यमनमा शान्तिवार्ताकैबीच हिंसा भड्कियो सेना र विद्रोहीगरी ६८ को मृत्यु, वार्ता नरोक्न दुबै पक्ष सहमत
आइतबार, ०५ पुस २०७२, १५ : ३६
आदेन– यमनमा हालैमात्र सुरु भएको युद्धविराम र त्यसपछिका सरकार र विद्रोहीबीचको वार्ताका कारण शान्तिको आशा पलाएको बताइरहेका बेला शनिबार अकस्मात हिंसा भड्किएको छ ।
शनिबार राति भएका सरकारी सेना र हुथी विद्रोहीबीचको झड्पमा परी कम्तीमा पनि ६८ जनाको ज्यान गएको छ ।
सरकारी र हुथी विद्रोहीका प्रतिनिधिबीच स्वीट्जरल्याण्डमा जारी वार्ता हिंसाका कारण अवरुद्ध हुने त्रास नागरिकमा बढेको छ ।
सो हिंसामा परी २८ जना सैनिक मारिएका छन् । बाँकी मारिनेमा हुथी विद्रोहीहरु परेका छन् । युद्धविराम सुरु भएको हप्तादिन पुगेको छ । तर अहिले नै यसको उल्लङ्घन भएको छ ।
जारी युद्धविरामको उल्लङ्घनमा एकले अर्कोलाई दोषारोपण गरेका छन् । शनिबार भएको सो भिडन्तमा पनि एकले अर्कोलाई पहिला आक्रमण गरेको बताएका छन् ।
यसैहप्ता सुरु भएको दुवै तर्फको युद्धविराम प्रभावकारी भएको समाचारमा जनाइएको थियो । सो युद्धविराम सात दिनको लागि भनिएको थियो र त्यसबीचमा जारी शान्तिवार्ताका क्रममा सहमतिका आशाहरु पनि उब्जिएका सरकारी अधिकारीहरुले नै जनाएका थिए ।
साउदी अरेबियाको समर्थन रहेको यमनी सरकार र सिया हुथी समूहबीच देशको युद्धग्रस्त प्रान्तहरुमा सो युद्धविराम उल्लङ्घन भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
जारी शान्तिवार्ता संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको हो । यमनका हुथी विद्रोहीहरु शान्तिवार्तामा इमान्दार देखिएको अधिकारीहरुको भनाई थियो ।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि स्माइल ओल्ड चेख अहमदले सो युद्धविरामको उल्लंघनले आफुलाई स्तब्ध बनाएको बताएका छन् ।
उनले भने– शान्ति प्रक्रिया नियमित र आशालाग्दो रुपमा अघि बढिरहेको बेला यसरी हिंसा फैलिनु कसैको पक्षमा पनि नरहेको बताए ।
वार्ताको सफलताका लागि यो हप्तायतामात्र धेरै नै काम भएका थिए । त्यहाँका विद्रोही र सरकारी वार्ताटोलीबीच भएको सहमति बमोजिम गएको बिहीबार उनीहरुले एक आपसका बन्दीहरु पनि रिहा गरिसकेका छन् ।
विद्रोहीले आफ्ना बन्दी रिहा गरिनुपर्ने माग गरेपछि सरकारले पनि त्यसमा समर्थन जनाएको थियो । सरकारका पनि केही समर्थकलाई उनीहरुले बन्दी बनाएकोमा तिनीहरुलाई विद्रोहीले पनि रिहा गरिदिएका छन् ।
सरकारतर्फका वार्ता टोलीका सदस्यले हालैमात्र स्वीट्जरल्याण्डमा बोल्दै यस पटक यमनमा विद्रोहीहरु युद्धविरामप्रति इमान्दार हुने अपेक्षा गरेको जनाएका थिए ।
हुथी विद्रोहीहरुको विद्रोहको रुप बढ्दै गएपछि राष्ट्रपति अबेद रब्बोले नै वार्ताको पहल गरेका थिए । उनले युद्धविरामपछि गरिने वार्ताका लागि वार्ता समिति पनि गठन गरिसकेका छन् ।
यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । हुथी विद्रोहीहरुले त्यहाँका प्रहरी एवम् सेनालाई लक्ष्य गरेको बताएको भएपनि यसमा परी सर्वसाधारण पनि मारिएका छन् ।
युद्धविराम उल्लङ्घनको अनुगमन गर्न दुवै पक्ष सहमत
यसैबीच स्वीट्जरल्याण्डमा जारी रहेको वार्ता पनि असफल हुने आशङ्काका बीच विद्रोही पक्ष सो युद्धविराम उल्लङ्घनको अनुगमन गर्न सहमत भएको छ ।
वार्तामा सहभागी सरकारी र विद्रोही पक्षबीच यस्तो सहमति भएको हो । उनीहरु शनिबार रातिको युद्धविराम उल्लङ्घनका कारणले शान्ति वार्तालाई अहिले नै अन्त्य गर्ने नभई त्यसको अनुगमन गरिने बताएका हुन् ।
यसका लागि सरकारी र विद्रोही दुवै पक्षबाट सैनिकहरु सम्मिलित एक अनुगमन समिति गठन गरी त्यसको छानबीन पनि गर्ने भएको बताइएको छ ।
स्वीट्जरल्याण्डको उत्तरपश्चिमी सहर बेलमा जारी रहेको वार्ता आइतबार पाँचौ दिन अघि बढाउने कि नबढाउने भन्ने बारेमा दुविधा भएको बताइएको छ ।
दुवै तर्फका वार्ता टोलीका सदस्यले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मध्यस्थकर्ता समूहका साथै सो युद्धविराम अनुगमन समूहको पनि घोषणा गरिने जानकारी सरकारी वार्ताटोलीका एकजना सदस्यले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण