शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कम्बोडियामा मृत्युअघि निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेज : दाइ मेरो लाश नेपाल पठाउन पहल गरिदिनू है !

शनिबार, १६ पुस २०७९, ०० : १२
शनिबार, १६ पुस २०७९

झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।

तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोको क्यासिनोमा उनी एक साथी (नेपाली वा विदेशी नखुलेको) सँगै पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार  हुन नसकेपछि  झ्यालबाट हामफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले रातोपाटीलाई जानकारी दिए । झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कम्बोडियाकै तीन सहर सेमरिप, बाटाबहुँ र राजधानी फोनमपेनमा व्यापार गर्दै आएका खड्कासँग दुई दिनअघि मात्रै पाण्डेले भेट गरेका थिए । सो क्रममा निराकारले आफूले कम्बोडियामा व्यापार गर्न चाहेको र सहयोगको आग्रह गरेका थिए । दशैँअघि पहिलो पटक आफ्नो रेस्टुरेन्टमा आएकै बेला पाण्डेसँग भेट भएको उनले स्मरण गरे । उनी फरासिला र मिजासिलो व्यक्तित्वका रुपमा आफूले पाएको खड्काले रातोपाटीलाई बताए । ‘दशैँअघि मेरो रेस्टुरेन्टमा आइपुग्नु भएको थियो । त्यतिबेला चिनजान भएसँगै एनआरएनएको अध्यक्ष हुनुहुँदो रहेछ सहयोग चाहियो भन्नुभएको थियो’, खड्काले स्मरण गरे, ‘यहाँ एक महिनाको पर्यटक भिसा र पछि यतैबाट एक महिना थप्न मिल्नेगरी दुई महिनाको भिसा हुन्छ । त्यतिबेला भिसा सकिन लागेकाले नेपाल फर्केर फेरि आउँछु भनेर फर्कनु भएको थियो र तिहार सकेर आइहाल्नु भयो ।’ कम्बोडिया फर्किएपछि राजधानी सहर फोनमपेनमा दुई दिनअघिमात्र भेट भएको र सो क्रममा रेस्टुरेन्ट व्यवसाय गर्न लागेको सुनाएको खड्काले स्मरण गरे । तर, बिडम्बना, हृदयविदारक घटना सत्य भएपनि विश्वास गर्न गाह्रो भइरहेको खड्काले बताए ।

भेटका क्रममा पाण्डेले आफू पोइपेट जान लागेको र फेरि भेट्ने बाचा गरेर खड्कासँग छुट्टिएका थिए । एकाएक बिहीबार राति आफू आपतमा परेको भन्दै पाण्डेको भ्वाइस मेसेज पाएको बताउँदै उनले भने, ‘घटना भएको बिहीबार राति उहाँले तीन बजे भ्वाइस मेसेज पठाउनु भएको रहेछ  । यस्तै बिहान पाँच बजेर ५० मिनेटमा फेरि रिपिट पठाउनु भएको रहेछ’, उनले रातोपाटीसँग भने, ‘राति इन्टरनेट बन्द गरेर सुतेकाले ढिलामात्रै खबर पाएँ ।’

उठेर मोबाइल चेक गर्दा निराकारको मेसेज देखेको र सोधखोज गर्दा दुःखद घटना भइसकेको खबर पाएको उनले बताए ।  ‘मलाई जस्तै मेसेज उहाँले अन्य साथीहरु र घरमा पनि गर्नु भएको रहेछ’, विस्मयका साथ खड्काले भने, ‘दशौँ तलाबाट हामफालेर उहाँको दुःखद मृत्युको खबरले यहाँको नेपाली समूदाय स्तब्ध बनेको छ ।’

यसैबीच खड्कासहितको टोली १० घण्टाको यात्रा तय गरेर घटनास्थलमा पुगेर अवस्था बुझेर फर्किएको छ ।  पाण्डेको शव अहिले स्थानीय बौद्ध गुम्बाको आइसमा बक्समा राखिएको छ ।  घटनालगत्तै नेपाली दूतावास थाइल्याण्डबाट प्रथम सचिव खगराज पाण्डेको टोली पनि पेइपेट पुगेको खड्काले जानकारी दिए । उनले शव नेपाल पठाउनका लागि एनआरएनएसहित दूतावासले आवश्यक पहल गरिरहेको र छिट्टै सबैको समन्वयमा पठाइने बताए ।

एनआरएनए कम्बोडियाले परिवारसँग पनि सम्पर्क गरेको उल्लेख गर्दै खड्काले परिवारले शव नेपाल पठाउनका लागि आर्थिक लगायतका सहयोगको आग्रह गरेमा त्यसमा पनि लागिने बताए । उसो त एनआरएनएका अध्यक्ष कुल आचार्य बद्री केसी, उपमहासचिव रामशरण सिम्खडालगायतलेसमेत यसबारे गम्भीरता दर्शाउँदै नेपाल शव पठाउन पहल लिइरहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले बिजुली सर्ट भएर भीषण आगलागी भएको जनाएका छन् ।  त्यही कार्यरत केहीले भने किचेनबाट ग्यास लिक भइ एकाएक आगो सल्किएको आफूहरुले देखेको बताएका छन् । सोही क्यासिनोमा तीन नेपाली कार्यरत रहेको र उनीहरु सबैको भने भागेर ज्यान जोगिएको खबर प्राप्त भएको खड्काले जानकारी दिए ।  कम्बोडिया नेपालीहरुको निकै कम उपस्थिति भएको देश हो । सो देशमा साढे दुई सयको हाराहारीमा नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत छन् ।

एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का

भुइँ तलाबाट माथिल्लो तलातर्फ आगो सर्दै गएपछि निराकारले चिनेजानेका र आफन्तलाई फोन तथा भ्वाइस एसएमएस थालेको बताइएको छ । सो आपतको समयमा उनले झापास्थित घरमा रहेका बुबा, आमा, श्रीमती, दाइलगायतसँग समेत कुराकानी गरेका थिए ।  उनको बुबा स्थानीयस्तरमा राजनीतिमा संलग्न रहेको बताइएको छ ।

१८ तले क्यासिनो तथा होटलको १० औं तलाबाट उनी केही नलागेपछि हामफालेको बताइएको छ । उनी होटलबाट हामफाल्दाका हृदयविदारक तस्बिरहरु सामाजिक सञ्जालमार्फत बाहिर आएका छन् । सो घटनामा पाण्डेसहित २४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तै ७० भन्दा बढी घाइते हुनुका साथै केही अझै भवनमा च्यापिएको हुनसक्ने उद्धारकर्ताहरुले बताएका छन् । आगलागीबाट भवन ध्वस्त बनेको छ ।

निराकार पाण्डेको यस्तो छ हृदयविदारक भ्वाइस मेसेज

एनआरएनए कम्बोडियाका अध्यक्ष खड्कालाई पाण्डेले तीन वटा अडियो क्लिप पठाएका छन् । जसमा उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन् ।  उनले एउटा भ्वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो । झापा जिल्लाको बिर्तामोड १ मा मेरो घर छ । मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेसको नाम शशीकला लोहनी हो । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु । मेरो रुम नम्बर १२२७ हो दाइ, यहाँ भीषण आगलागी भयो । मैले तपाईँको नम्बर मेरो सिसेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाईँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु, मर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ । होटल पोइपेट बोर्डरसँगै छ।  यो थाइल्याण्डको बोर्डरसँगै छ ।'

१३ सेकेन्डको अर्को एउटा भ्वाइस मेसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है दाइ । मेरो लाश नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ ।’ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप