आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पशुपति आर्यघाट : जहाँ चितासँगै जल्छन् लास पोल्नेका सपना पनि

आइतबार, १६ फागुन २०७२, १४ : ५६
आइतबार, १६ फागुन २०७२

पशुपति आर्यघाटमा दैनिक सयौं मान्छेको लास जल्छन् । लाससँगै तिनका सपना पनि जल्छन् । त्यसो त लास जलाउने बाहुनका सपना पनि त कहाँ सद्दे रहन्छन् र ? दिनदिनै जलिरहेका हुन्छन् । अझ आफ्नो सपना जलेर त्यहाँ आइपुगेका बाहुन पनि त हुन्छन् त्यहाँ । तर उनीहरूको सपनाबारे कसैले पनि सोच्दैनन्, कुरा गर्दैनन् । हेटौंडाका ३८ बर्षीय पूर्णप्रसाद रिजाल त्यसैमध्येका एक हुन् । जसको सपना चिताको धुवाँसँगै माथि–माथि उडिरहन्छ, जसलाई भेट्ने आशा उनीसँग छैन । उनको सानैदेखिको सपना थियो नेपाली सेना बन्ने । घरपरिवारले पनि उनको सपनालाई समर्थन गरेकै थियो । आमाले त कहिलेदेखि साँचेर राखेको १ हजार थैलीबाट भिकेर दिएकी थिइन्, छोरो सेनामा जागिर खानका लागि जाँदैछ भनेर । २३ वर्षअघि उनी साथीहरूसँग काठमाडौं छिरेका थिए त्यही सपना बोकेर । तर उनको त्यो सपना सपनामै सीमित रह्यो । उनका साथीहरू सेनामा भर्ती भए, तर उनी हुन सकेनन् । त्यसपछि उनले २२ बर्षअगाडि पशुपति आर्यघाटमा लास जलाउने काम सुरु गरेका थिए । तर आफ्नो सपना पूरा नभएकोमा चितासँगै उनको मन पनि जलिरहन्छ । रिजाल भन्छन्, ‘सँगैका साथीहरू जागीर खाएर मोजमस्तीको जिन्दगी बिताइरहेका छन्, तर आज म यस्तो हालतमा छु । साँझ–बिहान, जाडो–गर्मी–झरीको कुनै पर्वाह नगरी लास जलाउनु पर्छ । तर जिन्दगी चलाउन धौ–धौ छ ।’ पशुपति विकास कोषले सात बर्षदेखि लास पोल्ने काममा खटिने बाहुनहरूलाई तलबभत्ता नबढाएकोमा उनको गुनासो छ । उनी जयबागेश्वरीमा डेरामा बस्छन् । साथै छन् दुई छोरा, एक छोरी र श्रीमती । हेटौंडामा भने आमामात्रै छिन् । उनले भावुक हुँदै भने, ‘जागिर खान पाएको भए पेन्सन भइसक्थ्यो । अहिले छाक टार्न पनि मुश्किल छ । चितासँगै आफ्नै सपना पनि जलिरहेझैं लाग्छ ।’ यता काभे्र कोशीदेखाका ५१ बर्षीय पुष्पलाल पोखरेलले आर्यघाटमा लास पोल्न थालेको ३१ बर्ष लाग्यो । बिहे गरेसँगै कोशीदेखाबाट कामको खोजीमा ३४ वर्षअगाडि उनी काठमाडौं छिरेका थिए । काठमाडौंमा केही राम्रै नोकरी पाइने उनको सपना थियो । तर त्यसो हुन सकेन । समयले उनलार्य असन इन्द्रचोकमा भारी बोक्न बाध्य बनायो । त्यसबाट छाक टार्नेभन्दा अरू काम भएन । त्यसैले कामकै खोजीमा उनी आर्यघाट पुगे । त्यहाँ लास पोल्ने काम पाए । अहिले उनलाई आफ्नो पेशा बेकार लाग्छ । ‘पहिले लास खरानी पार्ने त हो भनेर यो काम गरियो । अहिले आफ्नै सोच पनि खरानी हुँदै गइरहेको छ ।’ दुई छोरा, एक छोरी र श्रीमतीका साथ नयाँ बस्तीमा बस्दै आएका उनले भने, ‘भविष्यका लागि केही जोहो गर्न सकिएन । न त दैनिकी नै अच्छाखासा छ ।’ काभ्रे कोशीपारीका ५६ बर्षीय रामनाथ प्याकुरेलको पनि हालत उस्तै छ । उनले लास पोल्न थालेको २४ वर्ष बितिसक्यो । उनी कामको खोजीमा २८ बर्षअघि काठमाडौं छिरेका थिए । काठमाडौं आएसँगै सुरुमा उनले साइकलमा प्लास्टिक झोला बेच्न थाले । दुई वर्ष त व्यापार राम्रै भयो, तर पछि घाटा लाग्न थाल्यो । त्यसपछि व्यापारबाट हात झिके । त्यसैबेला उनले आर्यघाटमा लास पोल्ने काम पाए । उनले मदन भण्डारी, वीरेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत वरिष्ठ व्यक्तिको लास खरानी बनाए । तर त्योसँगै आफ्नो भविष्य खरानी हुँदै गइरहेको उनले अनुभूीत गरेका छन् । मूलपानीमा तीन छोरी, एक छोरा र श्रीमतीसहित बसिरहेका उनी भन्छन्, ‘आर्यघाट व्यवस्थापन समितिले सात बर्षेदेखि हाम्रो तलबभत्ता बढाएको छैन । देशमा सबै क्षेत्रमा वार्षिक तलब बढ्छ । तर हाम्रो बढेको छैन । बजारमा मूल्यवृद्धि धेरै गुणाले वृद्धि भइसक्यो । यसबारे सम्बन्धित निकायले किन सोच्दैन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप