देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशभर अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
- कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
- यसैगरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको हो ।
यसैगरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्व तयारीका लागि विशेष निर्देशन जारी गरेको छ । उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।
प्राधिकरणले जोखिमको गम्भीरतालाई ध्यान दिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त (रातो रङ इङ्कित) जिल्लाहरूमा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ । यसरी रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् । परिस्थितिको संवेदनशीलता हेरी जुनसुकै समयमा पनि सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ ।
विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ । साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको छ ।
नागरिकहरूको सहजताका लागि प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरीका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी र चेतावनीका लागि सञ्चार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण