बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन : सिट क्षमता १८९०, विद्यार्थी भर्ना ५३२ जनामात्रै

बिहीबार, २२ मङ्सिर २०७९, १६ : १६
बिहीबार, २२ मङ्सिर २०७९

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी शिक्षालयले निकै कम विद्यार्थी पढाउँदै आएको पाइएको छ । प्यारामेडिक्सतर्फ निजी क्षेत्रका शिक्षालयमा १ हजार ८९० सिट क्षमता छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका २८ वटा निजी शिक्षालयले प्यारामेडिक्सतर्फ बिएस्सी नर्सिङ, बेचुअल अफ नर्सिङ, बिपिएच र बी फार्मेसी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ती शिक्षालयहरूमा १ हजार ८९० सिट क्षमता भएपनि ५३२ जना मात्रै भर्ना भएका छन् । जुन कुल क्षमताको २८.१४ प्रतिशत हो । निजी शिक्षालयमा बेचुलर अफ नर्सिङ तर्फ ५८० सिट छ । जसमा २२२ जना मात्रै भर्ना भएका छन् । त्यस्तै ३९० सिट क्षमता रहेको बिएस्सी नर्सिङमा ८४ जना मात्रै भर्ना भएका छन् । ६८० सिट क्षमता रहेको बिपिएच कार्यक्रमका लागि ८७ जना भर्ना भएका छन् । २४० सिट क्षमता रहेको बि फार्मेसीका लागि १३९ जना मात्रै भर्ना भएका छन् ।

निजी शिक्षालयमा विद्यार्थी भर्ना हुन नगएपछि अधिकांश बन्द अवस्थामा छन् । ती शिक्षालयमा छात्रवृत्ति पाएका विद्यार्थी मात्रै गएका थिए । तर, कलेजहरूले छात्रवृत्ति कोटाका विद्यार्थीलाई मात्र पढाउन नसक्ने बताएपछि उनीहरूलाई कजेल ट्रान्सफर गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका अनुसार तोकिएको कलेजमा पढ्न नसकेका विद्यार्थीलाई सिट क्षमताकै आधारमा अन्यत्र कलेजमा भर्ना गर्ने व्यवस्था मिलाइएको छ ।

विद्यार्थीहरू चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास गरेपछि विदेश जाने तथा अन्य विषय पढ्ने गरेका छन् । जसले गर्दा आफूहरूले विद्यार्थी नपाउने समस्या देखिएको स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) का महासचिव केएन शर्माले बताए ।

आयोगले लिने एकीकृत प्रवेश परीक्षामा देखिएको समस्याका कारण निजी क्षेत्रका कलेजमा विद्यार्थीको अभाव देखिने गरेको बताए । ‘इन्ट्रान्स परीक्षा लिन नै एक वर्ष समय लाग्छ । इन्ट्रान्समा नाम निकालेका विद्यार्थीलाई भर्ना हुन पनि महिनौँ लाग्छ । यस्तो झन्झट हुनुभन्दा त विदेश जाने राखेर उनीहरू विदेशिन्छन्,’ महासचिव शर्माले भने ।

आयोगले समयमै इन्ट्रान्स लिएर विद्यार्थीलाई पढ्नको लागि पठाउने हो भने विद्यार्थी अभावको समस्या नहुने उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालय मात्र नभएर पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा पनि विद्यार्थी अभावको समस्या यथावत नै छ । सामुदायिक तथा सरकारी संस्थामा विद्यार्थी प्रयाप्त मात्रामा भर्ना हुने गरेपनि निजी क्षेत्रका कलेजमा भने विद्यार्थी अभावको समस्या देखिएको हो ।

प्रवेश परीक्षामा हुने ढिलाइका कारण नर्सिङ तथा प्यारामेडिक्सका स्नातक तह पढ्न इच्छा गरेका विद्यार्थीहरूले उक्त विषय पढ्नबाट वञ्चित भई इच्छा त्याग्नुपर्ने वा स्थगन गर्नुपर्ने वा विदेश पलायन हुनुपर्ने अवस्था रहेको महासचिव शर्माको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले भने सामुदायिक तथा सरकारी कलेजहरूमा भने विद्यार्थी अभावको समस्या नरहेको जनाएको छ । आयोगको सदस्य–सचिव डा. भोजराज काफ्लेले उनीहरूले विद्यार्थी नपाए भन्नुमा कुनै यथार्थ नरहेको बताए ।

‘८ हजार सिट क्षमतामा हामीले १६ हजार विद्यार्थी पास गराउँछौँ । सामुदायिक तथा सरकारी र प्रतिष्ठानमा भने विद्यार्थी गएकै छन् । उनीहरूले विद्यार्थी पाएनौँ भन्नुको अर्थ छैन । बरु विद्यार्थी किन आएनन् भनेर खोज्नुपर्‍यो,’ सदस्य–सचिव काफ्लेले भने ।

प्रवेश परीक्षामा हुने गरेको ढिलाइका कारण कोरोना महामारी भएको भन्दै विस्तारै सुधार गर्दै जाने बताए । ‘कोरोना महामारीका कारण एक वर्ष ढिलाइ भयो । हरेक शैक्षिक सत्रमा ३/३ महिना अगाडि गर्छौँ । जसले गर्दा अबको तीन वर्षपछि यो समस्या समाधान हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप