बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अर्थ

५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य

बिहीबार, ०७ साउन २०८३, १७ : ३७
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्।
  • ५,००० अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा वा सो बराबरको भारतीय रुपैयाँ ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।
  • राष्ट्र बैंकले यो नयाँ सूचना राजपत्रमा प्रकाशित भएपछि यसअघि २०८२ भदौ १० गते प्रकाशित सूचनालाई खारेज गरेको जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सूचनालाई परिमार्जन गरेको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार यो जानकारी गराएको हो।

बैंकद्वारा जारी सूचनाअनुसार अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५,००० बराबरको रकमसम्म घोषणाबिना ल्याउन र लैजान पाइने व्यवस्था छ। 

तर, ५,००० अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा वा सो बराबरको भारतीय रुपैयाँ ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्नेछ। विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत सोही सीमा लागू हुने बैंकले स्पष्ट पारेको छ।

भारतीय नोटको सन्दर्भमा बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५०० र १,००० दरका पुराना नोटहरूको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ। यद्यपि, सो मिति पश्चात् निष्कासन भई हाल भारतमा चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोटहरू भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५,००० सम्म प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान र सटही गर्न सक्नेछन्। 

यसका साथै, नेपाली नागरिकले भारतबाहेक अन्य तेस्रो मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने पुरानो व्यवस्थालाई समेत बैंकले पुनः स्मरण गराएको छ।

राष्ट्र बैंकले यो नयाँ सूचना राजपत्रमा प्रकाशित भएपछि यसअघि २०८२ भदौ १० गते प्रकाशित सूचनालाई खारेज गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप