शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जंगबहादुरका ज्वाइँ गजराजले रोपेको १५९ वर्षका वृद्ध बगान

बुधबार, ०६ पुस २०७९, ११ : १५
बुधबार, ०६ पुस २०७९

‘कुनै प्राइममिनिस्टरले निर्दयतापूर्वक निर्वासित गर्‍यो भने इलामजस्तो ठाउँमा बस्नू, हुनसम्म रमाइलो हुन्छ र स्वास्थ्यकर ठाउँ पनि ।’

रनबहादुर कार्कीले आफ्नो पुस्तक ‘इलामदर्शन’मा उपरोक्त भनाइलाई ‘चन्द्रज्योति’ पुस्तक (कमल दीक्षितको) बाट लिएको भनी उल्लेख गरेका छन् ।

यो भनाइ कुन सन्दर्भमा आयो भनी मैले ‘चन्द्रज्योति’ पुस्तकका पाना पल्टाइसकेको छैन । यद्यपि यो छोटो भनाइले इलामको महिमा गाएकै छ ।

***

धादिङको शंखादेवी माविका सहायक प्रधानाध्यापक भैरव खाँड ठकुरी २५ कात्तिकमा आफ्ना विद्यार्थीसहित इलामको फिक्कलमा भेटिएका थिए । ठकुरीसहित चार शिक्षकले कक्षा ११ र १२ का ३५ विद्यार्थीलाई तीनदिने शैक्षणिक भ्रमणमा लगेका रहेछन् । ‘हाम्रो स्कुलले विद्यार्थीलाई यस्ता खालका भ्रमण गराउँदै आएको छ,’ नेपाली विषय पढाउने ४४ वर्षीय ठकुरीले भने, ‘शैक्षणिक विधि अनुसार नै विद्यार्थीलाई अध्ययन अवलोकन गराइन्छ । यस्ता भ्रमणबाट विविध जानकारी बटुल्नुका साथै विद्यार्थी फ्रेस पनि हुन्छन् ।’

जनकपुर जाने योजनामा रहेका उनीहरू त्यस दिन कोसी ब्यारेज हुँदै दार्जिलिङको सिमानासम्म पुगेर फर्केका रहेछन् । ‘उत्कृष्ट चिया उत्पादन गर्ने जिल्ला हो इलाम, यहाँ पशुपति नगर, फिक्कल, कन्याम आदि छन् । यसपालि विद्यार्थीको रोजाइमा इलाम नै परेको थियो,’ सहायक प्रधानाध्यापक ठकुरीले भने ।

  

यस भ्रमणमा रहेकी कक्षा १२ मा पढ्ने अनिता विष्ट निकै उत्साहित देखिन्थिन् । ‘मलाई त इलाम, खासगरी कन्याम धेरै सुन्दर लाग्यो । देशको सिमानासम्म आइपुग्न पाइयो, खुसी छु,’ अनिताले भनिन्, ‘हाम्रो देशमा पनि यति सुन्दर ठाउँहरू रहेछन् । हामी विद्यार्थीले यस्ता भ्रमण गर्नुपर्छ । यसबाट हामीलाई देशबारे जानकारी हुँदो रहेछ ।’ 

विराटनगरको युनिभ कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययरत लक्ष्मी पोखरेल कन्याम बगानमा मगर पोसाक लगाएर साथीहरूसँग तस्बिर खिच्दै थिइन् । कन्याममा विभिन्न जातजातिका पोसाक भाडामा लगाउन पाइन्छ । कलेजबाटै शैक्षिक भ्रमणमा आएकी उनले दुई सय रुपैयाँ तिरेर मगर पोसाक भाडामा लिएकी थिइन् । ‘मलाई मगर पोसाक मनपर्छ । विभिन्न जातजातिका संस्कृति जोगाउनुपर्छ नि होइन र ?’ उनले हाँस्दै भनिन् । 

उनले जस्तै विभिन्न जातजातिको पोसाक लगाएर चिया बगानमा तस्बिर खिच्ने थुप्रै थिए । 

चिया बगान एक गीत, एक कविता

नारायणगोपालले गाएको र भूपि शेरचनले लेखेको एउटा लोकप्रिय गीत छ–  

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा,

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा । 

मलाई थाहा छैन, भूपिले यो गीत इलामकै चिया बगान सम्झेर, हेरेर लेखेका हुन्, वा अन्तैको । तर, भूपिको इलामप्रति बेग्लै आशक्ति र अपेक्षा देखिन्छ । 

‘इलाम’ शीर्षकको उनको कविता भन्छ : 

आफ्नो वरिपरि

भीर, पाखा र कान्लाभरि

थुम्काथुम्का चिया र

झुम्का झुम्का अलाइँची उमारेर 

सन्तोषले एक्कासि सुस्मित उठेको झैँ

हरियो–भरियो इलामलाई देख्दा मलाई 

नेपालभरि अलिकति इलाम छर्न मन लाग्यो ।

देशकै एक मूर्धन्य कविले इलामलाई एउटा यस्तो हरियो–भरियो ‘बिउ’ देखेका थिए, जसलाई देशभरि छर्ने इच्छा उनीमा जागेको थियो ।   

इलामलाई लिएर अनेक गीत लेखिएका र गाइएका छन् । यम बरालले गाएको, बुद्धवीर लामाको शब्दको एउटा गीत छ, ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा... ।’ यस्तै, गंगाराज मुकारुङको शब्द र बुलु मुकारुङको संगीतमा अर्को गीत छ, ‘इलामे बजार चियाबारी राम्रो त्यही पर्‍यो घर हाम्रो... ।’

उपरोक्त गीतले इलामलाई आधार बनाएर मायाप्रेमका कुरा गरेका छन् । माया–प्रेमका गीतमा जब कुनै भूगोल आउँछ भने कल्पना गर्नुस्, त्यो ठाउँ कति सुन्दर होला !    

१५९ वर्षको चिया बगान इतिहास

डा. देवी क्षेत्री दुलालको पुस्तक ‘इलामको चिया पर्यटन’ अनुसार, इलाममा चियाको इतिहास जंगबहादुरका ज्वाइँ गजराजसिंंह थापासम्म पुग्छ । जंगबहादुरका ४२ रानीमध्ये जेठी नन्दकुमारीबाट जन्मिएकी जेठी छोरी वदनकुमारी देवी (मगरनी मैयाँ)सँग थापाको विवाह भएको थियो । लमजुङ पुख्र्यौली थलो भएको थापाका पुर्खा पृथ्वीनारायण शाहको राज्य विस्तारमा लडाकु दस्ताका रूपमा खटिएका थिए । पृथ्वीनारायणले काठमाडौं विजय गरेसँगै उनका पुर्खा  काभ्रेपलाञ्चोकको ओपीमा बसी व्यापार–व्यवसाय गर्न थाले । गजराजको जन्म पनि त्यहीँ भएको थियो । सत्तामा जंगबहादुर उदाएपछि गजराजका बाजे श्यामसिंह सर्वस्वहरणमा परे । जंगबहादुरले तीनपल्ट सर्वस्वहरण गर्दा पनि व्यापारमा उनीहरूको संघर्ष रोकिएन । पछि गजराजलाई छोरी दिएर जंगबहादुरले सम्बन्ध थप सुधारे । छोरीसँगै जंगबहादुरले गजराजलाई इलाम गौँडा खुवा (बिर्ता)को रूपमा दिएका थिए । उसो त गजराजका बुवा काजी हेमदल थापा १८७६ सालदेखि १९२० सम्म इलाम गौँडाका बडाहाकिम रहेका थिए । 

कफी तथा चिया विकास शाखा कीर्तिपुरबाट प्रकाशित सुधीर श्रेष्ठको पुस्तक ‘चियाखेती म्यानुअल’मा उल्लेख भए अनुसार, १९२० सालमा प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्कंदा चिनियाँ सम्राटबाट चिनियाँ जातको चियाको बीउ उपहार पाएका थिए । जंगबहादुरबाट सो बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम गजराजले पाए । यसरी १९२० सालमा ‘इलाम चिया कमान’ र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना गरियो । 

डा. दुलालको पुस्तक अनुसार, गजराजले खुवाका रूपमा पाएकाले चियाका यी बगान ४५ वर्षसम्म निजी रूपमै रहे । १९६५ सालदेखि मात्र यसबाट हुने आम्दानीलाई इलाम जिल्लामा समावेश गरेको देखिन्छ । 

चियाखेतीको इतिहासमा पहिलोपटक नेपालमा चिया बगान बनाउने गजराज नै हुन् । थापाकै नेतृत्वमा वि.सं. १९३२–३४ मा इलाम बजारमा आधुनिक चिया प्रशोधन कारखाना बन्यो, जसले १९३५ बाट चिया उत्पादन प्रारम्भ गरेको थियो ।

प्रजातन्त्र आएपछि, वि.सं. २०१५–२०१६ सम्म सन्तवीर लामा (पाख्रिन) इलामको गभर्नर रहेका थिए । आफू गभर्नर रहेकै बेला उनले लेखेको पुस्तक ‘इलामदर्पण’मा उल्लेख छ, ‘पुगनपुग ९० वर्ष पुरानो चिया बगान समुचित हेरचाहको कमीले गर्दा क्रमशः क्षीण हुँदै गइरहेको छ । तैपनि अहिले यहाँ दुईवटा चिया कारखाना एनकेन प्रकारेण चलिरहेकै छन् ।’

यस पुस्तक अनुसार, त्यतिबेला इलामबाट आलु, अलैँची, चिरैता, मजिटा, घिउ, सुँगुरको जगर, पशुपक्षी लगायत अन्दाजी २०–२५ लाख रुपैयाँको जिनिस विदेश निकासी हुन्थ्यो । यस्तै, विदेशबाट घरेलु सामान कपडा, नुन इत्यादि करिब १८–२० लाखसम्मको पैठारी हुन्थ्यो । 

२०१६ सालमा निजीस्तरबाट झापाको रंगिया डाँडामा ‘बुधकरण टी स्टेट’ थालनी भयो । २०२१ सालमा भूमिसुधार नीति लागूपछि झापाका गिरीहरू सामूहिक रूपले चियाखेतीमा लागेको देखिन्छ । 

राजा वीरेन्द्र युवराज हुँदा २०२८ पुस २१ गते कन्याममा एक जोडी चिया रोपेर चियाखेती सुरु गरेका थिए । यसरी सुरु भएको चिया बगानमा २०४१ चैतमा आधुनिक चिया प्रशोधन कारखाना खुल्यो, जसको उद्घाटन वीरेन्द्रबाटै भएको थियो । वीरेन्द्रबाटै २०३९ सालमा पूर्वाञ्चलका इलाम, झापा, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लालाई चिया क्षेत्रको रूपमा घोषणा गरिएको थियो । उसपछि इलामको कन्याम (५३० एकड), चिलिमकोट (५०० एकड) र झापामा दुईवटा चिया कमान स्थापना भएका थिए । त्यसो त २०२३ सालमै ‘नेपाल चिया विकास निगम’को स्थापना गरी चियाको प्रवद्र्धनका काम भएको देखिन्छ । 

सात बगान ५० वर्षका लागि भाडामा

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनालका अनुसार, ०५७ सालदेखि इलाम र झापाका गरी सातवटा चिया बगान ५० वर्षका लागि त्रिवेणी ग्रुपलाई भाडामा दिइएको छ । जसमा कन्याम, सोक्तिम, इलाम, चिलिङकोट, बर्ने, बाह्रदशी र टोकला छन् । ‘यी सात बगानमध्ये ३५ प्रतिशत जग्गा नेपाल सरकारकै स्वामित्वमा छ,’ बोर्डका निर्देशक खनालले भने, ‘६५ प्रतिशत मात्रै भाडामा दिइएको हो ।’

संघीयतापछि अधिकार सम्पन्न हुन पुगेका स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने चिया बगान आफूहरूकै स्वामित्वमा फर्काउने कोसिस पनि गरेका छन् । 

२६ कात्तिकमा इलाम नगरपालिकाका पूर्वमेयर तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत केन्याममा भेटिएका थिए । उनले रातोपाटीलाई भने, ‘म जनप्रतिनिधि भएकै बेला यी बगानको निजीकरण प्रक्रिया थालेका थियौँ । कन्याम, इलाम र माइपुरका दुईवटा बगान हामीले स्थानीय पालिकाबाटै सञ्चालन गर्छौं भनेका थियौँ । तर सरकारले फिर्ता गरिदिएन । म निर्वाचित (सांसदमा) भएँ भने फिर्ताको पहल गर्नेछु ।’

उनी बोलीको कति पक्का हुने हुन्, हेर्न बाँकी छ । 

इलाम नगरपालिकाको प्रमुखमा अहिले गजराजसिंह थापाकै सन्तान–दरसन्तान छन्, केदार थापा । नेपाल सरकारले नै भाडामा दिएका कारण त्यसलाई फिर्ता गर्ने आफूहरूको कुनै योजना नरहेको उनी बताउँछन् । मंगलबार उनले टेलिफोनमा भने, ‘गजराज थापाकै सन्तान–दरसन्तान हौँ हामी । १५९ वर्षअघि उहाँले रोपेका चियाका बोट अहिले बुढा भएका छन्, उत्पादन कम देखिन्छ ।’   

चियाको इतिहास

चियाको उत्पत्तिकथा पूर्वी एसिया, खासगरी उत्तरी बर्मा र चीनको दक्षिण–पश्चिम क्षेत्रको सीमानातिर पुग्छ । चिनियाँ किंवदन्ती अनुसार, चियाको आविष्कार ईशापूर्व २७३७ मा तत्कालीन सम्राट सेनोङले गरेका थिए । 

चीनको ऐतिहासिक अभिलेखहरू भन्छन्– चीनको युनानका आदिवासी पुहरूले चिया उत्पादन गर्न थालेका थिए, चिनियाँ शाङ (ईशापूर्व १६००–१०४५) र झोउ राजवंश (ईशापूर्व १०४६–२५६) को प्रारम्भतिर चिया राजाहरूलाई सम्मानका साथ प्रदान गरिन्थ्यो । 

ताङ वंश (सन् ६१८–९०७)का बेला स्वाद र स्फूर्तिका लागि चियाको सेवन सुरु हुन थाल्यो । यसरी चीनमा संस्कृतिको रूप लिन थालेको चिया क्रमशः जापान, पश्चिमा देश हुँदै १७औँ शताब्दीमा बेलायतमा लोकप्रिय हुन पुग्यो । ब्रिटिस शासन सुरु भएसँगै चिया भारत भित्रिएको हो ।

गजराजले पहिलोपटक इलाममा चिया बगान सुरु गर्दा भारतको दार्जिलिङमा चियाको व्यवस्थित खेती सुरु भइसकेको थियो । सन् १९५३ मा भारतको ‘टी बोर्ड’ले ‘म भारतीय चिया हुँ’ शीर्षकको सानो पुस्तिका प्रकाशित गरेको थियो । यस पुस्तिका अनुसार, भारतमा १८९ वर्षअघि चिया रोप्न सुरु गरिएको थियो । 

दार्जिलिङमा भने १८३ वर्षअघि (वि.सं. १८९६ मा) पहिलोपटक आलुबारी चियाकमान स्थापना भएको थियो । आलुबारी चियाकमानभन्दा २४ वर्ष मात्र कान्छो छ, गजराजले लगाएको ‘इलाम चिया बगान’ ।

आजभन्दा ५९ वर्षअघि पनि भारतमा ६ हजार ६०० भन्दा बढी चिया बगान थिए, सात लाख ८९ हजार ४७० एकडमा । पुस्तिकामा उल्लेख छ, ‘दार्जिलिङ विश्व प्रख्यात पहाडहरु हिमालयको काखमा छ । यहाँको पहाडी शुद्ध वासना र सुगन्धसहितको चियासँग अरु कुनै चियाले प्रतियोगिता गर्न सकेको छैन ।’  

सुरुवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा नेपालले दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नुपर्ने अवस्था थियो । यसैलाई ध्यानमा राखी २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलोपटक प्रशोधन कारखाना स्थापना गरियो ।

बिनु योल्मुकहाँ चिया पिउँदा...

२५ कात्तिकमा रातोपाटी टिम चुनावी रिपोर्टिङका लागि इलामको सूर्योदय–६, सहिदपार्क पुगेको थियो, जहाँ झलनाथ खनालले चुनावी भाषण गरेका थिए ।

पार्कनजिकै बिनु योल्मुको घर छ, जहाँ उनकी छोरीले किरानासहितको चियापसल पनि चलाएकी छन् । पसलमा चिया खाँदै गर्दा ५१ वर्षीया बिनुसँग हाम्रो चिया–संवाद भएको थियो । ३२ रोपनीमा चियाखेती गर्ने बिनुले पूर्वेली लबजमा भनिन्, ‘हामी बुढाबुढीले खेती गर्ने हौ, छोराले फिक्कलमा क्याफे चलाउँछ, छोरी यो पसलमा बस्छे ।’ 

बिनुका अनुसार, दुईपाते सुइरो भएको एक केजी चियाको मूल्य ४० रुपैयाँसम्म पर्छ, नत्र २०–३० रुपैयाँ केजीमै बेच्नुपर्छ । एक केजी चिया टिप्ने मजदुरले १२ रुपैयाँ पाउँछन् । बिनुले चिया टिप्न अन्य किसानसँग पर्म पनि गर्छिन्, मजदुर पनि बोलाउँछिन् । अचेल चियामा विषादि छर्न पाइँदैन, छरेको थाहा पाए चिया व्यापारीले किनिदिँदैनन् । युरिया मल पनि रोपनीका हिसाबले राख्नुपर्छ । ‘पहिले जस्तो एउटा गाँछलाई हातमा जति आयो त्यति मल राख्न पाइँदैन,’ उनले भनिन्, ‘त्यही भएर चियालाई रोग लागेको छ ।’ 

सिस्नो, धोक्रेफूल, तितेपाती र गाईको गहुँतमा कुहाएर कीरा मार्ने औषधि बनाउन यहाँका कृषकलाई सिकाइएको रहेछ । ‘यसले मुनामा लागेको कीरालाई मार्छ । गाईको मुतमा भुसुना कीरा लाग्ने हौ । त्यसले पनि मुना खाने, पात कोप्राउने गर्छ,’ उनले भनिन्, ‘अहिले चिया डढेको छ, चैतदेखि राम्रो पलाउला । पहिले विषादि छर्न पाउँदा हामीले हप्तामा एकचोटि टिप्थ्यौँ, अहिले १५ दिनमा एकपटक टिप्छौँ ।’

यहाँ वर्षमा सात–आठ महिना (चैतदेखि मंसिरसम्म) मुना टिप्न पाइन्छ । मंसिरदेखि चैतसम्म मुना पलाउँदैन । 

आज बिनु चियाका पत्तीसँग खेल्न थालेको ३२ वर्ष भयो । सुरुमा उनका ससुराले केही जग्गामा चिया रोपेका थिए । बिनु दम्पतीले त्यसको स्याहारसम्भार गर्दै चियाका बोट बढाउँदै गए । ‘सिजनका बेला (असार साउनमा) एकपटकमै हजार देखि १५ सय किलोसम्म बेच्छौँ,’ उनले भनिन्, ‘एकपटकमा मजदुरलाई दिएर त्यही ३५–४० हजार रुपैयाँ हुन्छ ।’

चिया पिएर सकेपछि उनले हामीलाई आफ्नो चिया बगानमा लगिन् ।  चियाको बोटबाट डाँठसहितको पात टिपेर भनिन्, ‘यसैबाट चियाको बोट तयार गरिन्छ । यसलाई ब्याडमा राख्नुपर्छ, दुई वर्षभित्र बिरुवा तयार हुन्छ ।’

डा. देवी क्षेत्री दुलालले २०७० चैतमा प्रकाशन गरेको पुस्तक अनुसार, नेपालमा कुल १८,१४९ हेक्टर जमिन चियाखेतीले ढाकेको छ । त्यसमध्ये ५,६३८ हेक्टर (३२ प्रतिशत) हरियो सुन भनेर चिनिने इलामले ओगटेको छ । यहाँ १८ वटा ठूला र २० वटा लघु प्रशोधन कारखानाबाट हजारौँ मेट्रिक टन चिया उत्पादन भइरहेको छ । अहिले भने यो तथ्यांंकमा निश्चय नै केही वृद्धि भएको छ ।  

इलामको नाम

इलामको नाम रहनुको अनेक सन्दर्भ पाइन्छन् । कृष्णप्रकाश श्रेष्ठको पुस्तक ‘स्थाननामकोश’का अनुसार, लिम्बु भाषामा ‘इ’को अर्थ ’घुमाउरो’ र ‘लाम’को अर्थ ‘बाटो’ भन्ने हुन्छ । यस जिल्लामा घुमाउरा बाटा धेरै भएको हुँदा इलाम नाम सार्थक पनि लाग्छ । 

इमानसिंह चेम्जोङका भनाइअनुसार, पर्सियाका मानिस आफ्नो देशलाई ‘इलाम’ भन्थे, त्यहाँबाट लडाइँ हारेर भागेका केही यहाँ आइपुगे र यहाँको जंगल फाँडेर बस्ती बसाले । आफ्नो देशको सम्झनामा उनीहरूले यसको नाम इलाम राखे र आफूलाई ‘इलाम्भू’ भन्न थाले । 

यस्तै, लिम्बुहरू इलामका आदिवासी लेप्चाहरूलाई ‘इमेम्पा’ भन्छन् । लेप्चा भाषामा ‘इलाङ्ग’को अर्थ माहुरीको मैन हुन्छ, यसैको आधारमा यस ठाउँको नाम इलाम रहेको पनि बताइन्छ । 

इसाको नवौँ शताब्दीमा यो क्षेत्र उबा हाङको आधिपत्यमा आएको थियो । भनिन्छ, दक्षिणी तिब्बतको केही भाग जितेर सम्पूर्ण किरात प्रदेशमा आधिपत्य जमाएपछि उनले किरात धर्म लाद्न खोजे । त्यसैले बौद्ध धर्मावलम्बी लेप्चाहरू सिक्किम र भुटानतिर बसाइँ सर्न बाध्य भए । १८औँ शताब्दीमा तमोर नदीपूर्व लिम्बूवानको भूभागसहित इलाम पनि सिक्किमको अधीनमा गयो । सन् १७७४ मा गोर्खाली फौजले बिजेपुर दखल गरेपछि पहाडका कैयौं किरात नाइकेले किपटजग्गामा आफ्नो स्वायत्त अधिकारसहित गोरखालीको आधिपत्य स्विकारेका थिए । इलामका शासक हाङ्सु फुबाले पनि यसरी नै स्थानीय स्वायत्तता प्राप्त गरे, इलाममा गोरखाली फौज रहन थाल्यो ।

इलामको नाम र इतिहाससम्बन्धी यी सबै प्रसंग मैले श्रेष्ठको पुस्तक ‘स्थाननामकोश’बाटै लिएको हुँ । मलाई यो पुस्तक प्रामाणिक लाग्छ । 

केही किंवदन्ती

रनबहादुर कार्कीको पुस्तक अनुसार, इलामसँग जोडिएका केही किंवदन्ती छन् । उनी ‘इलाम बजारका दुई सुन्दरीहरू’ शीर्षक दिएर लेख्छन्– यस इलाम बजारमा दुइटी अति राम्रा सुन्दरी छन् । यिनीहरू कहिलेकाहीँ मात्र देखापर्छन् । रातको सुनसान समयमा भीमसेनस्थानबाट चोकबजार हुँदै माईस्थान मन्दिर जाने बाटोबाट छुट्टिएर एक्लाएक्लै हिँडेको पनि देखिन्छ । हिँड्दाहिँड्दै कतै हराउँछन् भने कतै बिलाउँछन् भनेको सुन्न पाइन्छ । 

कुनै युवकसँग यौनसम्बन्ध स्थापित गर्न यस्ता किचकन्नीहरू सुन्दरीको रूप धारण गरेर हिँड्छन् भन्ने विश्वास गरिन्छ । कुनै यवकसँग यौनसम्बन्ध रह्यो भने त्यो युवक दिन पर दिन दुब्लाउँदै गएर अन्त्यमा मर्छ भनिन्छ ।  

यस्तै, इलाम बजारमा एक घोडचढीको पनि किंवदन्ती सुन्न पाइन्छ । धेरै अघिदेखि, सेतो लुगा लगाएको अग्लो मान्छे घोडा चढेर कुनै औँसी–पूर्णेको दिन इलाम बजारको वरपर घुम्ने गर्छ । आज राति अग्लो मान्छे घोडामा चढेर यताबाट उता गयो प्रत्यक्षदर्शीले भन्ने गर्थे ।  

विकासप्रेमी काले दमाई 

रनबहादुर कार्कीका अनुसार, इलाममा साँघु र एउटा धर्मशाला काले नामका दमाईले बनाएका छन् । इलाम फूलगाँछी हुँदै साङरुम्बा जाने बाटोको बीचमा पर्ने पुवाखोलामा उनले १९९१ सालमा एउटा झोलुंगेपुल बनाएका थिए । 

इलाम बजार हुँदै माइबेनी जाने बाटोबीच पर्ने तिल्केनी गाउँमा १९९३ सालमा एउटा पाटी र पहाड–मधेस छुट्ट्याउने थाक्ले भन्ने चुलीडाँडामा १९८९ सालमा एक धर्मशाला पनि उनैले बनाएका थिए । रनबहादुर लेख्छन्– पुल निर्माण कार्यका लागि हुकुम आदेश गराउन यी काले दमाई कतिचोटि काठमाडौं गए होला । जान्नेबुझ्ने बूढापाका कुरा गर्छन्— उनको घरमा बाहुन जातको गुरु पुरोहित समेत पाहुना लाग्न जान्थे, उनीहरूको निमित्त तह अनुरूपको खाने–बस्ने छुट्टै व्यवस्था थियो । उनी पनि अरुका घरमा जाँदा पिँढीमा राडी ओछ्याएर सम्मानजनक व्यवहार गरिन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप