हत्या गरिएकी मगर चलचित्रकी नायिका नेहालाई न्याय माग गर्दै प्रदर्शन, प्रहरी भन्छ, ‘हत्यारा उम्कदैन’
पोखरा - गत मंगलबार हत्या गरी फालिएको अवस्थामा भेटिएकी मगर चलचित्रकी नायिका १९ वर्षीया योरुना पुन (नेहा)का हत्यारालाई कारबाही माग गर्दै पोखरेलीहरूले बिहीबार पोखरामा प्रदर्शन र प्रशासन घेराउ गरेका छन् ।
पोखरा उप–महानगरपालिका वडा नं. १५ महिला समन्वय समिति, पुन मगर समाज, पोखरा, एमएमआर, रामबजार युथ क्लब तथा पोखरा र लेखनाथका विभिन्न आमा समूहको अगुवाइमा आयोजित जुलुस प्रदर्शनमा हजारौंको संख्यामा पोखरेलीहरू सहभागी थिए । पोखराको चिप्लेढुंगाबाट सुरु भएको जुलुस महेन्द्रपुल, भीमसेनचोक, नयाँबजार, लखनचोक, नागढुंगा, एयरपोर्ट, मुस्ताङचोक, राष्ट्रबैंकचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि पुगेको थियो ।
जुलुसमा सहभागीहरूले नेहाका हत्यारालाई फाँसी दे, शान्ति, सुरक्षा कायम गर, नेहालाई न्याय दे, हत्याको निष्पक्ष छानविन गरलगायतका नारा लगाएका थिए । प्रशासन घेराउका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङ, रामबजार युथ क्लबका अध्यक्ष वीरेन्द्र पुनलगायतले हत्यारालाई कडा सजाय दिन माग गरेका थिए ।
यता, जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, कास्कीका एसएसपी हरि पालले पुनको हत्याराको खोजी भइरहेको बताएका छन् । उनले छिटो भन्दा छिटो अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रयास भैरहेको बताए । पाले भने, ‘कुनै अपराधी उम्कन पाउँने छैन । हामी जसरी भएपनि अपराधीलाई समात्छौँ । बाँकी डिटेल आएपछि हामी पत्रकार माझ सार्वजनिक गर्छौं ।’
यसैबीच, हत्याको विरोधमा नेपाल मगर संघ कास्की, नेपाल मगर महिला संघ कास्की तथा बागलुङ–पोखरा मगर समाजले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् । मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर तथा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले विज्ञप्तिमार्फत् हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण