मतदान गर्दै कलाकारहरूले भने, ‘५ वर्षपछि म पनि उम्मेदवार बन्छु’
आज आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । मतदानमा सर्वसाधारणदेखि कलाकारसम्मले आफ्नो क्षेत्रमा तोकिएको मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।
फिल्म क्षेत्रका महानायक राजेश हमालले काठमाडौँको लैनचौरस्थित जननाथ स्मृति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले मतदान गर्दै अबको ५ वर्षपछिको निर्वाचनमा आफू पनि उम्मेदवारको रूपमा प्रस्तुत हुन सक्ने मिडियालाई बताए ।

सदाबहार सुन्दरी अभिनेत्री करिष्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा राखिएको मतदान केन्द्रबाट मतदान गरेकी छन् । पछिल्लो समय गोदावरी निवासी करिष्मासँगै उनका पति तथा फिल्म निर्माता विनोद मानन्धरले मतदान गरेका छन् । करिष्माको पनि ५ वर्षपछिको निर्वाचनमा उम्मेदवार बन्ने सोच छ ।

अभिनेता तथा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले काठमाडौँ क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेका छन् । पछिल्लो समय एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले भविष्यमा आफू पनि उम्मेदवार बन्ने बताएका छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगर ६ बालिका स्कुल मतदान केन्द्रबाट मतदान गरेकी छन् । कामको सिलसिलामा काठमाडौँ रहँदै आएकी दीपाले आफ्नो अमूल्य मतको सदुपयोग गर्न विराटनगर पुगेको बताइन् ।
अभिनेत्री सञ्चिता लुइँटेलले पनि काठमाडौँ बत्तिसपुतली स्थित राम मन्दिर मतदान केन्द्रबाट भोट खसालेकी छन् । देश र जनताका लागि केही गर्ने सोच भएका नयाँ पुराना छानेर मतदान गरेको बताउने सञ्चिताले अबको ५ वर्षपछि आफू पनि उम्मेदवार हुन सक्ने बताइन् ।
हास्य कलाकार किरण केसीले ललितपुर क्षेत्र नं १ को इमाडोल मतदान केन्द्रबाट मतदान गरेका छन् । नागरिकको नैसर्गिक अधिकार प्रयोग गर्न र सक्षम नेतृत्व चयन गर्न आफूले मतदान गरेको केसीले बताए ।
कलाकार उत्तम केसीले तारकेस्वर नगरपालिका ग्रामीण आदर्श मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान सुरु हुने बित्तिकै मतदानका लागि पुगेको केसी आफ्नो आस्थामा रहेको पार्टीका उम्मेदवार जिताउन र देश निर्माणमा योगदान दिन मतदान गरेको बताए । अबको ५ वर्षको निर्वाचनमा केसीको पनि उम्मेदवार बन्ने इच्छा रहेको छ ।
अभिनेत्री सरिता लामिछानेले पनि काठमाडौँ ४ को चाबहिल स्थित पशुपति क्याम्पस मतदाता केन्द्रबाट मतदान गरेकी छन् । राम्रो र सक्षम उम्मेदवारका लागि आफूले मतदान गरेको लामिछानेले बताइन् ।
कलाकार जितु नेपालले काठमाडौँ क्षेत्र नम्बर २ को जडिबुट्टी नरेफाट स्थिति कोटेदेबी मतदान केन्द्रबाट मतदान गरेका छन् । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२, बालकोटको बालबिनायक मतदान केन्द्रबाट मतदान गरेका छन् । जगुरेलले मतदान गरेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष तथा नायक, निर्माता, निर्देशक नवल खड्काले खोटाङको खोटेहाङ गाउँपालिका स्थित सिमपानी मतदान केन्द्रबाट मतदान गरेका छन् । आफ्नो अमूल्य मत आफू नजिकका व्यक्तिलाई दिएको बताउने नवलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताए ।

त्यस्तै गायिका सत्यकला राई र संगीतकार महेश खड्काले पनि खोटाङको खोटेहाङ गाउँपालिका स्थित सिमपानी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पनि आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले मतदानपछिको एक तस्बिर पोष्ट गर्दै मतदान मार्फत आफ्नो भविष्य कोरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘औलामा लाइन कोरेको मात्र होइन, भविष्य पनि रोजेको हो । आशा गरौँ जित्नेहरुले देशको भलो गरुन्, आसा गरौँ देशको भलो गर्नेहरूले जितुन् ।’
कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ ले सर्लाही क्षेत्र नम्बर ४ को बरथवा मतदान केन्द्रबाट मतदान गरेका छन् । कांग्रेस निकट नेपाल सांस्कृतिक संघका महासचिव रहेका रिजालले आफू निकट उम्मेदवारका लागि भोट गरेको बताएका छन् । रिजालले अबको ५ वर्षको निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताए ।

अभिनेत्री स्वस्तिमा खड्का, निर्माता नायक तथा फिल्म वितरक गोविन्द शाही, गायक सिताराम पोखरेल, संगीतकार चेतन सापकोटा, उदय सुब्बा लगायतले थुप्रै सलिब्रेटीले समेत आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । जसको जानकारी उनीहरुले आफ्नो सामाजिक सञ्जालबाट जनाएका हुन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण