भोजपुरका सबै मतदानस्थलमा पुगे कर्मचारीसहितको टोली
आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका एक सय ५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो ।
भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मचारी र शिक्षक गरी एक हजार दुई सय ४६ कर्मचारी खटाइएको छ भने म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि सबै तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। “हामीले म्यादी प्रहरीसहित तीनवटै निकायबाट सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि कर्मचारीसहित सबै व्यवस्थापन गरिएको छ”, उनले बताए ।
निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन् । मतदाताका आधारमा मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिए। मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्नेछन् ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा ५९ हजार दुई सय ५३ महिला र ६४ हजार एक सय २५ पुरुष गरी कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेका छन् । प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण