आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लाप्कोमा गुड्छन् गाडी, सधैँ भाँचिने त्रास

बुधबार, २८ मङ्सिर २०७९, ०८ : २५
बुधबार, २८ मङ्सिर २०७९

पतारासी गाउँपालिकाका ६५ वर्षीय मयालाल बोहोरा स्थानीय जवाखोला माथिको काठको फल्याक (लाप्को) मा गाडी गुड्दा सधैं झस्किन्छन्। 'गाडी वारपार गर्दा पुल नै हल्लिन्छ, कतिखेर पुल भाँचिने हो भन्ने त्रासले मन पिरोलेको वर्षौं बितिसक्यो,' उनले भने

भगवानलाई पुकार्नु परेको उनको गुनासो छ। जनप्रतिनिधि,मन्त्री र लोकल गाडीहरू पुल वारपार गर्छन् । कतिबेला पुल भाँचिएर ठूलो दुर्घटना हुने हो भन्ने चिन्ताले पिरोल्ने गरेको बोहोराको भनाइ छ।

 जुम्ला–डोल्पा सडकअन्तर्गतको पातारासी–४ अवस्थित लुम खोलामा बनाइएको काठको लाप्को बर्सेनि बाढीले बगाउने गरेको स्थानीय बताउँछन्। वर्षा सिजनमा खोला तर्न नसकेर छिमेकी गाउँमा समेत आवतजावत गर्न बन्द हुने गरेको उनिहरुको अनुभव छ। 

तत्कालीन जिल्ला विकास समितिबाट ३५ लाख रुपैयाँमा ७ वर्षअघि पहिलो पटक खोलामा काठको लाप्को बनाइएको थियो । त्यो लाप्को वर्षदिन पनि त्यहाँका स्थानीयले सुख मनले आवतजावत गर्न पाएनन् ।

त्यसयता हरेक वर्ष खोलामा आएको बाढीले पुल बगाएर लिने गरेको देखिन्छ। वर्षा सकिएपछि स्थानीयले श्रमदानमा फेरि अस्थायी पुल बनाउने गरेका छन् । यो वर्ष भने नेपाली सेनाको श्रमदानमा लाप्को बनाइएको छ । 

जसमा अहिले दैनिक झन्डै दुई दर्जन साना गाडी र ट्याक्टरहरू गुडिरहेका छन् । सडक बने पनि पुल नबन्दा आफूहरूले वर्षौंदेखि जोखिममा यात्रा गर्नुपरेको स्थानीय सुक बहादुर बोहोराले बताए । 

बोहोराका अनुसार पुलदेखि धारा–पधेंरा बनाउने भन्दै कैयौं नेता जिताएर पठाउँछौ,तर अहिलेसम्म कसैले पनि यहाँ पुल बनाउन तिर ध्यान गएन,गत असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले लाप्को बगाएको थियो।झन्डै एक महिना पातारासी बासीले सदरमुकाममा आउन सकेनन्। 

स्थानीयले आफुले उत्पादन गरेको आलु, काउली,धनिया,गाजर लगायतका दैनिकी उपयोग गर्ने फलफूल बजारसम्म ल्याउन नपाएको दुखेसो पोखे । अहिले सेनाले लाप्को बनाएपछि सहज भएको स्थानीय अम्बिका बोहोराले बताइन्।

सडक बनेको दशक भयो, अझैं कालोपत्रे हुन सकेको छैन,उनले भनिन् अहिलेसम्म न डोल्पा सदरमुकामसम्म सडक जोडिएको छ न स्तरोन्नति भएको छ। अझै खनिसकेको खण्डमा पनि सडक पहिरोले भासिएर झन्झन् जीर्ण बनिरहेको उनको भनाइ छ।

पातारासी गाउँपालिका ४ का कालीबहादुर बुढा पुरानो पुस्ताका नेताले विकास गर्न नसकेको बताए । पञ्चायत, बहुदल र संसदीय व्यवस्था हुँदै गणतन्त्रको अनुभव भयो। विकासको महसुस अझै पातारासीमा नभएको उनको टिप्पणी छ।

उनले भने, अहिले त सडक पनि जताततै भासिन थालेको छ। पुल पनि नहुँदा गाडीको यात्रा गर्न डर लाग्ने उनी बताउँछन्। 

उनका अनुसार यो सडक सदरमुकाम खलंगादेखि उर्थु हुँदै डोल्पा जोड्ने भनेर खनिएको हो । अहिले सम्म करिब २५ किलोमिटर सडक निर्माणको काम मात्र सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप