शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘देवी चढ्दा श्रीमतीले बहुमूल्य बुटी देखाइन्, अनि म वैद्य भएँ’

शनिबार, ०३ मङ्सिर २०७९, ११ : ४५
शनिबार, ०३ मङ्सिर २०७९

‘देवी चढेका बेला मेरी श्रीमतीले क्यान्सरको बुटीको कुरा गरिन्, खोज्दै जाँदा साँच्चिकै त्यो बहुमूल्य बुटी रहेछ– सेतो मुसली,’ ६० वर्षीय मातृकाप्रसाद भट्टराईले आफू वैद्य हुन पुगेको कथाको पोको खोले, ‘त्यसपछि म जडीबुटीको खोजमा लागेँ ।’

२४ कात्तिकमा हामी झापाको दमकमा थियौँ । चुनावी रिपोर्टिङका लागि १९ कात्तिकदेखि पर्साबाट पसेका हामीलाई झापा आउन पाँच दिन लागेको थियो । सहकर्मी रोहित दाहाल र रोशन पोखरेल कांग्रेस नेता विश्वप्रकाश शर्माको घरदैलो रिपोर्टिङ र अन्तर्वार्ताका लागि गएका थिए । मैले एउटा फिचर लेखेर अफिसलाई पठाउनु थियो । काम सकेपछि दिउँसोतिर म दमकस्थित पाथीभरा होटलबाट डाँफे मुनाल गेट (गणतन्त्र चोक) तिर निस्केँ, खुट्टा तन्काउन । बिहान सडकछेउमा भक्का बेच्न बसेका महिलाहरू हिँडिसकेका रहेछन् । गणतन्त्रचोक आफ्नै रौनक र लयमा थियो ।  

सडकछेउको चौतारोमा एक वृद्धले औषधि बेच्न राखेका थिए । प्लास्टिकका बट्टा र कागजमा आयुर्वेदिक औषधि, बट्टाबाहिर हातैले जडीबुटीको नाम लेखिएको– मलाई जिज्ञासा भयो, यी वृद्धले यत्तिका औषधि कहाँबाट ल्याए ? 

मेरो जिज्ञासामा जवाफ दिँदै जाँदा मातृकाले मिथकीय कथा सुनाए । मिथकीय कथा लेख्ने मलाई उनको कथाले तान्दै लग्यो । ‘श्रीमती बिरामी भएपछि म यस पेसामा लागेको हुँ,’ उनले सुरुमा भनेका थिए । मलाई लाग्यो– यिनले आफ्नी श्रीमतीको असाध्य रोगलाई जडीबुटीले नै निको पारेको हुनुपर्छ । 

‘भक्क लड्ने, मुखै नखोल्ने, चिसो हुने, कसैले उठाउनै नसक्ने क्या,’ मातृका पूर्वेली लबजमा भन्छन्, ‘पहिलोपटक दमकको लाइफ लाइन हस्पिटलमा लिएर गएँ । लाइफ लाइनले धरान रेफर गर्‍यो, त्यहाँ दुई दिन बस्यो, कुनै रोग नदेखिएपछि फर्क्यो ।’ 

उनकी श्रीमती सावित्राको रोग १५–२० दिन जस्तोमा बल्झिरहन्थ्यो । डाक्टरले माइग्रेनका कारण यस्तो समस्या आएको भन्थे । ६ वर्षजति सावित्राले मानसिक रोगको औषधि खाइन्, तर ढल्ने समस्या समाधान भएन । 

अन्ततः ०७० सालमा मातृकाले सावित्रालाई धामी–झाँक्रीकहाँ पु¥याए । ‘झापाको गल्डुबा भन्ने ठाउँमा एकजना चौलागाईं गुरु हुनुहुन्छ । मलाई उहाँको नाम थाहा छैन, चौलागाईं गुरु भनेपछि उहाँलाई वरपरका धेरैले चिन्छन्,’ मातृका भन्छन्, ‘उहाँको बारेमा मेरो जेठो छोराले सुनेछ, उसले घरमा आएर कुरा गरेपछि एकपटक लैजाऊँ न त भन्ने लाग्यो ।’

चौलागाईं गुरुले सामान्य झारफुक गरे र भने– बिमार भएका बेला आउँदै गर्नू । माछामासु, लसुनप्याज नखानू । नुहाइधुवाई गरेर खाना खानू । 

डाक्टरले नसकेको गुरुले सक्छन् भन्ने मातृकालाई लागेकै थिएन । तैपनि मातृका दम्पतीले १५ दिनजति चौलागाईं गुरुकहाँ धायो । 

सावित्राको व्यवहार र जीवनशैली केही अजीव खालको थियो । १५ दिनजति केही नखाँदा पनि उनी बाँच्न सक्थिन् । ‘यत्तिका दिन भोकै रहँदा उनलाई कुन शक्तिले बचाउँछ भन्ने मलाई लागिरहन्थ्यो,’ मातृका भन्छन्, ‘एक बिहान उनी घरमा ढलिन् । उनी हिँड्न सक्ने अवस्थामा थिइनन् । मैले फोन गरेर गुरुलाई हाम्रै घरमै बोलाएँ । गुरु आएर अक्षता फुकेर दिएपछि उनी जुरुक्कै उठिन् ।’

यति गरेर गुरु गए । उनले बिरामीलाई बेलुका आफ्नै घरमै ल्याउन भनेका थिए । हिँडडुल गर्न नसक्ने श्रीमतीलाई एम्बुलेन्समा राखेर मातृकाले गुरुकहाँ पु¥याए । गुरुले भने– तीन दिनजति यहीँ बस्नू, निको हुने रहेछ भने हेरौँ, भएन भने अन्तै लैजानुहोला । 

‘उनले मलाई भनेकी थिइन्– म त भोलि मर्छु । दोस्रो दिन गुरुले फुकिदिएपछि हामी घर फर्कंदै थियौँ । साँझ परेको थियो । वरपिपलको चौतारोमा आइपुगेपछि उनले भनिन्– म त पानीले पूरै भिजेँ, तपाईं भिज्नुभएन ?’ एक खालको विस्मयभाव अनुहारमा उतार्दै मातृका भन्छन्, ‘पानी परेकै थिएन, उनी भिजेकी पनि थिइनन् । मलाई लाग्यो– लौ अब त पूरै खुस्किछन् । अलिक वर आएपछि उनले भनिन्– म त चंगा भएँ, मलाई केही दुखेकै छैन, सबै बिमारीले छाड्यो । म उड्न सक्छु, उडौँ ?’ 

मातृका श्रीमतीसँग गफिँदै घर आए । त्यस रात सावित्रालाई रोगले च्यापेन । अर्को दिन मातृकाले श्रीमतीलाई गुरुकहाँ पु¥याए । सावित्रा गुरुकै अगाडि देवी बनेर बर्बराउन थालिन्– तँलाई मैले कुमारी राख्न खोजेकी थिएँ । तँलाई कुमारी राख्न सकिनँ । तेरो माइतीले कन्यादान गरेर पठायो । अब तैँले तेरो घरपट्टिकी देवीलाई भोग बुझा । त्यसपछि म स्पष्ट खुलेर आउँछु ।

देवीलाई भोग बुझाउन मातृका आफ्नोे पुख्र्यौली घर भोजपुरको आमचोकमा जानुपर्ने भयो । उनका बाउबाजेले घरछेउकी जालपादेवीलाई मान्थे । जहाँ उभौली उधौलीमा परापूर्वकालदेखि उनका पुर्खाले पूजा गर्दै आएका थिए । चौलागाईं गुरुले त्यो देवीथान कहिल्यै देखेका थिएनन् । मातृकाको घरदेखि देवीथान कति पर, कुन दिशामा पर्छ, देवीथान वरपर के छ भन्ने उनले बताइदिए । अब भने मातृकालाई गुरु र पत्नीको कुरामा विश्वास बढ्न थाल्यो । 

वैशाखे पूर्णिमाको दिन देवीलाई भोग दिनुपर्ने रहेछ । वैशाखे पूर्णिमा आउन तीन महिना बाँकी थियो । यो बीचमा सावित्रालाई रोगले च्यापेन, तर बेलाबेला गुरुकहाँ जानुपथ्र्यो । सिरानमा राख्नका लागि गुरुले अक्षता फुकेर दिएका थिए ।

गुरुले निख्खुर कालो पाठीको भोग दिन भनेका थिए । थानका पूजारीले एकजोर परेवा थप चाहिने बताए । 

वैशाखे पूर्णिमाको दिन, मातृकाले भोजपुरस्थित आफ्नो घरमा पूजाका लागि आवश्यक सामग्री तयार गर्दै थिए, सावित्रा केही नबोली धुपबत्ती बोकेर घरबाट निस्किन् । मातृकालाई लाग्यो– उनी पक्कै पनि देवीथानमै गएको हुनुपर्छ । बाँकी पूजाका सामग्री लिएर उनी पनि देवीथानतिर लागे । उनी देवीथानमै गएकी रहिछन् । मातृका पुग्दा उनी लामो जिब्रो निकालेर हाँस्दै कामिरहेकी थिइन् । 

विवाहपछि सावित्रा भोजपुरको घरमा गएकी त थिइन्, जालपादेवी थानसम्म पुगेकी थिइनन् । कहिल्यै नपुगेको ठाउँमा सावित्रा आफैँ पुग्नुलाई पनि मातृकाले दैवी शक्ति मान्छन् । ‘त्यसपछि देवीको आदेशमा सावित्राले दुई वर्षसम्म फलफूल मात्रै खाइन् । साताको एकपटक गुरुकहाँ पुग्थिन्,’ मातृका भन्छन्, ‘देवी चढेको हो कि छल गरेको हो भनेर गुरुले परीक्षा लिनुभयो । देवी चढेकै हो भन्ने भएपछि गुरुले सावित्रालाई दियोबत्ती दिनुभयो ।’

गुरुको आदेशमा सावित्राले एक छाक खाना र एक छाक फलाहार गर्छिन् । यतिखेर उनलाई अन्य केही समस्या छैन, क्याल्सियमको कमीले खुट्टा दुख्न थालेको मातृका बताउँछन् । 

वरपरका मानिसले सावित्रालाई अहिले ‘माता’का रुपमा चिन्न थालेका छन् । विभिन्न जिज्ञासा लिएर मानिसहरू उनीकहाँ जोखना हेराउन आउँछन् । उनलाई भेट्न आउँदा अहिले दुुई सय ५५ रुपैयाँ भेटी चढाउनुपर्छ । ‘सुरु सुरुमा आफ्नो गच्छेअनुसार मन लागेको दक्षिणा दिनुहुन्थ्यो । एउटै व्यक्तिले मातासँग लामो समय लिन थालेपछि हामीले अहिले शुल्क तोकेका हौँ,’ मातृका भन्छन्, ‘धेरै टाढाटाढाबाट जोखना हेराउन आउनुहुन्छ । आएका जतिले विश्वास गर्नुभएको छ ।’

भविष्यवाणी

मातृकाका एकजना ज्वाइँ मुखको क्यान्सरले ०७४ सालमा बिते । उनको रोग पुष्टि हुनुभन्दा ६ महिनाअघि सावित्राले संंकेत पाएकी थिइन् । ‘एकपटक देवी चढ्दा उनले भनिन्– तिमीहरूको आफ्नै मान्छेलाई जिब्रोमा घाउ हुन्छ, यस रोगलाई तिमी मनुष्यले क्यान्सर भन्छौ, यो औषधि दिनू, निको हुन्छ,’ मातृका भन्छन्, ‘हामीले त्यसो गरेनौँ । उनले भनेको औषधि खोज्न पनि गएनौँ । हामीले दिएको औषधिले असर गरेर ज्वाइँ बित्नुभयो भने हामीलाई अबगाल आउन सक्थ्यो ।’ 

पछि मातृका दम्पती क्यान्सरको रोग निको गराउने बुटी खोज्न जंगलतिर गए । देवी चढ्दा आफूले देखेको बुटी कुन हो भनेर सावित्राले सम्झन सकिनन् । ‘सम्झन सक्छु कि भनेर उनी जंगलमै ध्यानमा बसिन्, पाँच मिनेटजति ध्यान गरेपछि उनले मकैको पातजस्तो देखिने बुटी देखाएर खन्न भनिन् । खन्नुभन्दा अघि मैले आकाश गर्जेको सुनेको थिएँ, तर सावित्राले सुनिनन्,’ मातृका पहिलोपटक बुटी भेटेको घटना सुनाउँछन्, ‘मैले खन्दा बुटीको फेदमा मुलाको झुप्पाजस्तो फल पाएँ । मलाई त्यस बुटीका बारेमा थाहा थिएन । त्यसपछि मैले जडीबुटीका बारेमा लेखिएको पुस्तक खोज्न थालेँ ।’

उनले झापा वरपर पुस्तक पाउन सकेनन् । पुस्तक खोज्नकै लागि उनी काठमाडौं आए, योगी धर्ममहारसको पुस्तक ‘आयुर्वेदिक जडीबुटी विज्ञान’ किनेर उनी झापा फर्के । आफूले खनेको बुटीको नाम रहेछ– सेतो मुसली । यस बुटीका थुप्रै उपयोगिता छन् । 

योगी धर्ममहारसको पुस्तकबाट उनले जडीबुटीका बारेमा थुप्रै महत्त्वपूर्ण जानकारी पाए । पछि उनले योगी धर्ममहारसलाई नै भेटेर जडीबुटीका सम्बन्धमा शिक्षा लिए । ‘उहाँ यतातिर आउँदा मेरो घरमा खाजा–नास्ता खाएर जानुहुन्छ,’ मातृका गुरुसँगको आफ्नो सान्निध्य प्रकट गर्छन् । 

गुरुबाट उनले गाईखुरे बुटीको उपयोगिता बुझेका थिए । यो बुटी कतातिर पाइन्छ भन्ने जानकारी उनलाई थिएन । यो बुटी धरानको पानमारातिर पाइने भनी सावित्राले उनलाई बताइन् । ‘एक महिना लगाएर खोज्दा मैले यो बुटी पाएँ,’ उनी आफूसँग भएको बुटी देखाउँदै भन्छन्, ‘यो तीन प्रकारको हुन्छ, रङका हिसाबले । यसले किड्नी रोग, अल्सर, सुगर आदि निको हुन्छ । रातो गाईखुरेले ब्लड क्यान्सर नै निको हुन्छ भनेर पुस्तकमा लेखिएको छ ।’

संंघर्ष

गंगाप्रसाद भट्टराई र खण्डकुमारीका १० सन्तानमध्ये मातृका माहिला हुन् । परिवारको आर्थिक अवस्था कमजोर, रोजीरोटीको खोजीमा दाजु शालिकरामसँग उनी ०३८ सालतिर भोजपुरबाट विराटनगर झरेका थिए । गाउँमा कक्षा ५ सम्म पढेका मातृकाले विराटनगरमा अर्काको घरमा खाना पकाउने काम गर्दै पढ्न पाए, त्यहाँको महेन्द्र रात्रि विद्यालयमा साँझमा पढाइ हुन्थ्यो । उनीसँगै पढेका शालिकराम अहिले दमक नगरपालिकामा जागिरे छन् । मातृका भने एसएलसी उत्तीर्ण हुन सकेनन् । 

धरान पानमाराकी सावित्रा खतिवडासँग मातृकाको विवाह भयो, ०५२ सालमा । विवाहपछि उनी कामको खोजीमा काठमाडौं आए । टेकुभन्दा भित्र जैसीदेवलमा ठेलामा तरकारी बेचेर उनले केही वर्ष बिताए । ‘त्यसपछि मैले त्यहीँका आशुतोष राजभण्डारीको घरमा काम पाएँ,’ मातृका आफ्ना संघर्षका दिन सम्झन्छन्, ‘दाइले दमक बोलाएपछि केही पेसा–व्यवसाय गर्ने सोचले दमक आएको हुँ ।’

दमकमा सटर भाडामा लिएर उनले किराना र तरकारी पसल खोले । दुई छोराको पालनपोषणसँगै जीवन चल्दै थियो । पसलको आम्दानीले दमकमा १५ धुर जग्गा घर बनाउन उनलाई मुस्किल परेन । 

श्रीमती बिरामी भएसँगै उनले पसल बेच्नुप¥यो, ऋण बढ्दै गएपछि अन्ततः उनले घर पनि बेचे । ‘बाँकी ६ धुरमा सानो कटेर बनाएर अहिले गुजारा चलाएका छौँ,’ सन्तुष्टिको श्वाससँगै उनी बोले, ‘जेठो छोराले अहिले एभरेस्ट बोर्डिङ स्कुलमा पढाउँछ । कान्छोले पढ्दै छ ।’ 

०००

मातृकाले पनि कहिलेकाहीँ सावित्रासँग जोखना हेराउँछन् । माता सावित्राले भन्छिन्, ‘तँ जहाँ जान्छस्, जे खोज्छस्, त्यो पाएको छस् कि छैनस् ? तँलाई पहिलेभन्दा अहिले सुख छ कि छैन ?’

अचेल उनी माछामासु खाँदैनन्, बिहान नुहाएर मात्रै सात्त्विक भोजन गर्छन् । अचेल मातृकाको मन औषधिको खोजअनुसन्धानतिर एकोहोरिएको छ । महिनाको केही दिन उनी औषधिको खोजमा निस्कन्छन्, बाँकी दिन यही चौतारीमा बित्छ । उनले यस चौतारोमा औषधि बेच्न थालेको तीन वर्ष भयो । चौतारीमा टाँसिएको छ– जडीबुटी सम्पर्क ः ९८१५०८७१२० । अचले उनीसँग औषधि किनेर खानेहरू बढ्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप