प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
सारांश
- नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन प्रदेश तहमा भत्किँदा कोशी प्रदेशमा नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको छ ।
- कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारहरूमा देखिएको राजनीतिक अस्थिरता सत्तारुढ एमाले–कांग्रेस गठबन्धनकै आन्तरिक असमझदारीको परिणाम भएको बताएका छन् ।
- आङ्बोले प्रदेश सभा विघटनसम्बन्धी हल्लालाई अज्ञानता वा गलत नियत भएको भन्दै संविधानको व्याख्याअनुसार बहुमतको सम्भावना रहेसम्म विघटन नहुने स्पष्ट पारेका छन् ।
विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता गठबन्धन प्रदेश तहमा भत्किने क्रम सुरु भएसँगै कोशी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको छ ।
सुदूरपश्चिम, कर्णाली हुँदै बागमतीसम्म पुगेको दुई ठूला दलबिचको विवाद कोशीमा पनि देखिने सम्भावना बढेपछि कोशी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख खोलेका छन् ।
नेता आङ्बोले प्रदेश सरकारहरूमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता र उथलपुथल सत्तारुढ एमाले–कांग्रेस गठबन्धनकै आन्तरिक असमझदारीको परिणाम भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको अस्थिरतामा प्रतिपक्षी दलको कुनै भूमिका नरहेको प्रस्ट पारेका हुन् ।
‘प्रदेश सरकारहरू अस्थिर बन्नुमा प्रतिपक्षी दल होइन, सत्तारुढ गठबन्धन एमाले र कांग्रेसबिचको आपसी असमझदारी नै मुख्य कारक हो,’ आङ्बोले भनेका छन् । गत भदौ २३–२४ को जेनजी विद्रोहपछि नै अहिलेको गठबन्धन असैद्धान्तिक र अपवित्र पुष्टि भइसकेको उल्लेख गर्दै नेता आङ्बोले सोही समयमा यो गठबन्धन विघटन हुनुपर्ने बताएका छन् । यद्यपि, प्रदेश सभाको कार्यकालको अन्त्यतिर आएर अस्थिरता निम्त्याउनु भने गलत भएको उनको टिप्पणी छ ।
सत्तारुढ गठबन्धनमार्फत नै नीति, कार्यक्रम र बजेट पारित भइसकेको सन्दर्भमा बाँकी समय पनि एमाले र कांग्रेस मिलेरै सरकार सञ्चालन गर्नु उपयुक्त हुने उनको सुझाव छ । उनले आफ्नो दल सदनमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन तयार रहेको समेत स्पष्ट पारे ।
प्रतिपक्षमै बस्ने बताए पनि नेता आङ्बोले प्रदेशमा संवैधानिक संकट आएमा निकास दिन आफ्नो दल तयार रहेको बताएका छन् । यदि एमाले–कांग्रेस मिल्नै नसक्ने, सरकार रिक्ततामा जाने वा संवैधानिक संकट आउने परिस्थिति बनेमा निकास दिन सरकार बाहिर बसेर समर्थन गर्ने विकल्प उनले खुला राखेका छन् ।
यसका साथै, बाँकी समयको राजनीतिक स्थिरता, सरकारी नीतिमा परिमार्जन र पूरक बजेट ल्याउने लगायतका निश्चित सर्तहरूसहित सम्मानजनक अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले सत्ता साझेदारी गर्न सक्ने संकेत पनि उनले दिएका छन् ।
कोशी प्रदेशको विशेष सन्दर्भमा चर्चा गर्दै नेता आङ्बोले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठित वर्तमान सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले प्रदेश सभा विघटन गर्न सक्ने भनी फैलाइएको हल्लाप्रति कडा आपत्ति जनाएका छन् । ‘यो हल्ला कि त अज्ञानता हो, कि त गलत नियतसिवाय अरु केही होइन,’ आङ्बोले प्रष्ट पारेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक व्याख्याको स्मरण गराउँदै उनले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत बनाउने वा बहुमत प्रदेश सभा सदस्यहरूको समर्थनमा सरकार बन्ने सम्भावना भएसम्म प्रदेश सभा विघटन नहुने नजिर रहेको स्पष्ट पारेका छन् । उनले यस्ता अतिरञ्जित हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण