आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मधेश आन्दोलनको विर्सजनपछि बुद्धिजिवीहरुको यस्तो आयो सुझाव

मङ्गलबार, १८ फागुन २०७२, ०८ : ०४
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौं –तराई मधेसको आन्दोलन बिना लेनदेन तुहिएपछि अहिले त्यसको हिसाब–किताब शुरु भएको छ । यसको हिसाब–किताब मधेसमा मात्र नभएर राजधानीमा पनि शुरु भएको छ ।  अहिले दिनहुँ जस्तो कुनै न कुनै होटेल, कुनै न कुनै क्याफेमा मधेस आन्दोलनको समिक्षा भइरहेका हुन्छन् । आन्दोलनकारीहरुले राजधानीमा रहेका मधेसी बुद्धिजिवी तथा नागरिक समाजका अगुवाहरुसँग बसेर आन्दोलनको समिक्षा तथा आगामी रणनीतिको बारेमा छलफल शुरु गरेको छ । आइतबारे मात्रै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी बुद्धिजिवीहरुलाई अल्फा बिटामा भेला गरेर उनीहरुको सुझाव लिएका थिए । भने सोमबार संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवले नागरिक समाजका अगुवा, बुद्धिजिवीहरुसँग सुझाव संकलन गरेका छन् । यस्तै, फागुन १९ गते र २२ गते पनि छुट्टाछुट्टै भेला हुँदैछ । आइतबार र सोमबार भएको यी छुट्टाछुट्टै भेलाको एउटै उद्देश्य थियो, मधेस आन्दोलन । माघ २५ गतेदेखि मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको छ । नाकाबन्दी, आमहड्ताललगायतका कार्यक्रम फिर्ता लिई मधेसवादी दलहरु कोणसभा, विरोधसभा, लाठीजुलुस, मैनबत्ति जुलुसमा सिमित भएका छन् । आइतबार र सोमबार भएको यी दुई अन्तरक्रियामा एउटा भिन्नता थियो त्यो हो, अध्यक्ष महतोले मधेसी बुद्धिजिवीहरुलाई मात्र भेला पारेका थिए भने मातृका यादवले मधेसीका साथ साथै पहाडी समुदायका बुद्धिजिवीहरुलाई पनि बोलाएका थिए । राजेन्द्र महतोको ब्यानरदेखि लिएर कार्यपत्र र यहाँसम्म कि बोल्ने वक्ताहरु पनि सबै हिन्दी भाषा प्रयोग गरेका थिए भने मातृका यादवको ठिक उल्टो थियो । उनको कार्यपत्रदेखि ब्यानरसम्म र वक्ताहरुले पनि नेपाली भाषा प्रयोग गरेका थिए । बानेश्वरको मसाला कटेजमा मातृका यादवले आयोजना गरेको कार्यक्रमा डा.सुन्दरमणी दिक्षित, दमननाथ ढुगांना, खगेन्द्र संग्रौला, प्रदीप गिरी, सिके लाल, तुलानारायण साह, डा.विरेन्द्र मिश्रलगायतको उपस्थिति थियो भने राजेन्द्र महतोको कार्यक्रममा सिके लाल, जय निसान्त, सुनिल रञ्जन, मिथिलेश सिह, गणेश मण्डल, सुजितकुमार झा, रामप्रसाद मेहता, विनित ठाकुर, सत्यनारायण साह, डा.विरेन्द्र मिश्र, इजहार मिकारानी, अनिल कर्ण, श्वेता दिप्तीलगायतको उपस्थिति रहेको थियो ।

बुद्धिजिवीबाट आएका मुख्य पाँच सुझाव : –राष्ट्रिय एकतामा जोड दिनुस् –सबै मधेसवादी दलहरु एक हुनुस् र एक जनालाई नेतृत्व दिनुस् –योजना बनाएर मात्र आन्दोलन गर्नुस् –नेतृत्व परिवर्तन गर्नुस् –भारतकै मात्र भर नपर्नुस्

कसेले के भने ?

नागरिक समाजका अगुवा, दमननाथ ढुगांना मधेस आन्दोलन अधिकारको आन्दोलन मात्र नभएर राष्ट्रिय एकताको आन्दोलन हो । त्यसैले यसलाई राष्ट्रिय स्वरुप दिनुपर्छ । मधेसविना नेपालको कल्पना गर्न सकिदैंन् । नेपालमा मधेसलाई स्वीकार गरिएन भने देश एक रहन सक्दैन । यो देशमा मधेसलाई बराबरीको अधिकार दिनुपर्छ ।

नेपालमा अरु जतिकैको अधिकार मधेसको पनि छ । त्यसैले मधेसको अधिकार दिन आनाकानी गर्नुहुँदैन । यो मधेस आन्दोलनले अरु केही प्राप्त नभएपनि मधेसी जनताको चेतनाको विकास भएको छ ।

नागरिक समाजका अगुवा, डा.सुन्दरमणि दिक्षित मधेसको आन्दोलनलाई राष्ट्रसँग जोड्नुपर्छ । अब मधेसमा आन्दोलन गरेर हुँदैन । राजधानी केन्द्रीत आन्दोलन हुनुपर्छ । नेताहरुको घेराउ गर्नुको साथै सिंहदरवार पनि घेर्नुपर्छ । यहाँका शासकलाई दवाव नपरेसम्म जति लामो आन्दोलन गरेपनि उपलब्धी प्राप्त हुँदैन ।

उनीहरु (सरकार) भन्छन्, ‘संविधान संशोधन गरेर मधेसको माग पूरा गरिदिए, के संविधान उनीहरुको विर्ता हो ? उनीहरुले दिने के हो ? बाहुन क्षेत्रीको मन त्यतिकै पग्लिदैन त्यसका लागि ठूलो संघर्ष गर्नुपर्छ ।’

लेखक, खगेन्द्र संग्रौला मधेस आन्दोलन तुहिएको छैन, विसर्जन भएको छैन, विश्राम लिएको छ । मधेशवादी दलले एकता नगरेसम्म मधेसको मुक्ति सम्भव छैन । व्यापक एकता नगरेसम्म आन्दोलनले लिएको लक्ष्य पूरा हुन सक्दैन । मधेस आन्दोलनमा थारु र दलितलाई जोड्नुपर्ने आवश्यकता देखिएको छ ।

मधेसी जनता अझै पनि आन्दोलन गर्न तयार छन् तर मधेसवादी दलको अदुरदर्शिताका कारण यस्तो समस्या आएको छ । यति लामो शान्तिपूर्ण आन्दोलन विश्वमा कतै पनि भएको छैन । यसले के बुझिन्छ भने मधेसी जनता आफ्नो अधिकार जसरी पनि लिन चाहन्छ । छोटो र सामान्य बाटोबाट मधेसले अधिकार पाउला भन्नेमा मलाई विश्वास छैन् ।

कांग्रेस नेता, प्रदीप गिरी मधेसवादी दल विना तयारी आन्दोलनमा गएको कारण मधेस आन्दोलन कमजोर भएको हो । आन्दोलनको जस कसले लिने, मसिहा को बन्ने, नेता को बन्ने होडमा आन्दोलनलाई मधेस आन्दोलनलाई समाप्त गर्यो ।

अहिंसात्मक आन्दोलन लामो पनि जानसक्छ, यसबाट डराउने होइन । अधिकारको आन्दोलन लामो जानसक्छ । अधिकारका लागि आन्दोलन गर्ने र एकै पटकमा सबै थोक प्राप्त हुन्छ भन्नु गलत हो, यसका लागि संघर्ष जारी राख्नुपर्छ ।

राजनीतिक विश्लेषक, सिके लाल मधेस आन्दोलन यो अवस्थामा कमजोर हुनुमा तयारीको अभाव देखियो । एक त मधेसवादी दलमै समन्वयको खाँचो देखियो भने अर्कोतिर आन्दोलनलाई अन्तराष्ट्रिय समुदायसँग जोड्न पनि सकेन । आन्दोलनका लागि आन्तरिक तयारीले मात्र हुँदैन बाह्य तयारी पनि हुनुपर्छ जुन कुराको अभाव मधेश आन्दोलनमा देखियो ।

आन्दोलनले कतैपनि आमूल परिवर्तन भएको छैन अन्ततः सत्ताकै लागि हुन्छ । क्रान्ति २००७ सालमा मात्र सफल भएको हो । त्यसयता कहिले पनि सफल भएको छैन् । त्यसैले मधेसवादी दलहरु पनि यतिकैमा आत्तिनुहुँदैन । मधेसवादी दलका नेतामध्ये एकलाई क्रान्तकारी देखाउनु, एकलाई मसिहा देखाउनु, अर्कोलाई शक्तिशाली देखाउने काम राज्यबाट भएको हो । त्यो राज्यको रणनीति थियो । र, राज्य आफ्नो रणनीतिमा सफल भएको छ ।

मधेस राजनीतिकका विश्लेषक, तुलानारायण साह मधेस आन्दोलनमा कामभन्दा पनि धमास (धम्की) बढी भएको छ । धमास दिएर राजधानीलाई दवाव दिने प्रयास गरे । तर, राजधानीले त्यसलाई वेवास्ता गरे । मधेस आन्दोललनमा कतिपय मधेसवादी दलहरु गंगास्नान गरे । आन्दोलनको नाममा व्यक्तव्यबाजी र धमास दिने काम मात्र भयो ।

विगतको मधेस आन्दोलन एमाओवादीको विरोधमा भएको हो भन्दै सबैले साथ दिएका कारण आन्दोलन सफल भएको थियो । तर, अहिले आएर एमाओवादी सेटल भएको छ, त्यसैले मधेस आन्दोलनलाई यस्तो व्यवहार भएको छ । मधेस आन्दोलन विना लेनदेन तुहिएको छ । अब यी नेताहरुबाट पुनः आन्दोलन हुन्छ, भनि विश्वास गर्न सकिदैंन् यद्यपी मधेसी जनता अहिले पनि आन्दोलन गर्ने मनस्थितिमै छन् ।

पूर्वआयुक्त, डा.विरेन्द्र मिश्र समाज आक्रोशित हुनु पनि एक प्रकारको आन्दोलन हो । जबदेखि मधेशमा आन्दोलन शुरु भयो त्यो बेलादेखि मैले पत्रपत्रिकामा आर्टिकलहरु लेखे, के त्यो आन्दोलन होइन । अधिकार, पिडा, विभेदको बारेमा सोच्नु, त्यसको बारेमा बोल्नु पनि एक आन्दोलन नै हो । आन्दोलन अनेक किसिमका हुन्छन् ।

मुस्लिम अगुवा, नजरुल हसन मधेश आन्दोलनको अगुवाई गर्ने नेताहरुमा विश्वासको कमी देखिएको छ । हामीले मधेसी मोर्चालाई साथ दिएका थियौं । हामी पनि मोर्चाको एक घटक भएका थियौं । तर, मोर्चाले कहिले पनि कुनै विषयमा सोधखोज गरेन् । जहिले पनि मान्छे भेला गर्ने, कार्यक्रममा कार्यकर्ता बोलाई दिने काम मात्र हामीबाट गरायो । यहाँसम्म कि कुनै कार्यक्रम गर्दैछन् त्यसको बारेमा कहिले कुनै सल्लाह गरेन् । त्यसैले हामी बाध्य भएर अलग भएका हौं । हामीलाई युज मात्र गर्यो । अब पनि केही विग्रेको छैनौं । एक भएर विश्वासका साथ काम गर्यो भने काम गर्न तयार छौं ।

बुद्धिजिवी, काशेन्द्र यादव मधेस आन्दोलनमा थुप्रै विसंगतिहरु देखियो । तर, ती विसंगतिको केन्द्र कहाँ हो त्यसलाई खोज्ने प्रयास कहिँबाट भएन । त्यो खोज्नुपर्ने आवश्यकता अहिले पनि बाँकी छ र खोज्नु पनि पर्छ । तर, कसैले प्रयास गरेन बरु त्यसबाट फाइदा लिने काम भयो । मधेसी नेताहरु दिनभरि आन्दोलन गर्थे र राती–राती तेलको तस्करी गर्थे के यो कुरा केन्द्रीय नेताहरुलाई थाहा छैन् ? अवश्य पनि थाहा छ । जिल्लामा कार्यक्रमहरु हुँदा सबै खर्च उनीहरुले व्यहोर्थे । तर, कहिले यी नेताहरुले सोधे कि यो खर्च कहाँबाट आउँछ ? सोधेनन् किनभने त्यसबाट उनीहरुले पनि फाइदा लिइरहेका थिए । यो रोग अरु दलहरुमा पनि छ, तर मधेसवादी दलमा अलि बढी देखिएको व्यक्तिवादी चिन्तन हो । सबैले आआफ्नो बारेमा मात्र सोचेका छन् । मधेसमा मूल्यविहिन राजनीतिकको शुरुवात भएको छ । उपेन्द्र र राजेन्द्रलाई ओली र प्रचण्डको ठाउँमा र ओली र प्रचण्डलाई राजेन्द्र र उपेन्द्रको ठाउँमा राखेर हेर्नुस् यी दुवैमा कुनै तात्विक फरक पाउनुहुन्न । त्यसैले मधेसवादी दलको चरित्र परिवर्तन हुन सक्दैन नयाँ नेतृत्वको आवश्यकता देखि सकिएको छ ।

पूर्वसचिव, डा.रामस्वरुप सिन्हा आन्दोलन क्रान्ति जे भएपनि सबै सम्झौतामा गएर टुगिंएको छ । अहिले पनि त्यही अवस्था छ । अहिलेको मधेस आन्दोलनमा जनता र नेताको साइक्लोजीमा फरक देखिएको छ । दुवैको साइक्लोजी मिलेको छैन् । जनता अगाडि छ भने नेता पछाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप