शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

देशलाई आत्मनिर्भर बनाउन सक्ने नेतृत्व चयन गर्न आवश्यक छ : अध्यक्ष तिमिल्सिना

शुक्रबार, ०२ मङ्सिर २०७९, ११ : २४
शुक्रबार, ०२ मङ्सिर २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताएका छन् । ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

उनले भविष्यको नेतृत्व चयन गर्दा सधैं विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्वको चयन गर्न आवश्यक रहेको बताए । उनले भने– ‘भविष्यको लिडरसीप अब हामीले यस्तो बनाउनुपर्यो कि सधैं हात थाप्ने होइन, हामी त चुनावमा जाँदा अमेरिकाले पत्याउँछ, चीनले पत्याउँछ र भोट माग्छौँ, अर्कोले पत्याइदिने ऋण दिनको लागि भोट माग्ने हो र ? ऋण नचाहिने बनाउँछु भनेर भोट माग्ने लिडरसिप हामीलाई चाहिएको हो । यस दिशामा जाने गरीकन नेतृत्व चयन गर्नुपर्छ ।’ 

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरूलाई जिताउन आवश्यक रहेको बताए । उनले राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरूले आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ठोस एजेन्डासहित आउन जरुरी रहेको बताए ।

उनले भने– ‘नभएको खोजेर हामी कहाँबाट ल्याउने, जति छ, त्यो मध्येमा त राम्रो खोजौँ । नयाँ पुस्ताहरू त्यस्तो नेतृत्व गर्न म आउँछु भनेर लागौँ । अहिले केही नयाँ युवाहरू त्यसरी उम्मेदवारी दिनुभएको छ । तर ठोस एजेण्डा के हो ? हस्तक्षेपकारी भूमिका हुनको लागि त्यो ढंगले आउनसक्ने हुनुपर्छ । त्यसलाई विकास गरौँ र त्यो नहुँदासम्म भएको मध्येबाट कसले गरिरहेको छ, त्यसलाई प्रोत्साहित गर्नेतिर लागौँ ।’

अध्यक्ष तिमल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप