शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्याउ उत्पादन बढे पनि जुम्ली किसानले पाएनन् उचित मूल्य

आइतबार, २७ कात्तिक २०७९, ०७ : ५५
आइतबार, २७ कात्तिक २०७९

जुम्लामा यो वर्ष स्याउ उत्पादनमा वृद्धि भएको  छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको हो । गत आर्थिक वर्षमा  १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । 

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित देखिन्छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरूको गुनासो छ। व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरू त्यो भन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको बताउँछन् ।

सिंजा गाउँपालिका ६  स्याउ व्यापारी रामबहादुर रावतले जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । उनले प्रतिकेजी ६० मा नेपालगन्जमा स्याउ खरिद गरे पनि प्रतिकेजी ३० मा बिक्री गर्न बाध्य भएको बताए। कोहलपुरमा शीत भण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता भएको उनले बताए । 

नाम चलेको जुम्लाको स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको रावतले बताए। जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ । यो बेमौसमी बेलामा समेत स्याउले  राम्रो मूल्य पाउन नसकेको र उपभोक्ताले पनि जुम्लामा उत्पादन हुने स्याउको महत्व नबुझेको सिंजा ६ का शिवराज बुढाले बताए । 

मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको बुढाको भनाइ छ । सिंजा  गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगन्ज पुर्याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परेको खत्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप