शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा नेपालीको जनसङ्ख्या ७२ प्रतिशतले वृद्धि

शनिबार, १७ मङ्सिर २०७९, ०६ : ४७
शनिबार, १७ मङ्सिर २०७९

बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा  ७२ प्रतिशतले बढेको बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणले देखाएको छ । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको सङ्ख्या १ लाख ३ हजार ८७५ पुगेको छ । बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै (ओएनएस) ले सो तथ्य सार्वजनिक गरेको हो ।

यसअघि सन् २०११ को जनगणनामा इंग्ल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको सङ्ख्या ६० हजार २०२ मात्र थियो । एक दशकमा त्यो सङ्ख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

बेलायतमा रसमोर नेपालीहरूको सबैभन्दा धेरै नेपाली बस्ने क्षेत्र कायमै छ । त्यहाँ नेपालीहरूको सङ्ख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा सो सङ्ख्या ६ हजार १३१ थियो । 

त्यसैगरी दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रका रुपमा कायमै छ । त्यहाँ नेपालीहरूको सङ्ख्या ७ हजार ६४९ पुगेको छ । 

सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो । त्यसपछि रेडिङ नेपालीहरूको तेस्रो ठुलो बसोबास रहेको स्थान बनेको छ जहाँ नेपालीहरूको जनसङ्ख्या ५ हजार ३४४ देखिएको छ । सन् २०११ को जनगणनामा रेडिङमा २ हजार ७३५ नेपाली थिए । 

सन् २०११ को जनगणनामा २ हजार ८०० जनसङ्ख्यासहित नेपालीहरू बस्ने तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने यो जनगणनामा नेपालीको सङ्ख्या घटेर १ हजार ९३५ मा झरेको छ ।

तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको सङ्ख्या १ हजारभन्दा बढी छ ।

सिएनएस युकेका पूर्व कार्यकारी निर्देशक डा कृष्ण अधिकारी जनगणनामा नेपालीहरूको सङ्ख्या उल्लेख्य वृद्धि हुनुमा पाँचवटा कारण प्रमुख ठान्छन् ।

पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली । दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित वयस्कहरूको बेलायत प्रवेश । तेस्रो, हङकङमा रहेका ब्रिटिस न्याशनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूलाई बेलायतको उदार आवासीय नीति । चौथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु । पाँचौँ,  बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अपनाइएको खुकुलो नीति ।

यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख सङ्घसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको सङ्ख्या बढेको हुनसक्ने अधिकारीको भनाइ छ ।

बेलायतमा जातीय अल्पसङ्ख्यकहरू जनगणनामा छुट्न सक्ने ठुलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सिएनएस यूकेको विश्लेषण छ । 

त्यसको आधारमा बेलायतमा नेपालीहरूको जनसङ्ख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजार सम्म रहेको सिएनएस युकेको आँकलन छ ।  

बेलायतका चार राज्यमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना स्थगित गरियो र यस वर्ष मात्र सम्पन्न भएको छ । उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भएपनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृत रूपमा सार्वजनिक भइसकेको छैन ।

तथापि त्यहाँ पनि नेपालीहरूको सङ्ख्या इंग्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ । 

सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीको जनसङ्ख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डमा अति थोरै सङ्ख्या भएकाले उपलब्ध थिएन ।

सिएनएस यूकेले बेलायतमा नेपालीहरूको सङ्ख्या आगामी दिनमा अझै थपिने अनुमान गरेको छ । 

नेपालीहरूमा आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति हुनु र अहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले यो सङ्ख्या बढ्ने आधार सिएनएस यूकेले दिएको छ ।   

नेपाली भाषा बोल्नेको सङ्ख्या ७४ हजार

यसैगरी, इङ्ल्यान्ड र वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको सङ्ख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा वक्ताको सङ्ख्या ७४ हजार ३६८ पुगेको छ । सन् २०११ मा सो सङ्ख्या ५२ हजार ७८५ मात्र थियो । नेपाली भाषा इंग्ल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ । गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो ।

सिएनएस यूकेका अनुसार ओएनएसले नेपाली समुदायलाई साना अल्पसङ्ख्यक जातीय समुदायभित्र राखेर यस वर्ष पनि अनुसन्धान गरिरहेको छ । 

सन् २०११ मा सिएनएस यूकेको निरन्तरको पहलपछि ओएनएसले नेपालीलाई साना अल्पसङ्ख्यक जातीय समुदायको अध्ययनमा समावेश गरेको थियो । सो अध्ययनको तथ्याङ्कहरू बाहिर आएपछि नेपाली समुदायलाई जानकारी गराउने सिएनएस यूकेले बताएको छ ।

सिएनएस यूकेले जनगणना राज्यको आधिकारिक तथ्याङ्क हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक सङ्ख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने भन्दै लामो समयदेखि अभियान गर्दै आएको छ । 

गत वर्षको जनगणनामा बेलायतमा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको निष्कर्ष निकाल्दै सिएनएस यूकेले यसमा सहयोग पुर्‍याउने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके लगायत सबै नेपाली सामुदायिक संघसंस्था व्यक्ति तथा सन् २०२१ को जनगणनामा सिएनएस यूकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजनका लागि  सिएनएस यूकेका अनुसन्धाता नरेश खपांगी मगरप्रति धन्यवाद ज्ञापन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप