बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सडकबाट : सरकारलाई सवारीचालक सोध्छन्– नाकाबाट भित्रिएको पेट्रोल कहाँ जान्छ ?

सोमबार, ०३ फागुन २०७२, १५ : ३९
सोमबार, ०३ फागुन २०७२

सानु महर्जन, ट्याक्सी चालक, पालुङ

नाकाबन्दी खुलेको समाचारले खुशी भएँ । समाचारसँगै अब बजारमा सहजै पेट्रोल पाइएला र ढुक्कले काम गरेर खान पाइएला भन्ने आसा पनि पलाएको छ । विरगञ्ज र रक्सौल नाकाबाट धमाधम पेट्रोल भित्रिएको समाचार आइरहँदा म हत्तपत्त नजिकका पेट्रोल पम्पतिर दगुरेँ तर कुनै पेट्रोल पम्पबाट पनि पाइएन । नाका खुलेको ३/४ दिन भइसक्दा पनि पेट्रोल भर्न पाइएको छैन । ठूला– ठूला पेट्रोल पम्पहरूमा जान्छु, हेर्दै आतेस लाग्ने लामा–लामा लाइन देख्छु । सहज भएपछि हलौला  भनेर मैले त अहिलेसम्म ब्ल्याकमै लिएको तेलले नै ट्याक्सी चलाइरहेको छु । ट्याक्सी नचलाएर पेट्रोलको लाइनमा बसेर पनि के गर्नु ? आफूलाई खान पुग्दैन । घरमा जहान छोराछोरी छन्, यही ट्याक्सी चलाएर आएको आम्दानीले हो घरबार धानेको । उसै त नाकाबन्दीभर घाटा नै घाटामा चल्नुपर्यो । इन्धन अभावमा कारण कति दिन त मैले ट्याक्सी पनि चलाइनँ । जसोतसो घर चलाएँ । छोराछोरीको स्कुल फी तिर्न सकिनँ । कहिल्यै नलागेको ऋण लागेको छ । डुबायो नि नाकाबन्दीले । दिनरातै लाइनमा बस्नुभन्दा त एकदुई दिन ब्ल्याककै तेलमा ट्याक्सी चलाउनु मलाई फाइदाजस्तो देखिन्छ ।

इन्द्र ढुंगाना, मोटरसाइकल चालक, ग्वार्को

मलाई खासै पेट्रोलको समस्या छैन । म आइएनजिओमा काम गर्छु । नाकाबन्दीभर पनि मैले त्यती इन्धन अभाव झेल्नुपरेको थिएन । घर– कार्यालय गर्न अफिसले नै पेट्रोलको व्यवस्था गरिदिन्थ्यो । हो, आफ्ना व्यक्तिगत कामका लागि भने पेट्रोल अभाव हुँदा धेरै काम अड्किए । तर अधिकांश सर्वसाधारणहरूको झैं काममा नै असर परेन । केही सेवा–सुविधा चार्ज कटौती गरेर भए पनि अफिसले हामीलाई सहजै काम गर्ने वातावरण मिलाइदिएको थियो । नाका खुलेको छ । अब सरकारले सक्दो चाँडो पेट्रोल वितरण सहज बनाइदिए हामी जनताले आनन्दले काम गरेर खान पाउने थियौँ । नाकाबन्दी चलिरहँदाको अभाव मैले देखे–भोगेको छु । मसँग अफिस पुग्ने पेट्रोल हुन्छ भन्ने छरछिमेकलाई थाहा थियो । आकस्मिक प्रयोगका लागि पेट्रोल माग्थे । मानवीय हिसाबले आपतका बेला सहयोग गर्नै पर्यो । त्यस्तो अवस्थामा म आफू चाहीँ सार्वजनिक यातायातबाट अफिस जान्थेँ । स्यालरीबाट स्वाट्ट पैसा काटिदिँदा पनि केही भन्न सकिन्नथ्यो अन्र्तर्राष्ट्रिय संस्थामा यस्ता कुरामा बहस पनि गर्न मिल्दैन । नाका खुलेपछि अब हामीलाई अफिसले पेट्रोल दिन छाडिसकेको छ । पेट्रोल पम्पहरूबाट पेट्रोल सहजै पाइएको पनि छैन । लामा–लामा लाइन छन्, देख्दै दिक्क लाग्छ । अब केही दिन चाहीँ अफिसले पनि पेट्रोल दिन बन्द गरेको र पम्पहरूबाट पनि सहज रूपमा पेट्रोल नपाइएको अवस्थामा अब केही दिन चाहिँ मजाले दुःख पाइएलाजस्तो छ । आशा गरौँ, केही दिनको दुःखपश्चात हामी सबै नेपालीको दैनिकी सहज हुने नै छ । फेरी –फेरी निर्दाेष जनताले बिनागल्तिको सजाय भोग्नु नपरोस् ।

संगिता राई, स्कुटी चालक, भैँसेपाटी नाका खुलेलगत्तै मैले समाचार मार्फत सर्रसर्ती खोजँ,े कुन नाकाबाट कति ट्याङ्कर पेट्रोल भित्रिँदै छन् भनेर । मुख्य नाकाहरूबाट पेट्रोलका ट्याङ्कर भित्रिएको समाचार थाहा पाएपछि घर नजिकैका पेट्रोल पम्पहरू चहारेँ । कतै पेट्रोल दिएनन् । जहाँ गएपनि पेट्रोल आइपुगेको छैन भन्दै फर्काइदिए । साँझ विभिन्न पम्पहरूमा लाइन लागेँ । ३÷४ वटा पेट्रोल पम्पहरूमा लाइन बसे पेट्रोल सकियो भन्दै फर्कादिए । म गायन पेशामा छु । नाकाबन्दीभर खुबै दुःख पाएकी छु । स्कुटी थन्काएर सार्वजनिक गाडीमा झुण्डिएर काममा हिँडियो । कति दिन काम नै रोकियो । नेपालको गति देखेर दिक्क लाग्छ । भविष्य कसरी बनाउनु यो देशमा ? अब फेरि पनि यस्तै दिन नर्फिलान् भनेर भन्न सकिन्न । सरकार त निरिह छ । सरकारसँग न त झण्डै ९ हजार नेपालीको ज्यान लिने भूकम्पको पूर्वतयारी थियो न नेपालीको बिचल्ली हुने भारतीय नाकाबन्दीको विकल्प । अब सरकारले केही योजना बनाएर देश चलाओस् । हावा गफले देश बन्ने भए त नेपाल उहिल्यै विकसित भइसक्ने थियो नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप