शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फूलको आँखामा फूलै संसार लेख्दा मैले काँडाप्रति अन्याय गरेँ’

आइतबार, २५ मङ्सिर २०७९, ०९ : ०७
आइतबार, २५ मङ्सिर २०७९

‘अहिले दुर्गालाल छैन यो हातमा ।’ 

कवि दुर्गालाल श्रेष्ठले आफ्नो कवितासंग्रह ‘हस्ताक्षर’ मलाई उपहार दिने भए । मैले भनेँ, ‘यहाँको हस्ताक्षरसहित !’

पुस्तकको दुई ‘फ्लाइलिफ’ (खाली पाना) पल्टाएर उनी ‘टाइटल पेज’मा पुगे, हस्ताक्षर गर्न उनलाई केही हम्मे भयो, हात काम्दै थियो, उनले भने– ‘अहिले दुर्गालाल छैन यो हातमा ।’

सन् २०१६ मा प्रकाशित हस्ताक्षरमा दुर्गाकै हातले कोरेका नेपाली भाषाका २५ र नेपालभाषाका ७० कविता छन् । नेपाली भाषामा फुटकर कविता भनी चारहरफे १८ वटा कविता पनि समेटिएका छन् । यस पुस्तकमा उनको हस्ताक्षर छापाभन्दा सुन्दर लाग्छ । पुस्तकमा उनी बुढ्यौलीले कमजोर बन्दै गएका आफ्ना हातप्रति आभार व्यक्त गर्छन्, ‘अब यो हातमा त्यो सुन्दर हात छैन । हो, जानुपथ्र्यो, गयो, विस्मात् किन ? बरु फूलको थुँगोतुल्य सिंगो यो हस्ताक्षर–सँगालो नै म सविनय यो हातलाई अर्पन्छु र सगर्व भन्छु— धन्य हात ! तिमीले गर्नु गर्‍यौ, तिमीप्रति म आजीवन नतमस्तक छु ।’

यी शब्द सामान्य छैनन्, यसले नौजवानहरूलाई प्रेरित गर्छ– जवानीमै आफ्ना हातलाई यस्तो कर्ममा लगाऊ, बुढेसकालमा आफ्ना हातप्रति गर्व गर्न पाइयोस् । 

दुर्गालाल अझै कृति लेख्दै छन् । आफ्ना थुप्रै कृतिमा सशक्त रुपमा उनी अर्थात् उनका विचार र भावना उपस्थित छन् । ‘मेरो कविता संग्रह आउँदै छ– काँडामा कविता, जसमा सयभन्दा बढी कविता छन्,’ उनले भने, ‘यसको अंग्रेजी अनुवाद पनि सँगै आउँदै छ ।’ 

शीर्षक ‘काँडामा कविता’ नै किन ? काँडालाई न्याय गर्न उनले यो शीर्षक चुनेका रहेछन् । ‘मैले काँडाप्रति अलिकति अन्याय गरेँ कि भन्ने लाग्यो,’ उनले भने, ‘काँडाप्रति मैले किन त्यस्तो अन्याय गरेँ छु, त्यो पापबाट मुक्ति पाउन मैले यो किताब लेखेजस्तो लाग्छ ।’ 

प्रसंग उनको सर्वाधिक लोकप्रिय गीत ‘फूलको आँखामा फूलै संसार’सँग सम्बन्धित छ । न्ह्यु बज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वरको यस गीतले जतिजति लोकप्रियताको चुली चुम्दै गयो, उतिउति दुर्गालाल सशंंकित हुन थाले । ‘त्यो बेला एकपल्ट लेखियो– फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । चलनचल्तीमा पनि कत्तिको आयो, कत्तिको । त्यही मात्रै गीत गुनगुनाउनेहरूलाई देखेर म सशंकित भएँ । ए भाइ ! काँडाको आँखामा काँडै संसार हुने ? यो पनि हुने हो र ? फूलसँग काँडै छ नि । ए बाबा ! त्यो फूलले काँडालाई हेरेर आफू कमलो भएको होइन ! किनभने काँडाकै पहरा र सहायता पाएर गुलाब गुलाब हुने हो नि, होइन ?’ उनी काँडाको बयान गर्छन्, ‘काँडा नराम्रो कुरा होइन नि । मैले काँडाको आँखामा काँडै संसार भनी किन भन्या रैछु ! काँडाप्रति किन मेरो त्यस्तो वितृष्णा !’ काँडाप्रति आफ्नो नचाहिने दृष्टिकोण पुगेको यतिखेर उनलाई आभास भइरहेछ । उनी सम्पूर्ण रुपमा काँडाको पक्षमा उभिए, ‘काँडा त्यति नराम्रो होइन, जति म सोच्छु । ए बा, काँडा नभइदिएको भए गुलाब बन्दैनथ्यो । गुलाबको नरमपन नै काँडा हो भन्छु म । गुलाबलाई काँडाले जोगाएको छ बरु, काँडालाई गुलाबले केही गरेको छ जस्तो लाग्दैन ।’

फूललाई सुख–सौन्दर्य र काँडालाई दुःखको रुपमा अर्थाएर मान्छेले अनेक उक्ति र आख्यान रचेको छ । मान्छेका लागि फूल प्रेमको प्रतीक हो, काँँडा घृणाको । मान्छेका लागि फूल पवित्र वस्तु हो, जो देउतालाई चढाउँछ, प्रेम र सम्मानमा अर्पण गर्छ, तर काँडा बेवास्तामा पर्छ । 

फूल र काँडाको सम्बन्धमा अब्राहम लिंकनको भनाइ छ, ‘हामी गुनासो गर्न सक्छौँ कि गुलाबको झाडीमा काँडा छन् । अथवा, काँडाको झाडीमा गुलाब छन् भनी रमाउन सक्छौँ ।’

दार्शनिक खलिल जिब्रानको भनाइ छ, ‘आशावादीले गुलाबलाई मात्रै देख्छन् त्यसको काँडालाई होइन, निराशावादीले गुलाबदेखि बेखबर काँडालाई घुर्न पुग्छन् ।’ 

खैर, हामी प्रकृतिभन्दा पर भाग्न सक्दैनौँ । प्रकृतिसँग जुध्दै र सिक्दै हामी यहाँसम्म आइपुगेका छौँ । 

दुर्गालालकै एउटा कविता संग्रह छ, ‘फूल तिम्रै बारीको’ । नेपाली भाषामा लेखिएको यस कविता संग्रहमा उनका केही प्रकृति सम्बद्ध कविता पनि छन्–

यो जगको कविगायक हुँ म, हो मेरो कर्तव्य महान् ।

तीतोतीतो जीवन भोगी मीठो–मीठो गाउनु गान ।

प्रेममा दुर्गालाल 

दुर्गाको जीवनमा केही रमाइला प्रेम–प्रसंग छन् । उनले झ्यालबाट कतै पर प्रेमलाई चियाउँदै थिए, त्यो प्रेम बादलको टुक्राजस्तै छिटै कतै बिलायो । उनकै आँगन–टोलको अर्को प्रेमले पटकपटक उनको ढोका ढकढकाउन आयो, उनले ढोका खोले र जीवनसाथीका रुपमा अपनाए । 

प्रवेशिका उत्तीर्ण भएपछि उच्चशिक्षाका लागि उनी दरबार कलेज (हालको महेन्द्ररत्न क्याम्पस)मा भर्ना भएका थिए । त्यतिबेला त्यस कलेज वरपर खेतैखेत थियो । कक्षा कोठाको झ्यालैबाट हेर्दा उनका आँखा खेतमा आलु रोप्न आएकी ज्यापुनी ठिटीमा ठोकिए । ती ठिटीसँग उनको बोलचाल सुरु भयो । आफ्ना एक घनिष्ठ साथीलाई लिएर उनी ती ठिटीलाई भेट्न पुग्थे, ठिटीको खेतमा छाप्रो पनि थियो ।

ठिटीले उनीहरूलाई जाँड खुवाउँथिन् । सित्तैमा खानु अनुचित सम्झेर दुर्गालालले जाँड राख्ने भाँडोमा सुका–मोहर सुटुक्क खसालिदिन्थे । कहिलेकाहीँ कक्षा छाडेरै उनी साथीसँग ठिटीकहाँ जाँड खान पुग्थे । त्यही छाप्रोमा बसेर उनले एउटा युगल गीत लेखे ः ‘न्ह्योखा हाल अय्नं न्ह्यो जि मवःनि प्राण’ अर्थात् ‘बिहानीको भाले बासिसक्यो तैपनि मलाई निद्रा परेको छैन प्राण’ । घोडेजात्रा मनाउन पैसा नभएपछि किसानकी स्वास्नीले आफ्नो लोग्नेसँग गरेको बिलौनामा आधारित छ यो गीत । यो गीत अहिले युट्युबमा हेर्न सकिन्छ ।

चुहिने छानो भएको यस छाप्रोबाट दुर्गालालले किसानका समस्या नियाले । यो गीत उनको ‘लुँबु–वहबुँ’ गीतसंग्रहमा संग्रहित छ । नेपालभाषाको शब्द ‘लुँबु’ले सुनको फूल र ‘वहबुँ’ले चाँदीको फूल जनाउँछ ।

ज्यापुनी ठिटीसँगको उनको सम्बन्ध मित्रताको वृत्तमा मात्रै थियो, विपरीत लिंगीबीच हुने प्रेमको वृत्तमा त्यो पुगिसकेको थिएन । ‘उनले विवाहमा मलाई बोलाएकी थिइन्,’ दुर्गा भन्छन्, ‘म जान पाइनँ । मसँग त्यस्तो बिहेसिहेको कुरै पनि होइन ।’

दुर्गालालको विवाह प्रसंग पनि रोचक छ । गाउँटोलकै पूर्णदेवीप्रति दुर्गालालको एक खालको आकर्षण थियो । दुर्गालालकै नाटक मण्डलीका सदस्य दर्शनदासकी बहिनी थिइन् पू्र्णदेवी । दुर्गालालका अर्का साथी भृगुराम श्रेष्ठ र दर्शनदासको घर आमनेसामने थियो । दुर्गालाल भृगुरामको घरमा गएर पूर्णदेवीलाई हेर्ने गर्थे । एक दिन पूर्णदेवी आएर भनिन्, ‘हामीबीच प्रेम भयो, मलाई माग्न पठाए बेस होला ।’ 

पूर्णदेवीसँग दुर्गालालको वर्ग मिल्दैनथ्यो । पूर्णदेवी अलि हुनेखाने परिवारकी थिइन् । दुर्गालालको परिवारको सानो पसल थियो । आफूले पनि कुनै आम्दानीको बाटो नसमाएको अवस्थामा दुर्गाले बिहे आँट्न सकेनन् । यही बीचमा पूर्णदेवीको अन्यत्रै विवाहको चर्चा चल्यो । तैपनि पूर्णदेवीले एकपटक दुर्गालाललाई भेटिन्, ‘मलाई अन्तैबाट माग्न आएका छन् ।’ दुर्गाले भने– उतै बिहे गर । 

पूर्णदेवीको विवाह भयो । बिहेभोजमा दाइजो लिएर दुर्गा पनि पुगेका थिए । विवाहपछि माइत आएकी पूर्णदेवी दुलहाको घर फर्किनन् । दुर्गालालले भृगुरामबाट थाहा पाए– अब पूर्णदेवी दुलहाको घर जाने छैनन् । दुर्गालाई उनका आत्मीय साथीहरूले भने– ‘तिमीलाई मन पराएरै पूर्णदेवी दुलहाको घरमा नजाने निर्णय गरेकी हुन् । तिमीले उसलाई स्विकार्नुपर्छ ।’ 

अन्ततः दुर्गाले पूर्णदेवीलाई भगाएर भक्तपुर पुर्‍याए । यो थाहा पाएका दर्शनदास दुर्गासँग निकै रिसाएका थिए, तर सबै कुरा बुझेपछि उनीहरू पहिलाभन्दा झन् घनिष्ठ साथीमा बदलिए ।

बाल्यकालमा ‘भ्वय्कासा’ खेल्दा दुर्गालाल धेरैजसो दुलहा बन्थे, उनकै उमेरकी एउटी केटी दुलही बन्थिन् । तीस वर्षपछि एक दिन उनीसँग अचानक गफ गर्ने संयोग जुर्‍यो । उनी भद्रकालीबाट महाकांलतिर गइरहेकी थिइन् । उनको हातमा पूजाको थाली थियो । ‘धेरैपछि भेट भयो हगि ?’ भन्दै सामान्य कुराकानी हुँदै थियो । ती अधबैंसे स्त्रीको सिउँदोमा सिन्दुर थिएन । दुर्गालालले विवाह र बालबच्चाका बारेमा सोधे । उनले विवाह गरेकी थिइनन् । बालककालमा विवाह गरी खेलेको कुरालाई नै उनले गम्भीरतापूर्वक लिएकी रहिछन् ।

यस घटनाले दुर्गालाल भावुक भए र ‘भ्वय्कासा’ शीर्षकको कविता लेखे, जुन कविता नेपालभाषाको दैनिक पत्रिका सन्ध्या टाइम्स (ने.सं. ११२२, नयाँ वर्ष अंक)मा छापिएको छ ।

कृतिमा दुर्गालाल

नेपाल भाषा परिषद्बाट सन् २००३ मा जनकविको उपाधि पाएका र मदन पुरस्कार गुठीबाट २०६७ मा जगदम्बाश्री सम्मान पाएका दुर्गालालका नेपालभाषाका ५० र नेपालीमा ३० गरी ८० वटा कृति प्रकाशित छन् । 

उनले मातृभाषामार्फत कविताको ‘सुस्केरा’ हाल्न थालेका हुन् । कृतिका रुपमा नेपाल संवत् १०७७ (वि.सं. २०१४) मा उनको पहिलो कवितासंग्रह ‘झसुकाः’ (सुस्केरा वा उच्छ्वास) प्रकाशित भयो । यसको तीन वर्षपछि उनको दोस्रो कवितासंग्रह लिसं (रसान) छापियो । यस कृतिको भूमिकामा कमलप्रकाश मल्लको भनाइ छ, ‘झसुकाः काव्यलाई व्यथाप्रधान प्रणयकाव्य भने हुन्छ । झसुकाःदेखि लिसंसम्म आइपुग्दा कविको भावलोकमा जीवनको बृहद् अनुभूति क्षेत्र कुनै न कुनै रुपमा भित्रिने प्रयास गरिरहेको देखिन्छ ।’

सुरुवाती कालमा दुर्गाले केही प्रेमिल र भावुक प्रकृतिका रचना गर्थे । एकपटक उनको नामै ख्वबिलु (रुन्चे) रहन गएको थियो । उतिबेला नेपाल भाषाका लेखक प्रेमबहादुर कसाःको घरमा साहित्य गोष्ठी भइरहन्थ्यो । दुर्गालाल त्यहाँ आफ्ना रचना सुनाउन पुग्थे । प्रेमबहादुरले दुर्गालालका रचनाको टिप्पणी गरे– ‘दुर्गालालको कविता साह्रै मार्मिक छ । यो मानिसले त ख्वबिलु (रुन्चे) नै हो ।’ गोष्ठीमा उपस्थित साहित्यकारले दुर्गाको उपनाम नै ‘ख्वबिलु’ हो जस्तो गरी प्रचार गरे । 

दुर्गाले साहित्य कर्ममा पाइला राखेको भने डबली नाटकमार्फत हो । २००४ सालतिर, दुर्गालाल ११ वर्षका थिए । छिमेकी टोल थाय्मदुका केटाहरू न्हुबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली–नाटक तयारी गर्दै थिए । दुर्गा पनि त्यहाँ साथीहरूसहित नाटकको रिहर्सल हेर्न जान थाले । एक दिन उनीहरू गएर नाटक रिहर्सल भएको ढोका ढकढकाए, तर खुलेन । दुर्गालालले ढोकाको प्वालबाट चियाउँदै थिए, भित्रबाट कसैले औँलाले घोँचिदियो । दुर्गालाल भुइँमा खुट्टा बजार्दै रोए ।

यही ईखले उनले आफ्नै टोलका साथीहरूसँग मिलेर नाटक बनाए । उनीहरूले मञ्चन गरेको नाटक हेरेर पाका मानिसले भने– राम्रो छ, अझै मेहनत गर । यसरी उनको नाटकमा दिल बस्न पुग्यो । 

दशकौँपछि एक दिन सोही नाटकमा काम गर्ने संगीतकार हुतराज शर्मालाई दुर्गालालले सोधे, ‘ए बाजे ! हामीले त्यो वेला खेलेको नाटकको नाम के थियो हँ ?’ जवाफ आयो– ‘प्रेम, जीवन, अन्धकार’ होइन र ?

बाल्यकालमा आफूले लेखेको नाटकको नाम यति गम्भीर ? हुतराजको कुरा मान्दै दुर्गालाल दंग भए ।

कविता सिकाउने दुर्गालाल

नाटकप्रतिको लत र ज्यापुनी ठिटीप्रतिको आकर्षणका कारण दुर्गाको पढाइ छुट्यो । त्यसपछि उनी रोजीरोटीका लागि कन्या मन्दिर स्कुलमा नेपालभाषाको शिक्षक भए । उनी कवि शैलीमा पढाउँथे, विद्यार्थीलाई स्वतन्त्र रुपमा गीत, कविता, कथा आदि लेख्न लगाएर । आफू पनि विद्यार्थीसँगै कक्षा कोठामा बसेर गीत र कविता लेख्थे । 

०२६ सालमा एसएलसी गरेकी सुमोन तुलाधरलाई दुर्गालालले पढाएकी थिए । एजुकेसन फ्याकल्टीमा पिएचडी गरेकी उनले पछि महेन्द्ररत्नमा पढाइन् । सिनास, युनसेफ लगायत संस्थामा जागिरे पनि भइन् । शुक्रबार उनले टेलिफोनमा भनिन्, ‘उहाँले पाठ्यक्रम हेरेर पढाउनुहुँदैनथ्यो, उहाँ आफैँ पाठ्यक्रम बनाउनुहुन्थ्यो । उहाँले हामीलाई कविता, गीत लेख भन्नुहुन्थ्यो, हामी आफ्नो मनका भावना लेख्थ्यौँ । उहाँ पनि केही लेख्न तल्लीन बन्नुहुन्थ्यो । उहाँबाट हामी सिर्जनशील हुन सिक्यौँ । वास्तवमा उहाँले हामीलाई फ्रि राइटिङ सिकाउनुभएको रहेछ । मैले पछिसम्म धेरै कविता लेखेँ ।’ 

दुर्गालालको ०२१ सालमा बालकवितासंग्रह ‘चिनियाम्ह किसिचा’ प्रकाशित छ । एक दिन विद्यालयका प्रधानाध्यापक केदारनाथ न्यौपानेले सोधे– दुर्गाजी, अघि तपाईंले विद्यार्थीसँग बसेर लेखेका कविता देखाउनुस् त ! दुर्गाले विद्यार्थीलाई पढाएको केदारनाथले ख्याल गरेका रहेछन् । दुर्गाले कविताहरू दिएपछि केदारनाथले त्यसमा छोटो भूमिका लेखिदिए । यसरी बाल कवितासंग्रहको प्रकाशन प्रक्रिया अगाडि बढ्यो । 

दुर्गाले कन्या मन्दिरमा २५ वर्ष पढाए । गाउँटोलमा हुने सांस्कृतिक कार्यक्रम उनले प्रायः छुटाउँदैनथे । एकपल्ट पाहाचह्रे चाड परेको थियो, त्यो बेला उनले प्रधानाध्यापकलाई दरखास्त लेखेर बिदा बसे, उनलाई आफ्नो टोलको जात्रामा जानु थियो । 

जात्रा सकिएर उनी स्कुल आए । हाजिर कापीमा बिदा जनाइएको थिएन । प्रधानाध्यापक न्यौपानेले उनलाई आफ्नो कोठामा बोलाएर सोधे– तिमी यहाँ किन आएको ?

– पढाउन ।

के पढाउँछौँ ?

– नेवारी ।

‘अनि यो के भाषा हो ?’ दुर्गाले नेपाली भाषामा लेखेको निवेदन अगाडि टेबलमा राखेर प्रधानाध्यापक न्यौपानले सोधे, ‘तिमीले किन आफ्नै भाषामा लेखेनौँ ?’ 

‘मैले सोचेको थिएँ– नेवारको चाड मनाउँदा यी बाहुनले चित्त दुखाएको हुनुपर्छ, त्यसैले बिदा जनाएनन्,’ दुर्गालाल भन्छन्, ‘म गलत रहेछु । उहाँको कुराले म झल्याँस्स भएँ, मेरो निद्रै खुल्यो । म कति संकीर्ण रहेछु ।’ 

पछि उनले फराकिलो दृष्टि राखेर सबै भाषाभाषी र जातजातिलाई जोड्ने गीत लेखे–

सय थरी बाजा एउटै ताल,

सय थरी गोडा एउटै चाल ।

दुर्गालाल अति नै संवेदनशील र कृतज्ञ व्यक्ति हुन् । उनले पछि केदारनाथलाई ‘ईश्वर’ मानेर कविता लेखेका छन्, ‘मेरो ईश्वर’ शीर्षकमा– 

जसले मेरो यो घर पुग्न 

बाटो नै औँल्याइदियो 

मेरो कविको कविता फुल्न 

माटो नै मौलाइदियो ।

कति गीत वा कविता लेखेँ भन्ने दुर्गालाई नै थाहा छैन । फलानो ठाउँमा यस्तो कार्यक्रम छ, त्यसका लागि गीत चाहियो भनेर मानिस आउँथे । दुर्गाले गीत भनिदिन्थे, उनीहरूले कापीमा लेखेर लैजान्थे– प्रेम गीत, स्वागत गीत, भाषिक अधिकारका गीत आदि । 

०००

दुर्गालालले १८ कात्तिकमा बुढानीलकण्ठस्थित आफ्नै निवास (कम्फोर्ट हाउजिङ)मा हामीलाई समय दिएका थिए । हामीसँगको भेटमा उनले नेपालभाषाको आफ्नो गीतिनाटक ‘निमन्त्रणा’को विशेष चर्चा गर्न चाहे । यो गीति नाटक बौद्धकालीन कथाकी पात्र वासवदत्तासँग सम्बन्धित छ । ‘त्यो बेला ख्याति पाएको नाटक भन्नुपर्‍यो । यसलाई कसोकसो बौद्धदर्शनमै आधारित भएर लेख्न सकेँ भन्ने मलाई अहिले पनि लाग्छ । अहिले म त्यसको तृप्ति लिन सक्छु,’ उनले भने, ‘यसमा अनित्यताको दर्शन छ ।’

विडम्बना, यो कृति हामी गैरनेवारका लागि दुर्लभजस्तै छ, यसको नेपाली अनुवाद हुन सकेको छैन । दुर्गालालसँग हाम्रो भेट गराउने सहजकर्ताका रुपमा थिए, आर मानन्धर । आर (राजेन्द्र)ले ०६२ मा स्नातकोत्तर दोस्रो वर्षका लागि ‘साहित्यकार दुर्गालाल श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ शोधपत्र तयार गरेका थिए । यतिखेर उनी दुर्गालालको जीवनी (जनकवि दुर्गालाल श्रेष्ठको संक्षिप्त जीवनी) बजारमा ल्याउने तयारीमा छन् । यो पुस्तक भाषा–साहित्यका विद्यार्थीका लागि संग्रहणीय हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप