बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

समलिङ्गी विवाहलाई मान्यता दिन आयोगको सिफरिस

सोमबार, ०३ फागुन २०७२, ११ : ३१
सोमबार, ०३ फागुन २०७२

झापा– राष्ट्रिय मानवअधिकार आयोगले समलिङ्गी विवाहलाई पनि मान्यता दिन सिफरिस गरेपछि पूर्वमा रहेका समलिङ्गीहरूमा खुसियाली छाएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि काम गर्दै आएको नील हिरा समाज दमककी कार्यक्रम प्रमुख चञ्चला सुब्बाले ढिलै भए पनि आफूहरूको मुद्दाको विषयमा आयोगले सरकारलाई सिफारिस गर्नु सुखद र आफूहरूका लागि खुसीको खबर भएको बताए । उनले आफूजस्ता जोडीले चाँडै कानुनी हैसियत पाउने हुँदा आयोगको सिफारिस स्वागतयोग्य रहेको बताए ।

नयाँ संविधान जारी भएपछि आफूहरूले हक अधिकार पाएमा योभन्दा खुसीको क्षण अरू नहुने उनको भनाइ छ । पूर्वमा करिब ३०० जोडी सम्बन्ध लुकाएर बस्न बाध्य भएको समेत उनले बताए । उनका अनुसार झापामा मात्रै त्यस्ता जोडी १०० भन्दा बढी छन् । आयोगको यो सिफारिसबाट उनीहरूमा खुसियाली छाएको मैले पाएको छु सुब्बाले भने ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी तेस्रोलिङ्गी)को विषयमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेशपछि समलिङ्गी र तेस्रोलिङ्गीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिनसमेत सुरु गरिएको छ । नील हिरा समाजका अनुसार अहिलेसम्म नेपालका १२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले मात्रै नागरिकता लिएका छन् ।

समलिङ्गी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र वा बाहिर कानुनतः सेक्स वा आफूखुसी विवाह गर्न पाउने कानुन नेपालमा नरहेको उनको भनाइ छ । नेपालको कानुन र समाजले समलिङ्गी सेक्सलाई अप्राकृतिक नभने पनि यसलाई सहज स्वीकार गरेको अवस्थामा आयोगको यो सिफारिस आफूहरूका लागि न्याय दिलाउनेखालको रहेको उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप