बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रमा प्रदेश संसदीय दलको नेता बन्न रस्साकस्सी

बुधबार, २८ मङ्सिर २०७९, १६ : २०
बुधबार, २८ मङ्सिर २०७९

काठमाडौँ । सात प्रदेश सभातर्फ प्रत्यक्षमा ५४ सिट र समानुपातिकतर्फ २९ सिट सहित कुल ८३ सिट ल्याएको  माओवादी केन्द्रमा संसदीय दलको नेता बन्ने रस्साकस्सी सुरु भएको छ ।

संसदीय दलको नेता नै भावी मुख्यमन्त्री समेत हुने भएकाले नेताहरुबीच दलको नेता बन्न रस्साकस्सी सुरु भएको हो । सात प्रदेशमध्ये बागमती र कर्णाली प्रदेशमा दलको नेता बन्न आकाङ्क्षीहरू तुलनात्मक रूपमा धेरै भएकाले ती प्रदेशमा नेताहरुबीच कडा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ । आकांक्षीहरुबीच एकल अर्कोलाई छोड्ने स्थिति नभएकाले पनि त्यहाँ दलको नेता चयनबारे चासो बढ्दै गएको छ ।

प्रदेश १ मा आङबो, मधेसमा साहको दाबी

प्रदेश नम्बर एकको प्रदेश सभामा माओवादी केन्द्रले १३ सिट जितेको छ । प्रत्यक्षमा ९ सिट जितेको माओवादीले समानुपातिकमा ४ सिट मात्रै जितेको छ । प्रत्यक्षमा चुनाव जित्नेमा इन्द्रबहादुर आङबो, राजेन्द्र कार्की, दुर्गाप्रसाद चापागाई, गणेशप्रसाद उप्रेती, जीवन आचार्य, गोम्बु शेर्पा, बाबुराम गौतम,राजन किराँती, नारायणबहादुर मगर छन् । यस्तै समानुपातिकमा बन्दना झागर, सम्झना तामाङ, गीता तिम्सेना र सपन दर्जी छन् ।

यो प्रदेशमा संसदीय दलको नेतामा इन्द्रबहादुर आङबो हुने सम्भावना रहेको प्रदेश एकका माओवादी अध्यक्ष हर्कबहादुर नेम्वाङको भनाइ छ । नेम्वाङ यसअघि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत भैसकेको तथा पार्टीको समेत सिनियर नेता भएकाले उनलाई चुनौती दिने गरी अरू नेता नभएको अध्यक्ष नेम्वाङले बताए । ‘आङबो भावी मुख्यमन्त्रीको दाबेदार समेत हुन्’, अध्यक्ष नेम्वाङको भनाइ छ ।

यस्तै मधेस प्रदेशबाट माओवादीले प्रत्यक्ष र समानुपातिकमा ४÷४ सिट जितेको छ । प्रत्यक्ष निर्वाचित हुनेमा भरतप्रसाद साह, फकिरा महतो, युवराज भट्टराई र रहवर अन्सारी छन् । समानुपातिकमा शारदा दास पहाडी, सुनिता यादव,मालाकुमारी कर्ण र मो रजी हैदर छन् । प्रत्यक्ष र समानुपातिक गरेर माओवादीले कुल  ८ सिट जितेको छ । मधेस प्रदेशको माओवादीमा संसदीय दलको नेतामा भरतप्रसाद साह नै हुने नेता विश्वनाथ साहले बताए । साह यसअघि समेत दलको नेता भएकाले पुनः उनी नै हुनसक्ने साहको भनाई छ । दलको नेतामा अरूले दाबी नगरेकाले पनि उनको सम्भावना रहेको प्रदेशका नेताहरूको भनाइ छ ।

बाग्मतीमा जमरकट्टेल र पौडेलको दाबी

कुल २१ सांसद भएको बाग्मती प्रदेशमा संसदीय दलका लागि नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । माओवादी नेताहरूका अनुसार यो प्रदेशमा दलको नेताका लागि सरल सहयात्री पौडेल र सालिकराम जमरकट्टेलले आकाङ्क्षा राखेका छन् । आफूले दलको नेता हुने इच्छा राख्नु स्वाभाविक रहेको पौडेलले बताए । उनले सर्वसम्मत नभए चुनावबाट छिनोफानो गरिने पौडेलको भनाइ छ ।

संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले पनि यो प्रदेशमा दुई नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । यद्यपि गठबन्धनको भागबण्डामा मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने टुङ्गो लागेको छैन । बाग्मती प्रदेशमा माओवादीले प्रत्यक्षमा १४ सिट र समानुपातिकमा ७ गरी २१ सिट जितेको छ । प्रत्यक्ष चुनाव जित्नेमा सरल सहयात्री पौडेल, युवराज दुलाल,युवराज चौलागाई, मातृकाप्रसाद भट्टराई, तारानायण श्रेष्ठ, इन्द्रप्रसाद गोतामे, शालिकराम जमरकट्टेल, जगत सिम्खडा, राधिका तामाङ, रामप्रसाद ढुंगाना, रत्न ढकाल, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान छन् । माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ समेत निर्वाचित भएकाले प्रत्यक्षमा १४ सिट जितेको हो । यस्तै समानुपातिकमा  देवेन्द्र श्रेष्ठ, उर्मिलाकुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, शुष्मा भुजेल, ईश्वर सापकोटा, अमृता नेपाल रुकु चौलागाई छन् ।

गण्डकीमा चुमान र लुम्बिनीमा महराको दाबी

यस्तै गण्डकी प्रदेशमा माओवादीले प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ३ सिट गरेर ७  सिट जितेको छ । प्रत्यक्षमा चुनाव जित्नेमा हरिबहादुर चुमान, कृष्णप्रसाद धिताल, हरिबहादुर भण्डारी छन् । यो प्रदेशमा नेपाल समाजवादीका नेता फणिन्द्र देवकोटासमेत माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएकाले उनी समेत माओवादी सांसदमा जोडिएका छन् । यस्तै समानुपातिकबाट कुशुम बुढा, सुशिला सिंम्खडा, दमन्ती रुचाल छन् ।  यस  प्रदेशबाट माओवादीका सिनियर नेतामा चुमान भएकाले उनी नै दलको नेता हुने धेरैको आँकलन छ ।  यद्यपि यो प्रदेशबाट कुनैपनि नेताले दलको नेता हुन मुख खोलिसकेका छैनन् ।

यस्तै लुम्बिनी प्रदेशमा माओवादीले प्रत्यक्षमा ५  सिट र समानुपातिक ४ सिट गरेर कुल ९ सिट जितेको छ । प्रत्यक्षमा चुनाव जित्नेमा जोखबादुर महरा, इन्द्रजीत थारु,धन बहादुर मास्के
तुलाराम घर्ती मगर,कृष्ण केसीले जितेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर दीपेन्द्र पुन, सरुल पुन र खड्ग बस्नेत निर्वाचित भएका छन् । उनीहरू समेत माओवादीमा फर्किने भएकाले प्रत्यक्षमा ८  सिट जोडिएको छ । समानुपातिकमा दिलकुमारी बुढा, मिना बुढामगर, कृष्णा थारु,यामबहादुर नेपाली सार्की छन् । प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा हुने निश्चित जस्तै छ । पार्टीमा महरा जत्तिको सिनियर नेता अर्को नभएकाले उनीले नै दलको नेता पाउने अवस्था छ । प्रदेशको मुख्यमन्त्री माओवादी भागमा परेमा उनै महराले नै पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।  

कर्णालीमा शर्मा र विष्टको दाबेदारी

यस्तै कर्णाली प्रदेशमा माओवादीले प्रत्यक्षमा  ९ सिट र समानुपातिकमा ४ सिटसहित १३ सांसद छन् ।

प्रत्यक्ष चुनावबाट राजकुमार शर्मा, विन्दमान विष्ट, महेन्द्र केसी, भीमप्रकाश शर्मा, बीरबहादुर शाही, मंगलबाहदुर शाही, दुर्गाबहादुर रावत, रनसिंह परियार, कृष्णबहादुर जिसी छन् । समानुपातिकमा जुम्कित लामा कार्की,यशोदा न्यौपाने, मिलन खड्का रोका  र उर्मिला विश्वकर्मा छन् ।

पार्टीको प्रदेशको संसदीय दलको नेतामा राजकुमार शर्मा र बिन्दमान विष्ट दुई जनाले दाबी गरेका छन् । दुवै जनाले भावी मुख्यमन्त्रीको आकाङ्क्षा राखेकाले दलको नेतामा समेत दाबी गरेका हुन् । तर शर्मा र विष्टमध्ये शर्मा नै दलको नेता हुने सम्भावना बढी देखिएको छ ।

सुदुरपश्चिममा भट्ट एकल दाबेदार  

यस्तै सुदुरपश्चिममा माओवादीले प्रत्यक्षमा ८ सिट र समानुपातिकमा ३ सिट गरेर कुल ११ सिट जितेको छ । प्रत्यक्षमा चुनाव जित्नेमा खगराज भट्ट, ओमविक्रम भाट, मानबहादुर धामी, रमेशसिंह धामी, शिवसिंह ओली, भीमबहादुर भण्डारी, झपटबहादुर साउद, अक्कलबहादुर रावल छन् । यस्तै समानुपातिकमा गितादेवी माल,जानकीदेवी कुँवर र लक्ष्मी विश्वकर्मा छन् ।

पार्टी प्रदेशका इन्चार्ज समेत रहेका खगराज भट्टलाई माओवादीले भावी मुख्यमन्त्री बनाउने बचन दिएर प्रदेशमा लडाएको माओवादी बृत्तमा चर्चा छ । त्यसैले पनि दलका नेतामा भट्टको मात्रै दाबी रहने प्रदेशका धेरैजसो नेताहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप