आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा पहिचानको सङ्घर्ष सकिएको छैन : अध्यक्ष यादव

मङ्गलबार, १८ फागुन २०७२, ०९ : ००
मङ्गलबार, १८ फागुन २०७२

पोखरा– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा पहिचानको सङ्घर्ष जारी रहेको बताएका छन् ।

पूर्व सैनिक तथा प्रहरी महासङ्घको सोमबार पोखरामा आयोजित प्रथम राष्ट्रिय भेलामा उनले लामो समयदेखि पिछडिएको वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि आफूहरूले सङ्घर्ष गर्नुपरेको बताए ।

पहिचानको सङ्घर्षका क्रममा विभिन्न ३५/३६ चरणमा वार्ता भए पनि मधेसी, आदिवासी, जनजातिलगायतका पिछडिएका वर्ग र समुदायका मागलाई सम्बोधन गर्ने पक्षमा सरकार नरहेको उनले बताए ।

भूतपूर्व सैनिक तथा प्रहरीले नेपाल एवम् विश्वको स्वतन्त्रताका खातिर महत्वपूर्ण योगदान गरेपनि उनीहरूको उचित कदर हुन नसकेको अध्यक्ष यादवले बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले देश आफ्नो भएपनि राज्य आफ्नो हुन नसकेको नेपालका आदिवासी जनजाति तथा पिछडिएको वर्गको गुनासो रहेको उल्लेख गरे ।

समानता र न्याय प्राप्तिको सङ्घर्षका लागि आफूहरू निरन्तर लाग्ने र प्रत्येक जातजाति भाषाभाषीको गौरवपूर्ण इतिहासलाई उचो बनाउने उनले विश्वास व्यक्त गरे ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानका लागि सङ्घर्षरत आदिवासी जनजातिहरू राजकीय सत्ता र शासनमा आफ्ना हक अधिकारलाई सुनिश्चित गर्न क्रियाशील बनेको धारणा राखे ।

भूतपूर्व सैनिक तथा प्रहरी महासङ्घका इन्चार्ज लक्ष्मीनारायण खत्रीले भूतपूर्व सैनिक र प्रहरीका अधिकारलाई सुनिश्चित गर्न महासङ्घ क्रियाशील बन्ने बताउ ।

कार्यक्रममा गोर्खाली वीरहरूको इतिहास झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप