बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चिया  उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'

बिहीबार, ०४ असार २०८३, १२ : ४८
बिहीबार, ०४ असार २०८३

सारांश

  • राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसद उर्मिला अर्यालले स्वदेशी उद्योग, विशेषगरी चिया निर्यातमा बारम्बार आउने समस्याप्रति चिन्ता व्यक्त गरिन्।
  • सांसद अर्यालले नेपाली चियाको गुणस्तर राम्रो भए पनि निकासीका क्रममा सिर्जित अवरोधहरू हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
  • उनले बन्द भएका उद्योगलाई पुनः सञ्चालनमा ल्याउन, सरकारी स्वामित्वका उद्योगलाई प्रतिस्पर्धी बनाउन र आत्मनिर्भर बन्ने सरकारी कार्यक्रमलाई प्रभावकारी बनाउन जोड दिइन्।

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद उर्मिला अर्यालले स्वदेशी उद्योगहरूले भोगिरहेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। विशेषगरी चिया  निर्यातमा बारम्बार देखा पर्ने समस्या र अवरोधहरूले देशको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबारे उहाँले समितिमा गम्भीर प्रश्न उठाइन्। 

समितिको बैठकमा सांसद अर्यालले चिया निकासीको विषयमा बारम्बार समस्या आइरहने गरेको भन्दै असन्तुष्टि जनाइन्। उनले भनिन्, 'चिया निकासीबारे सधैं समस्या आइरहन्छ, के यो हाम्रो कमजोरी हो? कि त पहिले निकासी हुने ठाउँमै समस्या छ? अथवा हाम्रो उत्पादनको गुणस्तरमा कमी छ?' उहाँले नेपाली चियाको गुणस्तर राम्रो भए पनि निकासीका क्रममा सिर्जित अवरोधहरू हटाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

बैठकमा बोल्दै उनले केही समय अघि बन्द भएका उद्योगहरूको अवस्था र तिनलाई पुनः सञ्चालनमा ल्याउने उपायबारे छलफल आवश्यक रहेको बताएकी छन्। हेटौँडा सिमेन्ट उद्योगलगायतका सरकारी स्वामित्वका उद्योगहरूलाई बजारमा प्रतिस्पर्धी बनाउन र सरकारले थप सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो। 

सांसद अर्यालले अहिलेको हाम्रो अर्थतन्त्रको स्थिति चिन्ताजनक रहेको उल्लेख गर्दै ‘आत्मनिर्भर’ बन्ने दिशामा सरकारको कार्यक्रम प्रभावकारी नभएको बताइन्। उनले भनिन्, 'हाम्रो योजना नै अलि बिग्रिएको हो कि जस्तो लागेको छ। हामी खाने बानीमा बढी भइरहेका छौँ, आत्मनिर्भर बन्ने किसिमले काम हुन सकेको देखिँदैन।' 

आगामी दिनमा समस्याहरूको समाधान खोज्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘पिन-पोइन्ट’ गरेर अर्थात् समस्याको जड पत्ता लगाएर समाधानका उपाय खोज्नुपर्नेमा उहाँको जोड थियो। उनले सरकारसँग समन्वय गरी अबको केही समयभित्रै कुन कुन उद्योगमा के-के सुधार आवश्यक छ, त्यसको ‘प्रोग्रेस रिपोर्ट’ तयार गरी कार्यान्वयन गर्न समितिमार्फत सरकारलाई आग्रह गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप