अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी हटाइएको पुष्टि गर्दै केही अमेरिकी जहाज क्षेत्रमै रहने जनाएको छ ।
यसैबिच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका–इरान सम्झौताबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले आफूले व्यक्तिगत रूपमा फरक धारणा राखे पनि राष्ट्रपति मसुद पेजेशकियनले इरानी जनताको अधिकार सुरक्षित राख्ने आश्वासन दिएपछि सम्झौतालाई स्वीकृति दिएको बताएका छन् ।
ट्रम्पले सम्झौता गराउन हतास भएर सबै प्रकारका दबाब र प्रभाव प्रयोग गरेको आरोप खामेनीले लगाए । उनले भविष्यमा तेहरान र वासिङ्टनबिच प्रत्यक्ष वार्ता हुने भए पनि त्यसले शत्रुको धारणा स्वीकार गरेको अर्थ नलाग्ने स्पष्ट पारे । मार्चमा पद सम्हालेपछि खामेनीको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो । उनका पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनी फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणमा मारिएपछि उनी नेतृत्वमा आएका थिए ।
अमेरिका र इरानबिच भएको १४ बुँदे समझदारीपत्र (एमओयू) अनुसार दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गर्नेछन् । आपसी सहमतिमा उक्त अवधि थप गर्न सकिने व्यवस्था पनि छ । सम्झौताका प्रमुख बुँदाहरूमा स्टेट अफ होर्मुज पुनः सञ्चालन गर्ने, इरानले कहिल्यै परमाणु हतियार नबनाउने सुनिश्चित गर्ने, इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३ खर्ब डलरको कोष स्थापना गर्ने, इरानको समृद्ध युरेनियम भण्डार नष्ट गर्ने र क्षेत्रीय सशस्त्र सहयोगी समूहहरूलाई आर्थिक सहयोग नदिने प्रतिबद्धता समावेश छन् ।
यद्यपि उक्त पुनर्निर्माण कोषमा अमेरिकाले प्रत्यक्ष योगदान गर्नुपर्ने बाध्यता छैन । सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्वीट्जरल्यान्डमा हुने तय भएको थियो । तर मध्यस्थकर्ताको भूमिका निभाएको पाकिस्तानका अनुसार सम्झौतामा दूरसञ्चार माध्यमबाटै हस्ताक्षर भइसकेकाले समारोह रद्द गरिएको छ । अमेरिकी र इरानी प्रतिनिधिहरू भने थप प्राविधिक वार्ताका लागि स्वीट्जरल्यान्डमा भेट्ने अपेक्षा गरिएको छ ।
सम्झौता लागू भइसकेको र अब ६० दिने वार्ता अवधि सुरु भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनी वार्ताका लागि स्वीटजरल्यान्ड जाने भनिए पनि अहिलेको लागि सो यात्रा स्थगित भएको बताइएको छ । ट्रम्पको इरान नीति र सम्झौताले अमेरिकाभित्र, विशेषगरी रिपब्लिकन पार्टीका केही नेताहरूबाट आलोचना खेपिरहेको छ ।
रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई दशकौँयताकै विदेश नीति सम्बन्धी सबैभन्दा खराब गल्ती भन्दै आलोचना गरेका छन् । उनका अनुसार इरानको परमाणु महत्वाकांक्षा रोकिएको छैन र होर्मुज बन्द गर्ने धम्की प्रभावकारी हुने सन्देश गएको छ । तर उपराष्ट्रपति भान्सले इरानले सम्झौताका दायित्व पूरा नगरेसम्म कुनै आर्थिक राहत वा प्रतिबन्ध हटाइने सुविधा नपाउने बताएका छन् ।
अमेरिका–इरान सम्झौता सार्वजनिक भएपनि इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच आक्रमण–प्रत्याक्रमण जारी छ । लेबनानमा बिहीबार भएका केही आक्रमणमा तीन जनाको मृत्यु भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँगको निकट सम्बन्धको महत्व दोहोर्याउँदै युद्धका क्रममा वासिङ्टनले इजरायललाई पूर्ण समर्थन गरेको बताएका छन् । उपराष्ट्रपति भान्सले भने इजरायलले इरानसँगको शान्ति प्रक्रियाको सम्मान गर्नुपर्ने बताउँदै लेबनानको राजधानी बेरुतमा सर्वसाधारण मारिने प्रकारका आक्रमण स्वीकार्य नहुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण