बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
पुरुषोत्तम दाहालसँग ‘वारपार’

‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्‌’

‘नेपालका नेताहरू आफ्नो खुट्टामा हिँडिराखेका छैनन्’

बिहीबार, ०७ साउन २०८३, २० : ००
बिहीबार, ०७ साउन २०८३

काठमाडौँ । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको चर्चाले अहिले राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । पछिल्लो समय कांग्रेसका नेताहरूबिच आरोप-प्रत्यारोपको शृंखला निकै बढेको छ । गत पुस-माघमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूबिचको दूरी निकै बढेको छ । 

लामो समयदेखि नेपाली राजनीति र कांग्रेसलाई नजिकबाट नियालेका वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल अहिलेको विवादलाई पद, स्वार्थ र मर्यादाको लडाइँ मान्छन् । रातोपाटीको ‘वारपार’मा रो अन्तर्वार्ताका क्रममा उनले नेपालका नेताहरूले आफ्नै खुट्टामा उभिन खोज्दा विदेशी शक्तिबाट कसरी प्रहार खेप्नुपरेको छ भन्ने ऐतिहासिक दृष्टान्त समेत पेस गरेका छन् । 

कांग्रेसको आन्तरिक कलह, समसामयिक राजनीति र वर्तमान सरकारको कामकारबाहीमा आधारित रहेर राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार दाहालसँग रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

कांग्रेस र एमालेको अवस्था मलाई उस्तै लाग्छ । पराजित हुने अवस्थादेखि नै पराजय भोग्दै गर्दा पनि उनीहरूबिचको झगडा शान्त भएको छैन । के कांग्रेस अब फुट्ने निश्चित हो ?

यो फुट्छ कि फुट्दैन भनेर ठ्याक्कै त कसैले भन्न सक्दैन, तर जब मान्छे कमजोर हुन्छ, युद्धमा पराजित हुने स्थिति हुन्छ, त्यो बेलामा उनीहरूको घरझगडा हुन्छ । मलाई दुई-तीनवटा पुराना उदाहरण सम्झन मन लागेको छ । जस्तो- महाभारत हामी पढ्छौँ नि, पाण्डवहरू पाँचजना छन् तर उनीहरू एकदमै 'युनाइटेड' छन् । उनीहरूले सबै शक्ति एकीकृत रूपमा प्रयोग गर्छन् । आँखा चिम्लेर जुवामा हार्छन्, पत्नी डुबाउँछन्, राज्य डुबाउँछन्, तर उनीहरू शान्त छन्, एकमत छन् ।

Purushottam Dahal

तर कौरवहरूको घर झगडै-झगडाले भरिएको छ । मान्छे धेरै छन्, दुर्योधनले भीष्म पितामहसँग झगडा गर्छन्, कर्णसँग पनि बेलाबेला खटपट पर्छ, बाबुसँग झगडा गर्छन्, प्रधानमन्त्रीसँग झगडा गर्छन्, मामा शकुनीसँग पनि झगडा पर्छ । यति ठुलो झगडा हुन्छ अनि उनीहरू पराजित हुन्छन् । यो महाभारतको महाकाव्यले पनि यही सन्देश दिन्छ कि जुन घरमा ज्यादा पराजयको संकेत र लक्षणहरू हुन्छन्, त्यो घर झगडाले पूर्ण हुन्छ । रावण त्यत्रो शक्तिशाली हुँदाहुँदै पनि घरझगडाको परिणामले पराजित भयो । यदुवंशीहरू घरझगडाकै कारणले समाप्त भए ।

कांग्रेस र एमालेको अहिलेको अवस्था पनि ठ्याक्कै त्यस्तै छ । पराजय भोग्दै गर्दा पनि उनीहरूका बिचको झगडा शान्त भएको छैन । गएको भदौदेखि कांग्रेसमा यो विवाद ठुलो ढंगले सुरू भएको छ । पहिले कांग्रेसमा अन्तरविरोध र अन्तरसंघर्ष हुँदै गर्दा पनि एउटा डोरी बाटेको जस्तो संयोजन हुन्थ्यो । तर अब चाहिँ दुईतिर फर्किएर डोरी बाट्न थालिएको छ । यसो गर्दा डोरी फुट्छ ।

एउटा चाखलाग्दो विषय के छ भने हिजो मात्रै पार्टी फुटाउने घोषणा गर्नेहरूमा गणेशमान सिंहका छोरा, बीपीका छोरा, महेन्द्रनारायण निधिका छोरा, अनि लामो राजनीति गरेका कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्काहरू छन् । उनीहरूले त एकजुट हुनुपर्छ भन्नुपर्ने होइन र ? यो आश्चर्यलाग्दो विषय होइन ?

उनीहरूले पार्टी फुटाउने कुरा सशर्त भनिराखेका छन् । उहाँहरूका आफ्ना केही कन्डिसन छन् । त्यो भएन भने पार्टी नफुटाई सुख छैन भनिरहनुभएको छ । यो उहाँहरूका लागि र कांग्रेस दुवैको लागि दुर्भाग्यपूर्ण हो । मैले २०३१ सालदेखि कांग्रेस र नेपालको राजनीतिक स्थितिलाई गहिराइमा हेरेको छु । प्रायः नेपालका राजनीतिक नेताहरू आफ्नो खुट्टामा हिँडिराखेका छैनन् । तर जसले आफ्नो अडान राख्न खोजे, उनीहरूले दुःख पाएका छन् । 

२००७ सालमा बीपी कोइराला आउँदा इन्डियनहरूको सहयोग थियो । तर जब बीपीले 'यो स्वतन्त्र देश हो, म राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको लागि काम गर्छु' भन्नुभयो, उहाँको सत्ता गयो । २०१७ सालमा त्यही भयो ।

जो मान्छे आफ्नो खुट्टामा हिँड्न खोज्छ नि, त्यो नेपालको सन्दर्भमा समाप्त भएको छ । २०४५ सालमा भारतले 'ब्लकेड' नगरेको भए हाम्रो परिवर्तन हुन्थ्यो ? हुँदैनथ्यो । तर तत्कालीन राजा वीरेन्द्रले बुद्धि पुर्‍याएर विदेशीले दिएको कागजमा हस्ताक्षर गर्नुभन्दा आफ्नै जनतासँग सम्झौता गरेर बहुदलीय पद्धति घोषणा गरे । 

मदन भण्डारी मारिनु, माओवादी सशस्त्र हिंसा हुनु, अनि सुशील कोइरालाले दबाबका बाबजुद संविधान जारी गर्दा एमाले-कांग्रेसको गठबन्धन जानीजानी भत्काइनु यी सबै खेल हुन् । नेपालमा सत्ताको खेल र बाह्य दबाब यति धेरै हुन्छ कि जसले अडान लिन्छ, त्यसलाई सिध्याइन्छ ।

भदौ २३-२४ तिरको घटना र नेपाली कांग्रेसभित्रको अहिलेको विवाद अन्तरसम्बन्धित छ भन्न खोज्नुभएको हो ?

अवश्य अन्तरसम्बन्धित छ । त्यो भदौ २३-२४ को घटनाको लक्ष्य के थियो ? मानौँ, नेपाली कांग्रेस र एमालेलाई मात्रै विस्थापन गर्नका निमित्त त्यो भयानक उपद्रव भएको थियो त ? के के भयो त्यो दिन ?

देशलाई एकीकृत गर्ने संविधानसभाले बनाएको संविधानको प्रयोग गर्ने थलो संसद् ध्वस्त बनाइयो । त्यो संसद् केपी ओली वा शेरबहादुर देउवाको पेवा थिएन, देशको थियो । त्यसपछि देशको सार्वभौमसत्ताको उपयोग गर्ने सिंहदरबार जल्यो । संविधानको संरक्षक अदालत जल्यो । देशको सम्पूर्ण अन्तिम स्वामित्व भएको राष्ट्रपति संस्थामाथि प्रहार भयो । अर्थात्, एउटा देशलाई विघटन गर्न राजनीतिक रिक्तता खडा गर्नुपर्छ र संयन्त्रहरू ध्वस्त हुनुपर्छ भन्ने मिसन त्यहाँ देखियो ।

राजनीति मात्र होइन, अर्थतन्त्र सिध्याउने खेल पनि भयो । भाटभटेनीमाथि किन आक्रमण गरियो ? उनले कसैलाई दान दिए होलान्, तर त्यसको अर्थ व्यापार र अर्थतन्त्रलाई कमजोर पार्नु थियो । उपेन्द्र महतो, विनोद चौधरीहरू शासक होइनन्, चन्दादाता हुन्, उनीहरूमाथि किन अट्याक गरियो ? यसको पछाडि सत्ता परिवर्तन मात्रै होइन, देशको 'होल सिस्टम' भत्काउने ठुलो मिसन छ । त्यसैले कांग्रेसभित्रको असन्तोष र यो घटनाको 'क्लाइमेक्स' कतै न कतै जोडिएको छ ।

कांग्रेसको आन्तरिक विवाद र मानवीय संवेदनाको कुरा पनि तपाईँले उठाउँदै आउनुभएको छ नि ?

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा वा उहाँकी पत्नी गलत हुनुहुन्थ्यो होला, त्यो कानुनको कुरा हो । छानबिन होला । तर एउटा ८० वर्षको वृद्ध नागरिक, जो हस्पिटलमा रगताम्मे भएर लडेको छ । एउटी ६०-६१ वर्षकी महिलालाई सडकमा लातले हानेर रगताम्मे बनाइएको छ, उनी बाँच्छिन् कि मर्छिन् टुङ्गो छैन ।

Purushottam Dahal2

यस्तो अमानवीय र क्रूर घटना हुँदा कांग्रेसमा त्यसप्रति सहानुभूति देखाउनुको सट्टा, 'अब तिमीहरू अयोग्य भयौ, तुरुन्त सत्ता छोड, हामी चलाउँछौँ' भनेर आवाज निकालियो । एउटा कल्पना गर्नुस् त, तपाईँको आमालाई कसैले बाहिरबाट आएर कुट्दै छ भने, 'ठिकै पर्‍यो' भन्नुहुन्छ कि बचाउन जानुहुन्छ ?  राजनीतिक दल भनेको पनि एउटा परिवार हो । मानवीय संवेदना हराएर राजनीति हुँदैन ।

अनि उहाँहरूले बदलियो कांग्रेस, अब बदल्छौँ देश भनेर नारा लगाउनुभयो । मेरो प्रश्न छ- कांग्रेस बदल्न के-के बदलिनुपर्छ ? कांग्रेसको आदर्श 'राष्ट्रियता', सिद्धान्त 'लोकतन्त्र', र कार्यक्रम 'समाजवाद' हो । के त्यो बदलिएको हो ? कांग्रेसको २००३ सालदेखिको इतिहास, शहीदहरूको रगत, हजारौँको त्याग— के त्यो बदलिएको हो ? नेतृत्व परिवर्तन हुँदैमा, अनुहार फेरिँदैमा पार्टी बदलिँदैन । 'सोसल डेमोक्रेसी' कि 'डेमोक्रेटिक सोसलिजम' भन्ने शब्दको खेलले मात्रै चरित्र बदल्दैन । पुराना नेताहरूले फोन उठाउँथे, अहिलेका नयाँ नेताहरूले फोन नै उठाउँदैनन् । मेरो ५ वर्षदेखि उहाँहरूसँग सम्पर्क छैन । अनि यो कसरी बदलियो कांग्रेस ?

बीपी जयन्तीकै दिन हिजो दुईतिर कार्यक्रम गरेर पार्टी फुटाउँछु भनेर हुंकार आयो । तपाईँले बीपीसँग पनि नजिक रहेर काम गर्नुभयो, उहाँको पालामा यस्तो हुन्थ्यो ?

म एउटा प्रस्ट कुरा के पारौँ भने म व्यक्तिगत रूपमा न शेरबहादुर देउवाको मान्छे हुँ, न विमलेन्द्र निधि, न गगन थापाको । म व्यक्तिको पछि कहिल्यै लाग्दिनँ । २०३६ सालमा म बीपी कोइरालासँगै बुटवल, रुपन्देहीतिर रिपोर्टिङमा गएको थिएँ । त्यहाँ केही साथीहरू आएर बीपीलाई गुनासो गरे— हामी बीपीका मान्छे भनेर चिनियौँ, त्यसैले कांग्रेसकै अन्य साथीहरूले हामीलाई अपमानित गरे ।

करिब ३० मिनेट उनीहरूको कुरा सुनेपछि बीपीले मलाई सोध्नुभयो, 'सन्दाल, तिमी मेरो मान्छे हौ कि होइनौ ?' मैले २१ वर्षको उमेरमा बीपी जस्तो टावरिङ पर्सनालिटी लाई ठाडै भनेको थिएँ- 'म तपाईँको मान्छे होइन सान्दाजु । म प्रजातान्त्रिक आन्दोलनको मान्छे हुँ, जसको नेतृत्व कांग्रेसले गरेको छ र त्यसको नेता तपाईँ हुनुहुन्छ ।'

त्यसपछि बीपीले ती कार्यकर्ताहरूलाई सम्झाउँदै भन्नुभएको थियो- 'सुन्नुभयो नि जवाफ ? तपाईँहरू पनि व्यक्तिको मान्छे नबन्नुस् । व्यक्तिको मान्छे बन्ने बित्तिकै गुट बन्छ र झगडा हुन्छ । पहिला प्रजातन्त्रको बन्नुस्, अनि संगठनको बन्नुस् ।' यो मेरो जीवनको गुरुमन्त्र हो । त्यसैले अहिले विशेष महाधिवेशन गरेका कारण पार्टी यो स्थितिमा आइपुगेको हो, म इस्युमा मात्र बोल्छु । 

अहिले अदालत र निर्वाचन आयोगले गगन थापाजीको समितिलाई मान्यता दिएको छ । चुनाव चिह्न रूख पनि उहाँसँगै छ । उहाँहरू युवा पनि हुनुहुन्छ । अनि यता पुराना नेताहरूले हामी पार्टी फुटाइदिन्छौँ भन्नुको अर्थ के हो ? उहाँहरूले पाउन के बाँकी छ र ?

उहाँहरूले आफूलाई म भोलि प्रधानमन्त्री हुन्छु भनेर भाग मागिरहनुभएको छैन । उहाँहरू मर्यादा खोजिरहनुभएको छ । यदि नयाँ पुस्ताले पुराना नेताहरूलाई मर्यादा र सम्मान दिन सक्दैन भने त्यसले नेतृत्व कसरी गर्छ ? राजनीतिमा उहाँहरूको योगदानको सम्मान हुनुपर्छ ।

Purushottam Dahal1

कांग्रेसभित्र यदि सम्मानजनक ढंगले साथीहरूलाई संयोजन गर्न सकेन भने त्यसको जिम्मा अहिलेको सभापतिले लिनुपर्छ । २०५१ सालमा कांग्रेस फुट्न लाग्दा गिरिजाप्रसाद कोइराला पक्षका मान्छेहरूले कृष्णप्रसाद भट्टराईलाई थुक्क नालायक भनेर थुकेका थिए । तर किसुनजी हाँसेर चुपचाप सहनुभयो, किनभने उहाँ म अपमानित भएपनि पार्टी फुट्न दिन्नँ भन्नेमा दृढ र निर्णायक हुनुहुन्थ्यो । २०६४ सालमा गिरिजाप्रसाद कोइरालाले पनि त्यस्तै लचकता देखाएर शेरबहादुर देउवालाई पार्टीमा मिलाउनुभयो । अहिले जो सभापति छ, ऊ निर्णायक हुनुपर्छ । सबैलाई समेट्छु भन्यो भने १०० प्रतिशत समेटिन्छ ।

तपाईँको विचारमा गगनजीहरू पुराना नेताहरू पार्टीबाट निस्केर जाउन् भन्नेमै छन् त ?

अहिले गगनजी के सोच्दै हुनुहुन्छ म ठ्याक्कै भन्न सक्दिनँ, तर गगनजीसँग बस्ने मान्छेहरूमध्ये एकथरी चाहिँ 'यो कांग्रेस फुट्नैपर्छ' भन्नेमा छन् । यसको कारण के हो भने एउटा भर्‍याङ छ, तलका सिँढीमा बस्नेहरूलाई के लाग्छ भने माथिको मान्छेलाई तल झारिदियो भने आफू चाँडो माथि पुगिन्छ । अहिले पूर्णबहादुर खड्काहरूसँग २०४६ सालअघि पञ्चायतमा लडेका, माओवादी कालमा दुःख पाएका पुराना नेता-कार्यकर्ताको ठुलो पंक्ति छ । त्यो पंक्तिलाई नफालेसम्म आफ्नो पालो आउँदैन भन्ने बुझाइ गगनजीको वरिपरि बस्ने केही युवाहरूको छ ।

तर यति कुरा प्रस्ट हो, यदि सभापति गगन थापा निर्णायक हुनुहुन्छ भने नेपाली कांग्रेस फुट्दैन । यदि उहाँ अरूको कुरा सुनेर निर्णायक बन्न सक्नुहुन्न भने कांग्रेस अब एक ठाउँमा बस्दैन । बल अहिले गगन थापाकै हातमा छ ।

यो विवाद मिलाउन शेरबहादुर देउवाको कस्तो भूमिका हुनसक्छ ?

यो विवाद मिलाउने हो भने शेरबहादुर देउवा र उहाँकी पत्नी कम्तीमा पनि देशभित्र फर्किनुपर्छ । सरकारले कानुनी रूपमा जेसुकै गरोस्, त्यो आफ्नो ठाउँमा छ । तर देउवा नेपाल आएर बिचमा बसिदिए भने उनले साथीहरूलाई अपिल गर्न सक्छन् । देउवा अब प्रधानमन्त्री वा सभापति हुने दौडमा छैनन्, उनी पदीय लोभबाट मुक्त छन् ।

अहिले विवाद धेरै ठुलो छैन । पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षले १११ जनालाई एकै ठाउँमा राखेर केन्द्रीय समिति विस्तार गरौँ भनेका छन् । गगनजी पक्षले त्यसो हुँदैन, व्यक्तिगत रूपमा आएर सदस्यता नवीकरण गर्नुस् भनेको छ । यी दुईवटा कुरा मिलाउन केही गाह्रो छैन । दुवै पक्षका मान्छे एक ठाउँमा बस्ने र एउटा वाक्य लेख्ने हो भने यो विवाद सजिलै टुङ्गिन्छ । मात्र इच्छाशक्ति र विश्वासको खाँचो छ ।

वर्तमान सरकारको कामकारबाहीबारे पनि कुरा गरौँ । कस्तो भइरहेको छ ?

यो सरकारको उत्पत्तिका कारण र यसका लक्ष्यहरू के हुन् भन्ने हामीले अहिलेसम्म बुझेकै छैनौँ । बाहिर हेर्दा मिलेजस्तो देखिएपनि नेपाली राजनीतिको कुसंस्कार के हो भने सत्तामा बस्ने र पार्टीमा बस्नेहरूबिच मतभेद भइरहन्छ ।

अहिलेका प्रधानमन्त्री संवादमा त्यति रुचि राख्ने देखिनुहुन्न । उहाँ राजनीतिक रूपमा दीक्षित भन्दा पनि जीवनलाई इन्जोय भन्ने खालको व्यक्ति देखिनुहुन्छ । एकातिर प्रधानमन्त्री इन्जोय गर्ने, अर्कोतिर पार्टीका नेताहरू चिन्ता गर्ने स्थिति भयो भने कामकारबाही सहज हुँदैन । मलाई सबैभन्दा ठुलो चिन्ता के छ भने भदौ २३-२४ मा जुन मिसनका साथ राज्यका संयन्त्र भत्काउने खेल भएको थियो, कतै यो सरकार पनि आफ्नै अकर्मण्यताले त्यही लक्ष्यलाई त पछ्याइरहेको छैन ? यो गम्भीर प्रश्न छ ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप