मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुरका सबै मतदानस्थलमा पुगे कर्मचारीसहितको टोली

शनिबार, ०३ मङ्सिर २०७९, ०७ : २०
शनिबार, ०३ मङ्सिर २०७९

आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका एक सय ५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो ।

भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मचारी र शिक्षक गरी एक हजार दुई सय ४६ कर्मचारी खटाइएको छ भने म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निर्वाचन सुरक्षाका लागि सबै तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। “हामीले म्यादी प्रहरीसहित तीनवटै निकायबाट सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि कर्मचारीसहित सबै व्यवस्थापन गरिएको छ”, उनले बताए ।

निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन् । मतदाताका आधारमा मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिए। मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्नेछन् । 

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा ५९ हजार दुई सय ५३ महिला र ६४ हजार एक सय २५ पुरुष गरी कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेका छन् । प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप