बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पर्यटन, जलविद्युत् र कृषिमा जोड

मङ्गलबार, ०७ पुस २०७२, १३ : २२
मङ्गलबार, ०७ पुस २०७२

काठमाडौँ– नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पर्यटन विकास देशको आर्थिक मेरुदण्ड भएको बताएका छन् ।

युवा पत्रकार समाजले आज यहाँ आयोजना गरेको नवनिर्वाचित ‘टान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई गरिएको सम्मान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले पर्यटन, जलविद्युत् र कृषिमा विकास गर्न सके देशको कायापलट हुने स्पष्ट पारे । उनले देशको अथाह सम्पदालाई प्रयोग गरी आर्थिक क्रान्ति गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउँदै भने, “अहिले नेपालमा वार्षिक पाँचदेखि सात लाख पर्यटक आउने गरेकाले अब १० लाख ल्याउने गरी गुरुयोजना बनाउनु आवश्यक छ ।”

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रको विकास गर्नका लागि नवनिर्वाचित कार्यसमिति दृढ भएर लाग्ने बताए ।

ठमेल परिषद् विकास समितिका अध्यक्ष रामशरण थपलियाले नेपालको राजस्वको प्रमुख केन्द्र पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

टानका वरिष्ठ उपाध्यक्ष टासीलाक्पा शेर्पाले पर्यटन क्षेत्रको राम्रा कुरालाई प्रोत्साहन गर्दै विकृति विसङ्गतिमा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे । टानका महासचिव कर्ण लामाले विदेशी सञ्चारमाध्यमले भूकम्पले नेपालको पर्यटनको बारेमा गलत प्रचारप्रसार गर्दा नेपालको पर्यटन क्षेत्रमा ह्रास आएको भन्दै नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप