शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

चार स्वास्थ्य चौकीलाई औषधि वितरण

मङ्गलबार, ०८ मङ्सिर २०७२, ०९ : ५३
मङ्गलबार, ०८ मङ्सिर २०७२
भक्तपुर–स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएपछि पूर्व उद्योग मन्त्री एवम् मानवीय आस्था नेपालका संरक्षक महेश बस्नेतले चारवटा स्वास्थ्य चौकीलाई औषधि वितरण गरेका हुन् । भारतीय नाकाबन्दीका कारण औषधि आयात हुन नसक्दा भक्तपुरका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएपछि मानवीय आस्था नेपालले सङ्कलन गरेको औषधि उनले वितरण गरेका हुन् । गत वैशाखको विनाशकारी भूकम्पमा उद्धारका क्रममा घाइतेलाई वितरण गर्न ल्याएर बाँकी रहेका तथा विभिन्न ठाउँबाट सङ्कलन गरिएका रु दुई लाख ६८ हजार मूल्य बराबरको ३८ प्रकारका औषधि वितरण गरिएको हो । अनन्तलिङ्गेश्वर नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा जिल्लाको सिरुटार स्वास्थ्य चौकी, बालकोट स्वास्थ्य चौकी, दधिकोट स्वास्थ्य चौकी र गुण्डु स्वास्थ्य चौकीलाई औषधि वितरण गरिएको हो । औषधि वितरण गर्दै पूर्वमन्त्री बस्नेतले भारतीय नाकाबन्दीका कारण देशभर औषधिको अभाव भइरहेको बताउँदै भारत नेपालको असल छिमेकी हुन नसकेको बताए । युद्धका बेलामा समेत नरोकिने औषधिको आयातलाई रोकेर भारतले विश्वसमक्ष मानव अधिकार उल्लङ्घनको नमुना प्रस्तुत गरेको उनको भनाइ थियो । मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जीतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल, राजनीतिक दलका प्रतिनिधिहरुका तर्फबाट शशिजङ्ग थापालगायतले नाकाबन्दीले मानवीय स्वास्थ्य सङ्कटमा परेको धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप