिनाउँदै हिँडेको उम्मेदवारले चुनाव जित्नुहोला त ?

जित्नुहुन्छ । एकदम मजाले जित्नुहुन्छ । शतप्रतिशत ग्यारेन्टी उहाँले जित्नुहुन्छ । 

–आधार के छ ? 

नेपाली काँग्रेसको सङ्गठन छ, कांग्रेसको बहुमत आउँछ । मप्रतिको जुन सहानुभूति छ नि । तपाईंले अघि भन्नुभयो नि तपाईंले जित्नुहुन्थ्यो, यसपालि किन लड्नुभएन भनेर । हो त्यही भोट उहाँलाई जान्छ । 

–विमलेन्द्र निधिका लागि पो भोट हो त ?

होइन होइन, उहाँलाई हेर्नुभयो नि । तपाईंले जे भन्नुहुन्छ त्यही गर्छु भन्नुभएको छ । त्यसकारण मैले नेपाली कांग्रेसको पूरै सङ्गठन संरचनामा कुनै मतभेद छैन । नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रका जति पनि साथीहरू छन्, अनिल झालाई साइकल छापमा दिनमा कुनै कन्जुस्याइँ गर्ने अवस्था छैन । उहाँहरूको अभिव्यक्ति आइसकेको छ । शारीरिक हाउभाउले पनि त्यही बताइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप