मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दी फिर्ता लिने नलिनेबारे मधेशी मोर्चामा छलफल जारी

शुक्रबार, २४ पुस २०७२, १० : २३
शुक्रबार, २४ पुस २०७२

काठमाडौ – आन्दोलनको स्वरुप परिवर्तन गर्ने–नगर्ने विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को केन्द्रीय कार्यालयमा बसिरहेको छ । झण्डै पाँच महिनादेखि जारी मधेश आन्दोलनको समिक्षा र त्यसको स्वरुपको बारेमा बैठकमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनिष समुनले बताए । मधेशी मोर्चाको बैठक हिजो पनि बसेको थियो । हिजोको बैठकमा मोर्चामा चारै दलका नेताहरुले आन्दोलनको स्वरुपको बारेमा आ–आफ्नो कुरा राखेका थिए ।

आन्दोलनको स्वरुप परिवर्तनबारे मधेशी मोर्चामा एक मत नरहेको मोर्चाका एक नेताले बताए । तमलोपाले उखु किसानको अवस्था हेरेर नाकाबन्दीलाई खुकुलो बनाउनु पर्ने धारणा राखेको थियो भने सद्भावना पार्टीले सहमति नभई नाकाबन्दी खोल्न नहुने धारणा राखेको थियो । संघीय समाजवादी फोरम नेपालले पनि सरकारको अवस्था हेरेर आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने कुरा राखेको बैठकमा सहभागि एक नेताले बताए । यी नेताहरुले आआफ्नो धारणा राखेपनि हिजो कुनै निर्णय हुन सकेन । आजको बैठकले आन्दोलनको बारेमा निर्णय लिइनेछ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आन्दोलनको स्वरुप परिवर्तन भनेको आन्दोलन फिर्ता लिने होइन, भइरहेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी कसरी बनाउने कार्यक्रम ल्याउनु पनि रहेको बताए । उनले नाकाबन्दी कुनै पनि हालत फिर्ता नहुने बरु अझ सशक्त बनाइन्छ भन्दै राजमार्ग अवरोध र नाकाबन्दी नै मधेश आन्दोलनको मेरुदण्ड भएकाले सरकारसँग सहमति नभएसम्म आन्दोलन फिर्ता नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप