बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा जोखिम निम्त्याउने भन्दै चीनले लण्डनमा बनाउन लागेको विशाल दूतावासमा रोक

शनिबार, १७ मङ्सिर २०७९, १७ : ५८
शनिबार, १७ मङ्सिर २०७९

 बेलायतको चर्चित सांस्कृतिक धरोहर ‘टावर अफ लन्डन’ नजिकै विशाल नयाँ दूतावास बनाउने चीनको योजनालाई स्थानीय काउन्सिलहरूको बैठकले रोक लगाउने निर्णय गरेको छ ।  चिनियाँ दूतावासको निर्माणले स्थानीय बासिन्दालाई सुरक्षा जोखिम उत्पन्न हुने आधार रहेको भन्दै काउन्सिलरहरु सर्वसम्मतिले यो निर्णय गरेको हो । 

यो निर्णयलाई बेलायतमा बेइजिङको बढ्दो कूटनीतिक गतिविधिप्रति उत्पन्न चिन्ताले प्रभावित भएको विश्वास गरिन्छ । बिहीबार राती अबेरसम्म चलेको म्याराथन बैठकमा नगर काउन्सिलले दूतावासबाट स्थानीयको सुरक्षामा जोखिम उत्पन्न हुनुका साथै यातायातमा बाधा पुग्ने चिन्ता पनि व्यक्त गरेका थिए । 

हाल चिनियाँ दूतावास बनाउने योजना रहेको क्षेत्र लण्डनको वित्तीय केन्द्र नजिक छ भने टावर ब्रिजबाट एक ब्लक मात्र पर छ । टावर ह्याम्लेट्स काउन्सिलका प्रवक्ताले निर्णयबारे मिडियालाई भनेः ‘काउन्सिलले स्थानीय बासिन्दा र पर्यटक सुरक्षा, सम्पदा, प्रहरी स्रोत र क्षेत्रको भीडभाड प्रकृतिमा पर्ने असरको चिन्ताका कारण दूतावास निर्माणको आवेदन अस्वीकार गर्ने निर्णय गरेको छ ।’

टावर ह्याम्लेट्स काउन्सिलको निर्णयले बेलायतको केन्द्र सरकारलाई कठिन अवस्थामा खडा गरिदिए छ । अब चिनियाँ दूतावास निर्माणको योजनासम्बन्धी स्थानीय परिषद्को निर्णयलाई सदर वा खारेज गर्ने शक्ति उहीसँग मात्र छ । 

ब्रिटिस सरकारले यस सम्बन्धमा जुन निर्णय लिएपछि त्यो राजनीतिक रूपमा विवादास्पद हुन सक्छ; सदर गरेमा बेइजिङ आक्रोशित हुनसक्छ भने वा बदर गरे चीनप्रति नरम भएको आरोप लाग्नेछ । 

चीनले हाल दूतावास बनाउने योजना बनाएको जग्गालाई पहिले ‘रोयल मन्टि कोट’ भनिन्थ्यो, जुन शाही परिवारको स्वामित्वमा थियो । कुनै समय यस भूमिमा बेलायतको सिक्का बनाउने संयन्त्र थियो । 

चीनले यो जग्गा सन् २०१८ मा ३१.२ करोड डलरमा खरिद गरेको थियो । उसले यसलाई विशाल कूटनीतिक संयन्त्र बनाउने हिसाबले नै घरजग्गा कारोबारीबाट किनेका थियो । दूतावासका अतिरिक्त त्यहाँबाट बन्ने संयन्त्रमा सयौँ स्टाफको आवास र सांस्कृतिक आदानप्रदान सेवा दिने चीनको योजना थियो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले लन्डनको नयाँ परिसरको खरिद र पूर्वाधार निर्माणको योजनाबारे भने –‘अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएको र त्यसलाई विगतमा बेलायती पक्षले अनुमोदन गरेको थियो । साथै सो जग्गामा चिनियाँ दूतावासको नयाँ परिसर निर्माणको योजना र स्वीकृति भवन योजनासँग सम्बन्धित स्थानीय कानुन र नियम अनुरूप भएको छ । ’

यस विषयमा चिनियाँ मन्त्रालयका प्रवक्ता अगाडि थप भन्छन् –‘यस कूटनीतिक परिसरको निर्माणलाई सहजीकरण गर्ने र सहयोग पुर्‍याउने बेलायतको अन्तर्राष्ट्रिय दायित्व हो । चीन बेलायती पक्षलाई आफ्नो सान्दर्भिक दायित्व पूरा गर्न आग्रह गर्दछ ।’

चिनियाँ दूतावासका परिसर बनेमा भोलि त्यहाँ हुनसक्ने सम्भावित विरोध वा आतङ्कवादी आक्रमणले स्थानीयको सुरक्षामा जोखिम पुग्ने टावर ह्याम्लेट्स काउन्सिलको मूल चिन्ता थियो ।

बहसको क्रममा, टावर ह्यामलेट्स काउन्सिलहरूले दूतावास बनेपछि वरपरका मानिस चिनियाँ जासुसी, निगरानीमा पर्ने कुरा पनि उठेको थियो । 

काउन्सिलको निर्णयपछि अब चीनका योजना प्रतिनिधिहरूले निर्णयविरुद्ध अपिल गर्न वा समीक्षाको लागि वैकल्पिक योजना पेस गर्न सक्छन् । बेइजिङले बेलायतको केन्द्रीय सरकारबाट थप समर्थन पनि खोज्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप