बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जाडोमा भूकम्पपीडितलाई सकस, अनिदोमै बित्ने गर्छ शिविरमा रात

आइतबार, ०५ पुस २०७२, १३ : ३४
आइतबार, ०५ पुस २०७२
भक्तपुर– जाडोमा चिसो बढेसँगै शिविरमा बस्दै आएका यहाँकाम भूकम्पीडितको रात अनिदोमै बित्न थालेको छ । त्रिपाल, पाल र जस्ताको टहरामा बस्दै आएका भक्तपुर नगरपालिका १७ नःपुखु स्थित शिविरका पीडितले साँझ परेपछि नै चिसो आउने र राति शीत चुहिने भएपछि कहिले उज्यालो होला र घाम तापौँला भनेर अनिदोमै रात बिताउने गरेका छन् । इताछे घर भई हाल नःपुखु शिविरमा बस्दै आउनुभएकी लक्ष्मी गोथे चिसो बढेसँगै पालभित्र शीत चुहिएर निकै कठिन हुने भएपछि शिविरका भूकम्पपीडितलाई दिनभन्दा रात बिताउन कठिन हुने गरेको बताउँछन् । उनी भन्छन्—“बालबालिका र वृद्धवृद्धालाई बस्न निकै सकस हुन थाल्यो, बत्ती छैन, अँध्यारो छ, मोबाइलको बत्ती बालेर खाना खानुपर्छ, अँध्यारोमा बूढाबूढी लड्छन्, पिउने पानी र शौचालय नहुँदा झन् कठिन भएको छ ।” शौचालय नहुँदा झन् सकस भएको बताउदै गोथे गुनासो गर्नुहुन्छ । “चिसोले सासूलाई खोकी लागेको छ, शरीर सुन्निएको छ, भत्किएकै घरमा जाऔँ भन्दा पनि मान्नुहुन्न, मरे पनि यहीँ मर्छु भन्छन्” इताछे घर भई शिविरमा बस्ने रामेश्वरी भैल भन्छन्—“दुई वटा सिरक ओढे पनि बूढाबूढी रातभरि सुत्नै सक्दैनन्, बिहान भयो, कति बज्यो भनेर सोध्दैमा रात बित्छ , त्यसैले दिनभरि चौरमा घाम तापेर निद्रा पु¥याउनु परेको छ ।” चिसोले सुत्केरी र शिशुहरु बिरामी पर्न थालेका छन् । शिविरकी चार महिनाकी सुत्केरी मैयाँ गोथे भन्छन्—“एक महिनादेखि चिसोले बच्चा बिरामी भएको छ, कतिपय सुत्केरीले शिविर छाडिसके, समस्याले म जस्ता यहीँ बस्नु परेको छ ।” वैशाख १२ गतेको गोरखा भूकम्पमा २३ जनाको ज्यान गएको भक्तपुर २ जेलाँका भूकम्पीडितको समस्या पनि उस्तै नै छ, यहाँका भूकम्पपीडित रुकेश दुवाल भन्छन्—“तुषारो पर्न थालेपछि जस्ताको शिविरमा बस्नै नसक्ने भएका छौँ, शीत चुहिएर ओछ्याउन चिसै हुन्छ, बूढाबूढी र बच्चालाई शिविरको बसाइ कठिन बनेको छ ।” भूकम्पपीडितको परिचयपत्र भए पनि न्यानो कपडाका किन्न सरकारले बाँडेको रु १० हजार र टहरा निर्माण गर्न सुरुमा बाँडिएको रु १५ हजार पनि नगरपालिकाले पैसा सिद्धियो भनेर धेरैलाई नदिएको दुवालको गुनासो छ । टहरामा तातो पाउन घाम कुर्नु र भत्किएको घरको दाउरा, बाँस बालेर बस्नुको विकल्प भएको उनी बताउँछन् । ब्रह्मायणीको टहरामा बस्दै आएकी जेँलाकै रामलक्ष्मी दुवाल आँखाभरि आँसु पार्दै भन्छन्—“लिवालीमा टहरामा बसेका छौँ, पानी छैन, शौचालय छैन, बत्ती पनि छैन, रुनु कि, हाँस्नु कि, मरुँ कि भएको छ ।” भूकम्पले भत्किएको घरको भग्नावशेष खोतल्दै जेँलाका कान्छा दुवाल शिविरमा जाडो छल्न पुरिएको घरको काठ, दाउरा झिकेर लैजान लागेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप