बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ

बिहीबार, ०४ असार २०८३, १२ : ४९
बिहीबार, ०४ असार २०८३

सारांश

  • सुर्खेतको एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृतकको पहिचान जाजरकोटको जुनीचाँदे गाउँपालिका घर भई हाल भेरीगंगामा बस्ने अन्दाजी ३८/३९ वर्षीय लोकबहादुर डाँगीको रूपमा भएको छ ।
  • घटनालाई शङ्कास्पद मानेर प्रहरीले सोही कोठामा बसेका ३० वर्षीय राकेश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ घर भई हाल भेरीगंगामा बसोबास गर्ने अन्दाजी ३८/३९ वर्षीय लोकबहादुर डाँगी रहेका छन् । उनको मृत्युलाई शङ्कास्पद रुपमा हेरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार मंगलबार राति साढे १० बजे भेरीगंगा–१२ बस्ने ३० वर्षीय राकेश सुनारले स्थानीय न्यू जाजरकोटी धर्मा शक्ति एन्ड लजको कोठा नम्बर ३ भाडामा लिएर बसेका थिए ।

सोही कोठामा राकेशले बुधबार बिहान साढे ४ बजेतिर मृतक लोकबहादुरलाई बोलाएका थिए । ‘हिजो बेलुका साढे ५ बजेतिर होटल सञ्चालक मानबहादुर खड्काकी छोरी मंगला कोठा चेकजाँच गर्न गइन्,’ प्रहरी प्रवक्ता बोहोराले भने–  ‘त्यहीबेला उनले डाँगी अचेत अवस्थामा कोठाभित्र फेला परेकाे देखिन् ।’

त्यसपछि डाँगीलाई तत्काल उद्धार गरी छिन्चुस्थित गणेश मेडिकलमा सामान्य उपचार गरियो । थप उपचारका लागि वडाअध्यक्ष रामबहादुर डाँगीको पहलमा उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयो ।

अस्पताल पुर्‍याएलगत्तै बेलुका साढे ६ बजेतिर चिकित्सकले डाँगीलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता बोहोराले बताए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले घटनालाई शङ्कास्पद मान्दै अनुसन्धानका लागि सोही कोठामा बसेका ३० वर्षीय राकेशलाई पक्राउ गरेको छ । ‘राकेशलाई अहिले इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप